रुपन्देही २ मा नेकपा एसका गुरुङको उम्मेदवारी खारेजी फिर्ता गर्न गठबन्धन दलले बुझाए चेतावनीसहितको ज्ञापन पत्र – Nepal Press

रुपन्देही २ मा नेकपा एसका गुरुङको उम्मेदवारी खारेजी फिर्ता गर्न गठबन्धन दलले बुझाए चेतावनीसहितको ज्ञापन पत्र

काठमाडौं । सत्तारुढ दलका तर्फबाट रुपन्देही क्षेत्र नं. २ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी फिर्ता गर्न गठबन्धनका दलहरुले माग गरेका छन् ।

वुधबार नेपाली कांग्रेसका लुम्बिनी सभापति पर्शुराम ढकाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एसका रुपन्देहीका उपाध्यक्ष चिनबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष पदम श्रेष्ठ र नेपाल समाजावादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कोइरालालाई बुझाएका हुन् ।

क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीका कतिपय निर्णय राजनीतिक पूर्वाग्रही रहेको पाइएको भन्दै गठबन्धनमा आबद्ध दलहरुले नेपालीलाई हटाउनसमेत माग गरेका हुन् ।

उनीहरुले अदालतमा मुद्दा विचारधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदासमेत त्यसको बेवास्ता गरि क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्ध गरिएको जनाएका छन् । यस्तै, दलहरुले हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाए वापत भनेर उम्मेदवारी रद्ध गरिएकाले त्यो पनि गैरकानूनी भएको जनाएका छन् । उनीहरुले गुरुङको उम्मेदवारी खारेजी नसच्याए भोलि हुने परिणामको जिम्मा निर्वाचन अधिकृतले नै लिनुपर्ने चेतावनी पनि दिएका छन् ।

दलहरुले बुझाएको ज्ञापन पत्रमा बृद्धाभत्ता, एकल महिला भत्ता, पेन्सन नपाउने र बेरोजगारले मात्र चुनाव लड्ने हो र ? मुद्दाले दोषी ठहर नगरी अदालतको मानहानी गर्ने, जनताको मौलिक अधिकारप्रति अंकुश लगाउने काम गर्न निर्वाचन आयोगलाई मिल्छ र ? भन्ने प्रश्न समेत गरेका छन् ।

दलहरुले क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नेपाली राष्ट्रिय सभा अध्यक्षका निजी सचिवालयबाट आएकाले उनले गराउने निर्वाचन निष्पक्ष हुनेमा शंका गरेका छन् । ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको निष्पक्षतामा विश्वास गर्न सकिँदैन, त्यसैले नेपालीलाई हटाई उहाँको स्थानमा अरु पठाउने र क्षेत्र नम्बर २ को निर्णय सच्याउन निवेदन गर्दछौं ।’

ज्ञापन पत्र बुझ्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कोइरालाले दलहरुले बुझाएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउने र समास्या समाधानमा आफ्नातर्फबाट सहजीकरण हुने जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर