चुनावी मैदानमा मधेसका तीन कलाकार, राजनीतिमा पाउलान् त सफलता ? – Nepal Press

चुनावी मैदानमा मधेसका तीन कलाकार, राजनीतिमा पाउलान् त सफलता ?

जनकपुरधाम । आसन्न संसदीय निर्वाचनमा मधेसका तीन चर्चित कलाकार चुनावी मैदानमा उत्रिएका छन् । गायक तथा कलाकार मुरलीधर मिजार, ज्ञानुकुमार यादव र कृष्णकुमार महतो चुनावी मैदानमा उत्रिएका हुन् ।

मुरलीधर मधेसमा मात्र होइन भारतमा समेत चर्चा कमाएका कलाकार हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । लामो समय मुम्बईमा बिताएका उनी अहिले ग्रामीण भेगमा धूलो खाँदै भोट माग्न मतदाताको घरघर हिँडेका छन् ।
उनको ‘उडायो सपना सबै हुरीले’ गीत नसुन्ने सायदै कोही नेपाली होला । यो गीतमा शब्द र संगीत पनि उनकै छ । उनको ‘चिसो चिसो सिरेटोमा’ पनि कम लोकप्रिय छैन ।

‘इतनी शक्ति हमे देना दाता’ भन्ने मुरलीधरको गीत भारतका धेरै विद्यालयमा प्रार्थना गर्दा बजाइन्छ । नेपाली र हिन्दीमात्र होइन, मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा उनले सयौं गीत गाएका छन् ।

घगडान अभिनेता मुरलीधर फिल्म लेख्छन्, निर्देशन गर्छन्, गीत गाउँछन् र कम्पोज पनि गर्छन् । कलाका क्षेत्रमा उनी प्रतिभाका धनी मानिन्छन् । कलाका प्रायः पाटोमा उनी पोख्त छन् । उनका लागि जति सजिलो कला क्षेत्र छ, त्यति सजिलो राजनीतिक यात्रा देखिँदैन ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट टीका थापेर पार्टी प्रवेश गरेका थिए मुरलीधर । लामो समय काम गर्दा पनि राप्रपाका जिल्लाका नेताहरुले टिकट पाएका छैनन् । तर, पार्टी प्रवेश गरेको केही दिनमै मुरलीधरले टिकट त पाए, चुनाव जित्न भने सहज देखिँदैन ।

दुई पूर्वमन्त्री भिडेको क्षेत्र हो सिरहा २ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट राजकिशोर यादव चुनावी मैदानमा आमनेसामने छन् । यही क्षेत्रमा मुरलीधर पनि उम्मेदवार छन् ।

चित्रलेखा र राजकिशोरमध्ये कोही कम छैन । उनीहरुको पार्टीको संगठन पनि मजबुत छ । तर, मुरलीधर चुनाव लडेको राप्रपाको न संगठन अब्बल छ न त उनी जनतामा भिजेका छन् । त्यसैले मुरलीधरलाई चुनाव जित्न ठूलो चुनौती छ ।

ज्ञानु युवा गायक हुन् । उनले सयौं मैथिली गीतमा आवाज भरेका छन् । हजारौं स्टेज कार्यक्रम गरेर मधेसमा चर्चा कमाएका छन् । जनमत पार्टीबाट सिरहा ३ (ख) मा प्रदेशसभा सदस्यमा चुनाव लडेका उनले भोट माग्न सुरु गरिसकेका छन् ।

गायकको पहिचान बनाएका ज्ञानु अब नेता बन्ने लाइनमा छन् । उनी भन्छन्, ‘मधेसको विकास डा. सीके राउतले मात्र गर्न सक्छन् भन्ने मलाई लाग्छ । त्यसैले उनकै पार्टीको सदस्यता लिए र अहिले चुनावी मैदानमा आएको छु’, उनी भन्छन्, ‘सबै नेता स्वार्थमा डुबेका छन् । अहिले मतदाताले कुनै नेतामाथि विश्वास गरिरहेका छैनन् । युवाहरु त नेताको नाम पनि लिन चाहँदैनन् । त्यसैले यो पटक जनमत पार्टी र मलाई विजय गराउँछन् भन्ने विश्वास छ ।’

आफूलाई नजिताए पनि जनमत पार्टी र डा. सीके राउतले जित्नुपर्ने उनको भनाइ छ ।

हास्य कलाकार कृष्णकुमार महतो धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छन् । मधेसका प्रायः गाउँमा उनले स्टेज प्रोग्राम गरेका छन् । जब उनी स्टेजमा चढ्छन् अनि मानिसहरु खुशीले गदगद हुन्छन् । हँसाएर उनले लाखौंलाख मानिसको मत जितेका छन् । तर, चुनावमा जनताको मन जित्न सफल होलान् कि असफल मंसिर ४ को नतिजा कुर्नैपर्छ ।

उनी उम्मेदवार बनेको क्षेत्रमा दुई दिग्गज नेता रघुवीर महासेठ र महेन्द्र यादव पनि भिडेका छन् । यस क्षेत्रमा जसपाका महाजन यादव पनि उम्मेदवार छन् । नेकपा एमालेका सचिव महासेठ उपप्रधानमन्त्री र पटक-पटक मन्त्री भइसकेका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री हुन् यादव । तीन जनाबीच कडा प्रतिस्पर्धामा आफूले बाजी मार्ने दाबी गर्छने कृष्णकुमार ।

चुनाव चिन्ह कैंची पाएका कृष्णकुमार सामाजिक सञ्जालमा छाएका छन् । करिब ७५ हजार बढी फ्लोअर्स रहेको फेसबुक पेजमार्फत उनी दैनिक दर्जनौं प्रचार सामग्री राख्छन् । उनले घरदैलो पनि सुरु गरिसकेका छन् ।

एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहले कृष्णकुमार आफ्नो समूहको रहेको जिकिर गरेका थिए । तर, कृष्णकुमारले प्रभु साहको अभिव्यक्ति गलत भएको बताए । कुनै संगठन र कसैको उक्साहटमा स्वतन्त्र उम्मेदवारी नदिएको उनको भनाइ छ ।

स्वतन्त्र उम्मेदवार बनेपछि आफूलाई विभिन्न व्यक्तिले धम्की दिएको उनले गुनासो गरेका छन् । नेताको एकलौटी जिमदारी तोड्न आफू उम्मेदवार बनेको कृष्णकुमार बताउँछन् । ‘नेताहरुले जहिल्यै जनतालाई ठग्ने काममात्र गरेका छन्’, उनी भन्छन्, ‘नेताबाट जनता आजित भइसकेका छन् । त्यसैले मलाई भोट दिएर विजयी गराउँछन् भन्ने विश्वास छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live