राप्रपाको शानदार कमब्याक : मक्किएको पार्टीलाई लिङदेनले जगाए – Nepal Press

राप्रपाको शानदार कमब्याक : मक्किएको पार्टीलाई लिङदेनले जगाए

अबको वैकल्पिक शक्ति रास्वपा कि राप्रपा ?

काठमाडौं । पुरातनवादी भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि आमनिर्वाचन २०७९ सुखद बनेको छ । अघिल्लो निर्वाचनमा दयनीय नतिजा ल्याएको पार्टीले यसपालि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ अब्बल प्रदर्शनसहित शानदार कमब्याक गरेको हो ।

अहिलेसम्म प्राप्त मतपरिणाममा राप्रपाले प्रत्यक्षतर्फ ५ सीट जितेको छ भने थप २ सीटमा यस पार्टीका उम्मेदवारहरू अगाडि छन् । प्रत्यक्षतर्फ ७ सीट (सम्भावित) पार्टीका लागि उत्साहजनक नतिजा हो । अघिल्लो चुनावमा प्रत्यक्षमा राजेन्द्र लिङदेनमात्रै विजयी भएका थिए ।

राप्रपाका प्रमुख हस्तिहरूका लागि निर्वाचन परिणाम सुखद बनेको छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं-२ बाट झिनो मतले हार्नुले पार्टीलाई केही धक्का लाग्यो । अध्यक्ष राजेन्द्र लिङदेनले झापा–३ मा शानदार विजयी हासिल गरेका छन् । शानदार यस अर्थमा कि सत्तारुढ गठबन्धनको समर्थनप्राप्त कांग्रेसका बलिया उम्मेदवार कृष्ण सिटौलालाई हराउन उनी सफल भए ।

राप्रपाका महामन्त्री धवलशम्शेर राणाले बाँके २ बाट सहज जित निकालेका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारभन्दा ६ हजार बढी मत ल्याएर जितेका हुन् । यसैगरी, पार्टीका युवा नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि जुम्लाबाट फराकिलो अन्तरको जित हासिल गरे । उनले गठबन्धन उम्मेदवारलाई १० हजार ८ सय ६० मतान्तरले हराए ।

राप्रपाका अर्का विजयी उम्मेदवार हुन् दीपक सिंह । पार्टीको कार्यसम्पादन समिति सदस्य रहेका सिंहले मकवानपुर १ बाट जित निकालेका हुन् । राप्रपाका पूर्व अध्यक्ष कमल थापासमेत उनका प्रतिस्पर्धी थिए । तर, थापा तेस्रो स्थानमा सीमित रहे ।

राप्रपाका अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि जितेका छन् । नवलपरासी पश्चिम १ मा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।

जारी मतगणनामा पार्टीका महामन्त्री विक्रम पाण्डे पनि जितको बाटोमा छन् । चितवन क्षेत्र नम्बर ३ मा उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै अगाडि छन् । चितवनमा रवि लामिछानेको क्रेज र राष्ट्रिय स्वतन्त्र पार्टीको जनलहरलाई पन्छाउँदै उनी जिततर्फ अघि बढेका हुन् । 

राप्रपाका अर्का उपाध्यक्ष दीपक बोहरा रुपन्देही ३ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका बालकृष्ण खाणसँग कडा प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनामा खाणा उनको झिनो अग्रता छ । राप्रपाले यहाँबाट पनि एक सीटको आशा राख्न सक्छ ।

चुनावअघि राप्रपाले प्रत्यक्षमा १० सीटसम्मको लक्ष्य राखेको थियो । त्यो हासिल नभए पनि नजिक पुगेको छ । समानुपातिकतर्फ पार्टीको महत्त्वाकाङ्क्षा झन् ठूलो थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उर्लेको जनलहरले राप्रपाको महत्त्वाकाङ्क्षामा केही आघात पुगेको छ । अहिले समानुपातिकतर्फ घण्टीमा मतदान गरेका अधिकांश मतदाताले यदि यो पार्टी प्रतिस्पर्धामा नभएको भए हलोमा भोट हाल्ने राप्रपा नेताहरू बताउँछन् । खैर, यसका बाबजुद पनि समानुपातिकमा राप्रपा कमजोर भने छैन ।

वैकल्पिक शक्ति राप्रपा कि रास्वपा ?

अब बन्ने सांसदमा मुख्य दुई दलका रूपमा कांग्रेस र एमाले नै रहने छन् भन्ने शंका छैन । तर, मतपरिणामले दिएको जबरजस्त सन्देश के हो भने जनताले यी दुई दलको विकल्पमा बलियो नयाँ शक्ति चाहेका छन् ।

राप्रपा नयाँ पार्टी होइन । ४६ सालपछि नै स्थापना भएर अनेकन् पटक टुटफुट र एकताको शृङ्खलाहरूबाट गुज्रिँदै यहाँसम्म आइपुगेको हो । तर, अहिले आएर राप्रपालाई मतदाताले नयाँ पार्टीका रूपमा लिन थालेका छन् । यसको कारण हो, नयाँ नेतृत्व । कमल थापालाई महाधिवेशनमा हराएर राजेन्द्र लिङ्देनले पार्टीको बागडोर सम्हालेसँग राप्रपाप्रति आकर्षण बढेको स्पष्ट देखिन्छ । पछिल्लो पटक विवेकशील साझा पार्टी त्यागेर रवीन्द्र मिश्र पनि राप्रपामा जोडिन आएका छन् । लिङ्देन र मिश्रको जोडीले पार्टीमा थप नयाँपनको आभास गराइदियो ।

दोस्रो कारण चाहिँ जनतामा कथित प्रतिगामी एजेन्डा ‘राजसंस्था’ र हिन्दू राष्ट्रप्रतिको बढ्दो आकर्षण हो । राप्रपालाई राजावादी र प्रतिगामी पार्टी भनेर जनता उनीहरूप्रति विकर्षित हुने अवस्था अब छैन । प्रतिगामी भनिने एजेन्डाहरुप्रति नै जनताको मोह बढेको छ । अहिलेको युवापुस्तामा राजसंस्थाप्रति नजानिँदो आकर्षण बढ्दो रुपमा देखिन्छ ।

राजतन्त्रको र हिन्दू राष्ट्रको पुनस्र्थापन तथा संघीयता खारेजीको एजेन्डा बोक्ने बलियो शक्ति जनताले पाइरहेका थिएनन् । कमल थापा नेतृत्वको राप्रपा नेपाललाई विगतमा जनताले त्यस्तो शक्तिका रूपमा स्थापित गर्न नखोजेका होइनन् । तर, थापाको आफ्नै सिद्धान्तहीनता र राजनीतिक बेइमानीले उनले जनताको विश्वास गुमाए । अहिले लिङ्देन नेतृत्वमा आएपछि राप्रपाले त्यो विश्वासको पुनर्जागरण गरेको छ । चुनावमा राप्रपाको भोट बढ्नुको मुख्य कारण यही नै हो ।

अब कुरा गरौँ रास्वपाको । सैद्धान्तिकता रुपमा यो पार्टीले पुरातन एजेन्डाहरु बोकेको छैन । तर, पार्टीबाहिरका धेरैले रवि लामिछानेमा दक्षिणपन्थी झुकाव रहेको विश्वास गर्छन् । थुप्रै मतदाताहरूले उनीबाट चाहेको पनि यही नै हो कि उनले संघीयता खारेजीको एजेन्डालाई बोकेर हिँडुन् । यस आम चुनावमा रविको पार्टीले प्रदेशसभाका लागि उम्मेदवारी नदिनुले नि ती मतदाता उनीप्रति आकर्षित भएका हुन् । रवि आफैँले प्रदेश चुनावको मतपत्रमा भोट नहालेर संघीयताप्रति अरुचिको सन्देश दिए ।

यद्यपि, रविले संघीय प्रणालीको स्पष्ट विरोध भने गरेका छैनन् । उनले संघीय संरचनालाई सुधार गरेर कम खर्चिलो र छरितो बनाउनुपर्ने वकालत गरेका छन् । तर, उनले जस्तो संघीय संरचनाको प्रस्ताव गरेका छन्, न त्यो व्यवहारिक रुपमा सम्भव छ, न त्यसको कुनै तुक छ । यदि उनले खुलेरै संघीयता खारेजीको पक्षमा आफूलाई उभ्याए भने चाहिँ उनको पछाडि जनताको ठूलो पंति खडा हुने निश्चित छ । काठमाडौं महानगरका मेयर बालेन साहले पनि चुनावमा प्रदेशको मतदान बहिष्कार गरेर आफूलाई संघीयताको विरोधमा खुलाइसकेका छन् । आगामी दिनमा दुई उदीयमान नेताले खुलेर आफूलाई प्रस्तुत गरेको खण्डमा छोटो समयमा अलोकप्रिय बनेको संघीयताको आयु छोट्टिन सक्छ ।

यदि रविले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिका रूपमा उभ्याउन चाहन्छन् भने कांग्रेस–एमाले र माओवादीकै लाइनमा हिँडेर त्यो सम्भव छैन । यसर्थ सैद्धान्तिक प्रष्टता उनको पहिलो आवश्यकता हो । यदि ‘प्रतिगामी’ नकहलिने चक्करमा उनले वैदेशिक शक्तिबाट लादिएका एजेन्डाहरूकै वकालत गरिरहे भने तेस्रो वैकल्पिक शक्तिको चाहमा रहेका जनता राप्रपातिर फर्किनेछन् । भलै राप्रपा संख्याका हिसाबले पाँचौं नम्बरमा आउला, तर एजेन्डाका हिसाबले उ कांग्रेस–एमाले–माओवादीको प्रमुख विकल्प बन्ने छ ।

राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष बनेसँगै नेपालका ठूला दलहरूमा नेतृत्व पुस्तान्तरणको दबाब बढेको थियो । तर, राप्रपापछि महाधिवेशन गरेका कुनै पनि दल कांग्रेस, एमाले र माओवादीले नयाँ नेतृत्व दिन सकेनन् । राजेन्द्रले एकातिर पञ्चायतकालीन लिगेसीको बुढो राप्रपालाई नयाँ पुस्ताको एजेण्डाकेन्द्रित र सिद्धान्तनिष्ठ राप्रपामा रुपान्तरण गरे भने अर्कोतिर भ्रष्ट आचरण र विकृतिको पर्याय बनेको राजनीतिमा सदाचारको तरंग ल्याए । राजेन्द्रको नेतृत्वसँगै राप्रपा मुलुकलाई वैकल्पिक नेतृत्व दिने शक्तिमा रूपमा विस्तारै अघि बढेको छ । हरेक पार्टी बन्न र टिक्नका लागि उसको सिद्धान्त र संगठन चाहिन्छ ।

आज राप्रपासँग प्रष्ट सिद्धान्त र देशब्यापी संगठन सञ्जाल छ । भलै राप्रपा आज देशव्यापी चुनाव जित्ने शक्तिका रूपमा बनिसकेको छैन र उसको एजेण्डाका कारण राप्रपा नै वैकल्पिक शक्ति बन्न सक्छ । ठूलो दलको विकल्प खोज्ने र प्रदेशसभातर्फ मतदान नगर्ने रवि लामिछानेदेखि बालेन साहहरूले राप्रपाको जसरी ‘भोकल्ली’ बोल्न नसके उनीहरूको राजनीति मौकामा चौका हान्नमा मात्र सीमित हुनेछ । किनकी राजनीतिमा स्पष्ट एजेण्डा, सिद्धान्त र त्यो सिद्धान्तमा आस्था राख्ने संगठन सञ्जाल चाहिन्छ । नत्र उर्लँदो खहरेजस्तो मात्र हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर