कञ्चनपुर-३ : ७४ मा झिनो मतले पराजित लेखकलाई यसपालि कति सहज ? – Nepal Press

कञ्चनपुर-३ : ७४ मा झिनो मतले पराजित लेखकलाई यसपालि कति सहज ?

कैलाली । अघिल्लो पटक कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा २५८ मतले पराजित भएका कांग्रेस नेता रमेश लेखक फेरि सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन् । लेखकले २६ हजार १०६ मत पाउँदा एमाले नेता डा.दीपक प्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर निर्वाचित भएका थिए ।

अघिल्लो पटक झिनो मतान्तरले पराजित भएका लेखक अहिले निर्वाचन जित्ने गरि चुनाव प्रचार प्रसारमा लागिरहेका छन् । उनलाई यहाँ नेकपा एमालेका तर्फबाट निरु पालले काउन्टर दिइरहेकी छन् । उनी एमाले पोलिट ब्युरो सदस्य तथा कञ्चनपुर इन्चार्ज हुन् । अघिल्लो पटक समानुपातिक सांसद भएकी पाल अहिले लेखकसँग प्रत्यक्षमा जुधिरहेकी छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाको वडा नम्बर ८ पर्दछ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भीमदत्त नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जित्दा दोधारा चाँदनी नगरपालिकाको उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यहाँको प्रमुखमा भने एमाले विजयी भएको थियो ।

बेदकोट नगरपालिका वडा नम्बर ८ मा भने नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष जितेको छ । सत्ता गठबन्धनबाट यहाँ प्रतिनिधि सभातर्फ लेखक उम्मेदवार बन्दा प्रदेश १ मा माओवादीका टेकेन्द्र भट्ट र २ मा कांग्रेसका दिलबहादुर राना दिलबहादुर राना उम्मेदवार छन् । यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मित्रवत प्रतिस्पर्धा गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले ३ को १ का आफ्नो उम्मेदवारी दिएका छन् । यहाँ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी कांग्रेसका प्रभावशाली व्यक्ति हुन् ।

एमालेले भने प्रतिनिधि सभातर्फ पाललाई उम्मेदवार बनाउँदा प्रदेश १ मा राप्रपाका धर्मराज जोशीलाई साझा उम्मेदवार बनाएको छ । ३ को २ मा एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार छन् । यहाँ कांग्रेसका धनबहादुर शाही स्वतन्त्र उम्मेदवार छन् ।

कञ्चनपुरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस र माओवादीको तालमेल हुँदा अर्काे तर्फ एमाले र राप्रपाको तालमेल भएको छ । यसले पनि यहाँको परिणाम रोचक हुने अनुमान गरिएको छ । स्थानीय तहको मत परिणामअनुसार यहाँ माओवादी भन्दा बलियो राप्रपा रहेको छ । माओवादी भन्दा कमजोर रहेको नेकपा एकीकृत समाजवादीले प्रदेशमा मित्रवत प्रतिस्पर्धा गरिरहेको छ ।

वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसको २१ हजार ७७२, एमालेको १६ हजार ११७, राप्रपाको ६ हजार ५०३, माओवादीको ५ हजार ९८१ र नेकपा एकीकृत समाजवादीको ३ हजार १२ रहेको छ । यहाँ सत्ता गठबन्धनको २७ हजार ७५२ मत रहेको छ भने एमाले–राप्रपाको २२ हजार मत रहेको छ । नेकपा एकीकृत समाजवादीको मत निर्णायक हुने देखिएको छ । सत्ता गठबन्धनमा भएर पनि कञ्चनपुरमा तालमेलमा नगराउँदा गठबन्धनसँग नेकपा एस रुष्ट छ ।

तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको कञ्चनपुर ३ मा सत्ता गठबन्धनमा नेकपा एसलाई नमिलाउँदा र कांग्रेस भित्रैका अन्य २ जनाको स्वतन्त्र उम्मेदवारी पार्दा रमेश लेखकलाई यस पटक पनि जोखिम रहेको विश्लेषण गरिएको छ । कांग्रेसका महासमिति सदस्य दीपक बहादुर सिंह र शारदा चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

‘उहाँहरूले केही मत कांग्रेसको काट्नु हुन्छ त्यसकारण लेखकलाई अहिले पनि जित्न सहज छैन’, कांग्रेसका एक नेताले बताए ।

नेपाली कांग्रेस कञ्चनपुरले भने यस पटक विकासका एजेन्डाका कारण रमेश लेखक जित्ने दाबी गरेको छ । ‘२०७० मा उहाँ माननीय भएपछि धेरै काम भएका छन् जुन २०७४ पछि भएनन्’, जिल्ला सचिव भीम भट्टले भने, ‘उहाँ जित्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ ।’

‘यता नेकपा एमालेका नेता कार्यकर्ता पनि यस पटक तीनै जनता विजयी हुनेमा ढुक्क छन् । २०७४ पछि उहाँ धेरै विकासका कामहरू भएका छन् तिनलाई निरन्तरता दिन र नयाँ कामहरू सुरु गर्न यस पटक एमालेलाई विजयी गराउनु हुन्छ भन्नेमा हामी ढुक्क छौँ’, एमाले जिल्ला अध्यक्ष सुरेन्द्र बिष्टले भने, ‘प्रतिनिधि सभामा मात्र होइन दुबै प्रदेश सभामा हामी सानदार विजयी हुन्छौँ ।’

विष्ट अघिल्लो पटक भीमदत्त नगरपालिकाको मेयरमा विजयी भएका थिए । आफूले अघिल्लो पटक गरेका कामहरू जनताले देखेको भन्दै यस पटक पनि विजयी हुनेमा ढुक्क रहेको बताए । उनी अहिले प्रदेशसभाको उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर