रुपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौं : विष्णु पौडेल – Nepal Press

रुपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौं : विष्णु पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा भौतिकसँगै मानवीय विकास आफू केन्द्रित रहेको बताएका छन् ।

एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रुपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताए ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पौडेलले जिल्लालाई भौतिक र मानवीय दुवै विकासले अग्रणी बनाउने बताए ।

रुपन्देही–२ मा चुनाव जित्न एमालेको कसैसँग प्रतिस्पर्धा नभएको बताउँदै सबैभन्दा धेरै मतान्तरले जित्ने दौडमा एमाले रहेको पौडेलको भनाइ छ । गएको निर्वाचनमा एमालेका उम्मेदवार सबै दोब्बर जस्तै मतान्तरले जितेको बताउँदै यो पटक त्यसलाई मतान्तरलाई अझै बढाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘एमालेलाई जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहन्छौ’ नेता पौडेलले भने ।

गएको पालिका निर्वाचनको मत परिणामप्रति लक्षित गर्दै पौडेलले भने, ‘सधैँ हिँडिरहेको आँगनमा पनि कहिलेकाहीँ चिप्लिएर लडिन्छ । तर, पालिका चुनावको नतिजाले एमाले नेता/कार्यकर्तालाई पाठ सिकाएको छ । यो चुनाव २०७४ को प्रतिनिधिसभा÷प्रदेशसभा मत परिणाम ब्रेक गर्ने गरी नेता÷कार्यकर्ता लाग्नुपर्छ ।’

रुपन्देही क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफूले सधैँ युवालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताए । ‘बुटवलमा अबको विकास भौतिकसँगै मानवीयको पनि हुनेछ । म सधैँ सामाजिक रूपान्तरण लाग्दै युवालाई प्राथमिकताका साथ अगाडि सार्ने मेरो सोच छ’ श्रेष्ठले भने ।

कार्यक्रममा एमाले वडा इन्चार्ज युवराज घिमिरेले पार्टीका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन सबै पार्टीका कार्यकर्ताहरु मिहिन ढङ्गले जुट्न सबैलाई आग्रह गरे । सो अवसरमा राष्ट्रिय जनमोर्चा छाडेर एमाले प्रवेश गरेका शिव खनाल र प्रदीप खनाललाई उपाध्यक्ष पौडेलले पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर