राम जनमलाई डबल ह्याट्रिकमा ‘ब्रेक’ लगाएका गौरीशङ्कर, गर्लान् त ह्याट्रिक ? – Nepal Press

राम जनमलाई डबल ह्याट्रिकमा ‘ब्रेक’ लगाएका गौरीशङ्कर, गर्लान् त ह्याट्रिक ?

पूर्व सहयोद्धासँग चुनावी प्रतिस्पर्धा, नागरिक उन्मुक्तिको चुनौती

कैलाली । २०४८ देखी निरन्तर संसदीय यात्रामा विजयी भइरहेका कांग्रेस नेता तथा पूर्व मन्त्री राम जनम चौधरीको डबल ह्याट्रिक गर्ने योजनामा गौरीशङ्कर चौधरीले अघिल्लो पटक ब्रेक लगाइदिए ।

२०४८, २०५१, २०५६ मा प्रत्यक्ष निर्वाचित भएका राम जनम चौधरी २०६४ सालमा समानुपातिक मार्फत संसद् भएका थिए। त्यसपछि २०७० सालको निर्वाचनमा पनि उनी प्रत्यक्ष निर्वाचित भए । २०७४ सालमा फेरी विजयी भएर डबल ह्याट्रिक गर्ने उनको योजनामा बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गौरीशङ्कर चौधरीले ब्रेक लगाएका थिए ।

चौधरी २०७४ को चुनावमा २४ हजार ८७३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा कांग्रेसका राम जनम चौधरीले २० हजार ४७३ मत पाएका थिए ।

गौरीशङ्कर २०७० सालमा पनि माओवादी केन्द्रबाट विजयी भएका थिए । २०७० र २०७४ मा लगातार माओवादी केन्द्रबाट विजयी भइसकेका चौधरी अहिले नेकपा एमालेबाट उम्मेदवार बनेका छन् ।

राम जनमलाई डबल ह्याट्रिकमा ब्रेक लगाएका आफू ह्याट्रिक गर्ने योजनामा रहेका गौरिशंकरको चुनावी भिडन्त आफ्नै पूर्व सहकर्मीसँग परेको छ ।

दुई पटक संसद् भएर तीन पटक सम्म मन्त्री भएका चौधरी आफूले यस अघि गरेको कामका कारण जनताले पुन आफूलाई निर्वाचित गराउनेमा विश्वस्त रहेको बताउँछन् ।

चौधरी दुई पटक सम्म कृषि मन्त्री र एक पटक श्रम रोजगार तथा सामाजिक रोजगार मन्त्री भएका थिए ।

‘मेरो कार्यकालमा कृषिमा थुप्रै काम भएका छन्, किसानले मलको अभाव झेल्नु परेन, प्रधानमन्त्री कृषि परियोजना सुरु भयो किसानले आफ्नो उत्पादनको मूल्य पाए’ उनले नेपाल प्रेसलाई भने, ‘यहाँका नदीहरूमा पुल बनेका छन्, बाटोहरू पिच भएका छन्। यी सबै कामहरू देख्नुभएको छ मलाई फेरी विजयी बनाउनुहुने छ ।’

उनले अझै केही काम गर्न बाकी रहेको हुँदा पुन जनताले निर्वाचित गराउनेमा विश्वस्त रहेको दाबी गरे ।

पूर्व सहयात्रीसँग भेट

नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवार भएका गौरीशङ्कर चौधरीको भेट आफ्नै पूर्व सहयात्री कृष्ण चौधरी ‘कुन्दन’सँग भएको छ ।कुन्दन २०६४ सालमा तत्कालीन कैलाली क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । अहिले ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा त्यो बेला ६ क्षेत्र थिए ।

२०६४ सालमा माओवादीबाट विजयी भएका कुन्दनले २०७० सालमा पनि माओवादी केन्द्रबाट टिकट पाउने चर्चा थियो । अन्तिममा २०७० सालमा गौरीशङ्करले टिकट पाए । उनले टिकट पाएनन् मात्रै जिते पनि ।

उता कुन्दन भने नयाँ शक्ति, जसपा हुँदै केही महिना अघि मात्रै माओवादीमा फर्किए । २०७४ गौरीशङ्कर प्रतिनिधि सभामा विजयी हुँदा कुन्दन प्रदेश सभामा पराजित भएका थिए ।

कुनै समयका ‘माओवादी कमान्डर’ बिचको भेटलाई अहिले रोचक रूपमा हेरिएको छ । यहाँ दुवैले एकाले अर्कालाई हराउने दाबी सहित प्रचार प्रसारमा छन् ।
आफूले अघिल्लो पटक थुप्रै काम गरेको हुँदा निर्वाचन जित्ने दाबी गरेका गौरिशंकरलाई धेरै काम गर्न नसकेको कुन्दनले आरोप लगाए । उनले विकासका लागि आफूलाई जिताउने दाबी गरे।

नागरिक उन्मुक्तिको आफ्नै प्रभाव

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दन र एमालेबाट गौरीशङ्कर चौधरी चुनावी मैदानमा भिडिरहेका बेला नागरिक उन्मुक्तिबाट गङ्गा चौधरी पनि चुनावी मोर्चामा छन् । दुबै संघीय सांसद भइसकेको तर, केही नगरेको भन्दै उनी यस पटक जनताले आफूलाई विश्वास गर्ने दाबी गर्छन् ।

टिकापुर घटनाको न्याय,विकास र समृद्धिको मुद्दा लिएर अहिले जनता समक्ष गइरहेको उनले बताए । ‘हामीलाई न्याय चाहिएको छ । हामी न्याय, विकास र समृद्धिको मुद्दा लिएर जनासमक्ष गइरहेका छौँ ’उनले भने, ‘निकै राम्रो प्रतिक्रिया पाइरहेको छु म जित्छु भन्नेमा विश्वस्त छु ।’

घोडाघोडी नगरपालिकाको पुरै क्षेत्र, भजनी नगरपालिकाको ७ वडा र कैलारी गाउँपालिकाका ७ वडा यस क्षेत्रमा पर्दछ । स्थानीय तहमा घोडाघोडीमा प्रमुखमा नेकपा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो । भजनीमा प्रमुख र उपप्रमुख दुबैमा नागरिक उन्मुक्तिमा उम्मेदवार विजयी भएका थिए । कैलाली गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भए ।

वडाध्यक्षले पाएको मतका अनुसार कांग्रेसको १९ हजार ९९२, माओवादी ११ हजार ७१६, एमाले ११ हजार २५७, राप्रपा ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टी ५ हजार २४७, जसपा २हजार ८५९ र नेकपा एकीकृत समाजवादीको १ हजार ९७८ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर