धादिङमा बढ्यो चुनावी सरगर्मी : सत्ता गठबन्धन जित्नेमा ढुक्क, एमाले नयाँ रणनीति खोज्दै – Nepal Press

धादिङमा बढ्यो चुनावी सरगर्मी : सत्ता गठबन्धन जित्नेमा ढुक्क, एमाले नयाँ रणनीति खोज्दै

धादिङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशैभर जस्तै धादिङमा पनि चुनावी सरगर्मी बढेको छ । धादिङका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि दल तथा स्वतन्त्र गरी ७९ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

उम्मेदवारी दिएकामध्ये नेकपा एमालेका एक, राप्रपाका तीन र स्वतन्त्र तीन गरी ७ जनाको मनोनयन फिर्ता भएको छ । उम्मेदवार कायम रहेकाहरु गाउँ-गाउँमा पुगेर प्रचारप्रसारमा जुट्न थालेका छन् ।

धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेदेखि कमेडियन हिमेश पन्तसम्म चुनावी मैदानमा उत्रिएका छन् । धादिङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एसका केन्द्रीय उपाध्यक्ष पाण्डे आफ्नै पुराना सहकर्मी नेकपा एमालेका भूमि त्रिपाठीसँग चुनावी मैदानमा छन् ।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा त्रिपाठी र प्रदेशसभामा पाण्डे नेकपा एमालेबाट उम्मेदवार भएर विजयी भएका थिए । पाण्डे र त्रिपाठीसँग धादिङका पुराना कम्युनिष्ट नेता उत्तमराज शर्मा कँडेल पनि प्रतिस्पर्धामा छन् । कँडेल स्वतन्त्र उम्मेदवार हुन् ।

यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्त, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, जनसमाजवादी पार्टीबाट पुष्कर सेढाई, मंगोल नेशनल अर्गनाइजेशनबाट सुमन तामाङ, नेपाल मजदुर किसान पार्टीबाट विश्वअम्मर महर्जन पनि उम्मेदवार छन । यीबाहेक अन्य पाँच जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा मुख्य गरी नेकपा एसका पाण्डे र नेकपा एमालेका त्रिपाठीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । पाण्डेलाई सत्ता गठबन्धनको साथ रहेको छ । त्रिपाठीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे २०४३ सालदेखि धादिङको संसदीय राजनीतिमा देखिएका व्यक्ति हुन् । पाण्डेले २०४८, २०५१, २०५६, २०७० र २०७४ मा चुनाव जितेका थिए । २०४३ का जनपक्षीय उम्मेदवार पाण्डे २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

त्रिपाठी दोस्रो पटक प्रतिनिधिसभाको निर्वाचनमा उत्रिएका हुन् । एमालेको राम्रो पकड रहेको यस क्षेत्रमा पार्टी विभाजनपछि केही असर परेको छ । पाण्डे र त्रिपाठी २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । यसपटक पाण्डे सत्तारुढ गठबन्धनबाट आफ्नै पुराना सारथीविरुद्ध प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रामनाथ अधिकारी र नेकपा एमालेबाट निवर्तमान सांसद खेमप्रसाद लोहनी चुनावी मैदानमा उत्रिएका छन् । लोहनी २०७४ को निर्वाचनमा वाम गठबन्धनमा एमालेबाट विजयी भएका थिए । आफूले धेरै काम गरेकाले यस पटकसमेत आफूले जित्नेमा लोहनी ढुक्क देखिन्छन् ।

२०५६ मा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेका अधिकारी त्यसपछि हरेक चुनावमा पराजित हुँदै आएका थिए । तर, यस पटक सत्ता गठबन्धनको सहयोगले सजिलै चुनाव जित्नेमा ढुक्क देखिन्छन् उनी ।

जनजाति बाहुल्य यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बसुमाया तामाङलाई उम्मेदवार बनाएको छ । पहिलो पटक चुनावको मैदानमा उत्रिएका बसुमायाले उत्साहजनक मत ल्याउने विश्वास गरिएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेस (बीपी) बाट शंकर दर्जी, जनता समाजवादी पार्टीबाट मेकरमान तामाङ र मंगोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङको उम्मेदवारी परेको छ । यीबाहेक दुर्गकुमार शाक्य, टीकानिधि काप्री, बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, रुद्रबहादुर गेलाङ, सरोज बुढाथोकी, सञ्जय दुवाडी र हरिप्रसाद घिमिरेको पनि स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

मनोनयन दर्तापछि मुख्य दलहरु कार्यकर्ता भेटघाट, चुनाव प्रचारप्रसार समिति गठनलगायतका चुनावी कार्यक्रममा लागेका छन् ।

धादिङमा प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा एमालेभित्रको विवाद चरमचुलीमा पुगेको छ । पार्टी केन्द्रले जबरजस्ती रमेश आचार्यलाई टिकट थमाएपछि एमालेका पुराना नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेल र आचार्य एकापसमा भिड्दा यो क्षेत्रबाट सजिलै जीत हासिल गर्ने योजनामा सत्ता गठबन्धन देखिएको छ । प्रदेशसभामा २०७४ मा राजेन्द्र पाण्डेसँग पराजित नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठ यस पटक पाण्डेकै साथमा चुनावी मैदानमा छन् ।

त्यसो त यस क्षेत्रमा सत्ता गठबन्धनविरुद्ध माओवादी केन्द्रका ईश्वर कोइरालाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । कोइरालाको उम्मेदवारी फिर्ताका लागि माओवादी केन्द्रले गरेको पहल, चेतावनीले कुनै प्रभाव नपारेपछि गठबन्धनको केही भोट कोइरालाको पक्षमा आउने देखिन्छ ।

प्रदेशसभा १ (ख) मा यस पटक पनि सत्ता गठबन्धनले माओवादी नेता शालिकराम जमकट्टेललाई अघि सारेको छ । जमकट्टेललाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै माओवादी कार्यकर्ताले भोट मागिरहेका छन् । जमकट्टेलसँग नेकपा एमालेका तर्फबाट इञ्जिनियर गजेन्द्र थपलिया भिडदैछन् । थपलियालाई सजिलैसँग जित्न सक्ने सत्ता गठबन्धनको दाबी छ । एमालेले भने यस पटक जनताले नयाँ व्यक्तिलाई साथ दिने बताएको छ ।

प्रदेशसभा २ (क) मा नेकपा एमालेले २०७४ मा विजयी पूर्वमन्त्री डा. रामकुमार अधिकारीलाई अघि सारेको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द लम्सालले प्रतिस्पर्धा गर्दैछन् । लम्साल र अधिकारीमध्ये धेरैले अधिकारीलाई बलियो उम्मेदवारका रुपमा लिएका छन् ।

जिल्लामै सबैभन्दा थोरै उम्मेदवार यस क्षेत्रको चुनावी मैदानमा छन् । सत्ता गठबन्धन र एमालेका उम्मेदवारबाहेक यस प्रदेश क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनका सालिकराम थापा र स्वतन्त्रबाट दयाराम लम्साल र खड्गकुमारी सापकोटाको उम्मेदवारी रहेको छ ।

धादिङ क्षेत्र नं २ प्रदेशसभा (ख) मा सत्ता गठबन्धनले यस पटक पनि माओवादी केन्द्रका जगतबहादुर सिम्खडालाई अघि सारेको छ । एमालेको समर्थनमा राप्रपाका डम्बर तामाङ मैदानमा छन् ।

२०७४ को चुनावमा वाम गठबन्धनबाट सिम्खडा र कांग्रेस-राप्रपा गठबन्धनबाट तामाङबीच प्रतिस्पर्धा भएको थियो । अघिल्लो पटक विजयी सिम्खडा जीत दोहो¥याउने र अघिल्लो पटक पराजित तामाङ यो पटक जित्ने योजनाका साथ अघि बढेका छन् ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध नेपाली कांग्रेसकी नेतृ देवी पाण्डे बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पाण्डेको कारण सत्ता गठबन्धनको भोट घट्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर