चितवन-२ : रविको आकर्षक माहोल, कृष्णभक्त र उमेशलाई भोट रक्षाको चुनौती – Nepal Press

चितवन-२ : रविको आकर्षक माहोल, कृष्णभक्त र उमेशलाई भोट रक्षाको चुनौती

भरतपुर । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चर्चामा रहेको चितवन-२ मा यो पटकको चुनावी भिडन्त रोचक मोडमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दिएपछि यहाँ चुनावी चहलपहल बढेको पाइएको छ ।

एमालेबाट गत चुनावका विजेता कृष्णभक्त पोखरेल, गठवन्धनबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठलाई लामिछानेको इन्ट्री पछि सकस परेको पाईयो । चितवन-२ बारे नेपाल प्रेसले करिब दुई दर्जन मतदातासँग कुरा गरेको छ । उनीहरुको भनाईअनुसार लामिछानेको पल्ला भारी देखिएको छ ।

हामीले २ नम्बर क्षेत्रको विभिन्न टोलमा पुगेर गरेको कुराकानीलाई आधार मान्ने हो भने रवि लामिछाने जितको नजिक छन् । चितवनको क्षेत्र नम्बर २ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १ का सुदिप शाहीले यो पटक घण्टीलाई मत दिने बताए । यसअघि नेपाली कांग्रेसको नेताहरुलाई मतदान गरेको भन्दै उनले यो पटक भने नयाँलाई अवसर दिने बताए ।

नारायणी किनारमै चिया पसल सञ्चालन गरेर बसेकी अम्बिका पौडेल पनि यो पटक रवि लामिछानेलाई मत दिने बताउछिन् । यसअघिको निर्वाचनमा एमालेलाई मत दिएकी उनले यो पटक नयाँलाई हेर्ने निर्णय गरेको बताइन् । चिया पसलमानै हामीसँग गफ गर्ने क्रममा केही युवाहरुले यो पटक घण्टी बजाउने बताए । रवि लामिछाने जस्तो युवालाई अवसर दिनुपर्छ भन्ने उनीहरुको तर्क थियो ।

पोखरा बसपार्क क्षेत्रमा भेटिएका दिनानाथ चौलागाईले भने एमालेमा मत दिने बताउछन् । यसअघि पनि एमालेमा मत दिएको र यो पटक पनि दिने उनको भनाई छ । कृष्णभक्तले जुनसुकै समस्या परेका मानिसहरुलाई सहयोग गर्ने गरेको भन्दै उनले चितवन-२ को लागि पोखरेल जत्तिको उम्मेदवार पाउनु आफूहरुको लागि खुशीको विषय भएको बताए ।

भरतपुरको नारायणगढ क्षेत्रमा होटल व्यवसाय गर्दै आएका एकजना व्यवसायीले यो पटक आफ्नो घरको सबै भोट लामिछानेलाई दिने बताउछन् । आफू जन्मजात एमाले भएपनि यो पटक प्रतिनिधिसभामा घण्टी र बाँकी स्थानमा एमालेलाई मत दिने उनको भनाई छ ।

चितवनको क्षेत्रपुरमा व्यवसाय गर्दै आएका नारायण खड्काले भने स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई मत दिने बताउछन् । श्रेष्ठ सफ व्यवसायी मात्र नभएर समाजसेवी पनि रहेको उनको भनाई छ । खड्का जस्तै आफूलाई माओवादी केन्द्रको कार्यकर्ता बताउने राजेन्द्र चौँलागाईले पनि गठबन्धनकै उम्मेदवारलाई मत दिने र बाहिर जस्तो हल्ला भएपनि जित गठबन्धनकै हुने दाबी गर्छन् ।

फेरिएको चुनावको चर्चा

चितवन-२ मा दिनभर घुम्दा हामीले यो पटक कुनैपनि पार्टीका कार्यक्रम या घरदैलो देख्न पाएनौ । यो पटक उम्मेदवारसँग हिँडने सानो टिमबाहेक चुनावको चटारो जनतामा परेको देखिएन । उम्मेदवारहरु पनि घरमा नआउने, बाटोबाटै नमस्कार गरेर हिँडने गरेको यस क्षेत्रका मतदाताहरुको भनाई छ ।

पोखरा बसपार्कसँगै चिया पसल सञ्चाल गरेकी कमला श्रेष्ठले यो पटक मतदान गर्न जान पनि अल्छि लागेको बताइन् । चुनावमा भोट माग्न त दैलोसम्म आउन नसक्नेहरुबाट अरु के आश गर्न सकिन्छ भन्दै उनले अहिलेसम्म कसलाई मत दिने भन्नेबारे निर्णय गरिनसकेको बताइन् ।

प्रदेशमा ज्ञवालीको चर्चा अधिक

क्षेत्र नम्बर २ को प्रदेशसभातर्फ भने नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको चर्चा देखियो । एक भोट रविलाई अर्को भोट देवीलाई भन्ने जमातहरु पनि हामीले भेट्यौं ।

ज्ञवालीलाई २०७४ को स्थानीय निर्वाचनमा धोका भएको भन्दै यो पटक उनलाई जिताएर पठाउने अभियानमा रहेको रविन्द्र कंडेल बताउछन् । आफू अहिलेुम्म कुनै पार्टीमा नलागेको बताउने कँडेलले यो पटक देवीको पक्षमा आफूले पनि मत मागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर