डिसेम्बर फल्सको पहिलो गीत सार्वजनिक – Nepal Press

डिसेम्बर फल्सको पहिलो गीत सार्वजनिक

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको एक्सन—लभ स्टोरी सिनेमा ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘फकाउनै जानिनँ’ बोलको लोकलयको गीत रिलिज गरिएको हो ।

दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफी सार्वजनिक गीतमा हेर्न सकिन्छ ।

भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतमा उनीहरूको केमेस्ट्री जमेको छ । गीतको अडियो र भिडियो दुवै पक्ष उत्कृष्ट लाग्छन् ।

गीत रिलिज कार्यक्रममा आर्यनले अहिलेको सिनारियोमा आफ्नो करिअरको उत्कृष्ट गीत ‘फकाउनै जानिनँ’ रहेको बताए ।

‘पहिला र अहिलेमा गीत बन्ने सिनारियो अलग छ । अहिलेको सिनारियोमा यो मेरो करिअरको उत्कृष्ट गीत भन्न मिल्छ,’ उनले भने ।

आर्यनले आफूलाई दर्शकले लभ स्टोरी सिनेमामा मन पराएकाले ‘डिसेम्बर फल्स’मा पनि त्यो चिज नछुटेको र दर्शक निराश नहुने दाबी गरे ।

सिनेमाकी मुख्य अभिनेत्री उपासनाले आर्यन सिग्देलसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताइन् ।

उनले भनिन्, ‘आर्यन सरको आँखाले नै अभिनय गर्छ । उहाँ अनुभवी भएकाले पनि होला, सेटमा हामी हाँसीमजाक गरिरहेका हुन्थ्यौँ अनि एक छिनमा सिनेमामा रुने सिन हुँदा आर्यन सरले मज्जाले गर्दिनु हुन्थ्यो । मलाई चाहिँ अलि समय लाग्थ्यो । उहाँसँग काम गर्दा एकदमै सहज महसुस पनि भयो ।’

नेपाली मूलका भारतीय निर्देशक प्रविण झाद्वारा निर्देशित तथा महेश आर गुप्ताको छायांकन रहेको सिनेमालाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । उनले यसअघि ‘वान डे, कसम, धुवाँ यो नशा र कायरालगायतका सिनेमा निर्माण गरिसकेका छन् ।

‘डिसेम्बर फल्स’ उनको पाँचौँ सिनेमा हो । सिनेमामा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर