‘जनता पुराना दलहरूसँग निराश छन्, वैकल्पिक शक्तिको रूपमा हामी विजयी हुन्छौँ’ – Nepal Press
नेपाल टक

‘जनता पुराना दलहरूसँग निराश छन्, वैकल्पिक शक्तिको रूपमा हामी विजयी हुन्छौँ’

कैलाली २ मा नागरिक उन्मुक्तिका उम्मेदवार अरुण चौधरी भन्छन्- स्थानीय चुनावबाटै लहर सुरू भइसकेको छ

कैलाली । अन्यत्रजस्तै कैलाली क्षेत्र नम्बर २ को चुनावी माहौल तातिरहेको छ । यहाँ एमालेबाट अघिल्लो पटक विजयी भएका झपट रावल चुनावी मैदानमा छन् ।

गठबन्धनबाट २०६४ मा निर्वाचित माओवादीका भगत बडूवाल उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्तिबाट भने २०७४ स्थानीय तहमा मेयर र त्यसपछि प्रदेशसभाको उम्मेदवार बनेका अरुण चौधरी दाबेदार छन् । यस क्षेत्रमा त्रिपक्षीय भिडन्तको आँकलन छ । सबै उम्मेदवार आ-आफ्नो जित दाबी गर्दै हिँडिरहेका छन् ।

पार्टी स्थापना भएको चार महिनामै स्थानीय तहको निर्वाचनमा चार पालिका जितेर उत्साहित भएको नागरिक उन्मुक्ति पार्टी अहिलेको प्रदेशसभा र प्रतिनिधिसभामा पनि राम्रो नतिजा ल्याउने दाबी गर्दछ । रेशमपत्नी रञ्जिता श्रेष्ठ चौधरी केन्द्रीय अध्यक्ष रहेको यस पार्टीबाट अहिले कैलाली १ मा श्रेष्ठ नै निर्वाचनमा होमिएकी छन् । अघिल्लोपटकको प्रदेशसभा र मेयरमा झिनो मतान्तरले पराजित भएका चौधरी यसपटक आफू बाजी मार्ने दाबी गर्छन् ।

आफूहरूको पार्टी वैकल्पिक शक्तिको रूपमा उदाइरहेको दाबी गर्ने चौधरीसँग गरिएको नेपाल टक

– कस्ता एजेण्डा बोकेर जनताको घरदैलोमा गइरहनुभएको छ ?

मूल एजेण्डा पहिचानसहितको संघीयता हो । क्षेत्र नम्बर २ मा आगामी दिनमा थुप्रै कामहरू गर्नुपर्ने छ । विकास निर्माणलाई गति दिनु पनि मेरो एजेण्डा हो ।

– तपाईँलाई जित्छु भन्ने लाग्छ ?

लाग्ने मात्र होइन, जित्ने नै मै हो । स्थानीय चुनावबाटै एउटा लहर सुरू भइसकेको छ । पुराना दलहरूप्रति जनता निराश छन् । त्यसैमाथि गठबन्धन भनेर सत्तास्वार्थमा लागेका छन् । योभन्दा पहिले २०७४ सालमा पनि हामीले एउटा गठबन्धन देखेका थियौँ । त्यसले ४० महिना पनि सरकार टिकाउन सकेन । त्यसलाई पनि जनताले सरकार बनाउन पठाएका थिए । जनताको म्याण्डेट पाएर काम नगर्ने गठबन्धनबाट जनता आजित भइसकेका छन् । त्यसैमाथि अहिले अर्को गठबन्धन बनेको छ । त्यो पनि त्यस्तै हो भन्ने कुरा आम जनतालाई थाहा छ ।

अहिले म्याण्डेट लिएर गएर भागबण्डा मिलेन भने ४/६ महिनामा नेपाललाई नै एकातिर धकेल्दिन सक्छन् । त्यसैले गर्दा हामी एक्लै निर्वाचनमा होमिएका छौँ । जनमत पनि हामीसँग छ । वैकल्पिक शक्तिको रूपमा नागरिक उन्मुक्तिलाई हेरिरहेका छन् । यसले केही परिवर्तन गर्छ भन्ने आम नागरिकलाई लागिरहेको छ ।

– एमालेबाट अघिल्लो पटकका विजेता र गठबन्धनबाट २०६४ सालका विजयीसँग तपाईँ भिड्दै हुनुहुन्छ । तपाईँको प्रतिस्पर्धी एमाले कि गठबन्धन ?

मलाई कसैसँग प्रतिस्पर्धा हुन्छजस्तो लाग्दैन क्षेत्र यहाँको हकमा । गठबन्धनलाई आफैँ पनि बलियो लागेको होला पाँच दल छौँ भनेर । एमालेलाई हामीसँग पूरा संगठन छ भनेर बलियो लागिरहेको होला । तर, उहाँहरूको त्यो भ्रम हो । हामीलाई जनताको विश्वास छ । एक पटक वैकल्पिक शक्तिका रूपमा हामीलाई विजयी गराउनुहुन्छ भन्ने लाग्छ ।

– कति मतिले जित्छु जस्तो लाग्छ त ?

तीन हजार पाँच सयदेखि चार हजार मतले म निर्वाचन जित्छु भन्नेमा पूर्ण विश्वस्त छु । हामीविरुद्ध जातीय नारा लगाए, भागिए लगाए भने पनि पैँतिस सय देखि चार हजार मतले म निर्वाचन जित्छु ।

– तपाईँले कुरा निकालिहाल्नु भयो । तपाईँहरूको पार्टीमाथि त जातीय आरोप छ नि ? चौधरीको पार्टी भन्छन् कसैले ?

थारुहरूको गाउँमा गएपछि पहाडीको पार्टी भनेर भन्छन्, पहाडीको गाउँमा गएपछि यो त थारुहरूको पार्टी हो भनेर पनि भन्छन् । उम्मेदवार हामीले कस्ता मान्छे दिएका छौँ । हाम्रो केन्द्रीय समितिमा कस्ता मान्छे छन् त्यो त हेर्दा भइहाल्छ नि । नेपालको संविधानमै जातीय पार्टी दर्ता हुने भन्ने छैन । अनि कसरी जातीय पार्टी भयो ? त्यो पनि त बुझ्नपर्‍यो नि । थारुको ढकिया हो भन्दैमा थारुको जातीय पार्टी भइहाल्यो त ? हँसिया हतौडा दलित समुदायले बनाउनु हुन्छ दलितकै पार्टी भन्दिउँ त माओवादीलाई ? त्यो त भन्नु भएन नि । हाम्रो जनमत देखेर अत्तालिएर, हामीविरुद्ध भ्रम छरिरहेका छन् अहिले ।

– तपाईँहरू पहिचान र न्यायको कुरा मात्रै गर्नुहुन्छ । शासकीय स्वरूप, धर्म निरपेक्षता, निर्वाचन प्रणालीलगायतका महत्वपूर्ण र दीर्घकालीन विषयमा तपाईँहरू एजेण्डाविहीन भएको हो ?

दीर्घकालीन एजेण्डाको कुरा गरेर घोषणा पत्रमात्रै ल्याउने हो भने त ४/६ पानाकै ल्याइएला । तर, काम २ प्रतिशत पनि भएन भने धेरै ठूला एजेण्डा ल्याएर पनि काम भएन । हामीले जित्ने हो । काम गरेर देखाउने हो । पाँच वर्ष पनि नागरिक उन्मुक्ति पार्टी यो हो भनेर सबैले बुझ्ने र जान्ने बनाउने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर