जापानमा काम लगाइदिने भन्दै लाखौं रकम लिएर नेपाली सम्पर्कविहीन – Nepal Press

जापानमा काम लगाइदिने भन्दै लाखौं रकम लिएर नेपाली सम्पर्कविहीन

टोकियो । जापानको खान्साई क्षेत्रमा बस्ने नेपालीहरुलाई काम लगाइदिने भन्दै विभिन्न व्यक्तिसँग मोटो रकम लिएर एक नेपाली सम्पर्कविहीन भएका छन् ।

जापानमा रहेका विभिन्न कम्पनीहरुमा काम लगाइदिने भन्दै ५० हजारदेखि २ लाख २५ हजार रुपैयाँसम्म लिएर ती नेपाली सम्पर्कविहीन भएका हुन् । पीडितहरुले वर्कलिङ्क (worklink) नामक फेसबुक पेजबाट सम्पर्क भएको र पैसा लिन जापानी आउने गरेकाले ती नेपालीको बारेमा कुनै जानकारी नभएको बताएका छन् ।

अहिले उक्त फेसबुक पेज सर्च गर्दा भेटिँदैन ।

केही पीडितहरुले भने सुनिल श्रेष्ठको नाममा रहेको बैङ्क खातामा रकम डिपोजिट गरेको पाइएको छ । करिब १० जना पीडितले नेपाल प्रेसलाई उपलब्ध गराएको रसिदमा सुनिल श्रेष्ठको ४२१४३२८१ नम्बरको खाता र रिसोना बैंकको नागोया शाखाको खातामा रकम ट्रान्सफर गरेको देखिएको छ ।

‘त्यो मान्छेसँग फेसबुकमै कुरा भएर कामका लागि ५० हजार दिएकी हुँ’ पीडितमध्येकी अनिता चौलागाईंले भनिन्, ‘पहिला ८० हजार भनेको थियो, पछि ५० हजार दिएँ । अहिले फेसबुकबाट ब्लक गरेको छ ।’

पीडित अधिकांश युवतीहरु छन् । पीडितहरुले उपलब्ध गराएका म्यासेजमा ती व्यक्तिले पैसा फिर्ता माग्दा प्रहरी र अध्यागमनमा उजुरी गर्ने धम्की दिएको देखिन्छ । ‘तपाईंले आफ्नो लागि नि सोच्नु होला, हामीले आज प्रहरीकोमा गएर सबै कुरा गरेर आएका छौं’ पीडित सलिना भट्टलाई आएको संदेशमा भनिएको छ, ‘तपाईंको सबै अध्यागमनमा पनि भनिसकेका छौं, अब के के गर्नुहुन्छ गर्नुहोला हामीलाई केही भन्नु छैन ।’

भट्टले ती व्यक्तिलाई ८० हजार बैंकमा ट्रान्सफर गरेको र ८५ हजार हातमा दिएको बताएकी छन् । उनका अनुसार पैसा रिसिभ गर्न एक जापानी नागरिक उपस्थित भएका थिए ।

फेसबुकमा प्रायः नेपालीले कुरा गरे पनि पैसा लिन जापानी आउने गरेको पीडितहरुको भनाइ छ । यस विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पीडितहरुबीच छलफल भैरहेको उनीहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर