को हुन् मधेसको भावी मुख्यमन्त्री ? कांग्रेस, जसपा र लोसपाको दाबी – Nepal Press

को हुन् मधेसको भावी मुख्यमन्त्री ? कांग्रेस, जसपा र लोसपाको दाबी

जनकपुरधाम । संसदीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन सकिएसँगै चुनावी माहोल बन्न थालेको छ । कहिल्यै गाउँमा नदेखिने नेताहरु घरघरमा पुगिरहेका छन् । गाउँघरको चिया पसलमा साँझ-बिहान मानिसहरुको जमघट हुनेवित्तिकै चुनावी चर्चा सुरु हुन थालेका छन् ।

अहिले जताततै कहाँ कसले बाजी मार्ला भन्ने चर्चा त हुन्छ नै । योसँगै मधेस प्रदेशमा अबको मुख्यमन्त्री को भन्ने प्रश्नसमेत गरिन थालेको छ । तर, दलहरुले अहिले नै मुख्यमन्त्रीको रुपमा कसैलाई अघि सारेका छैनन् ।

२०७४ को निर्वाचनमा दुई मधेस केन्द्रित दल उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले गठबन्धन गर्दा बहुमत ल्याउन सफल भए र लामो समय मिलेर सरकार चलाए । पछि दुई दलबीच एकीकरण नै भयो । तर, एकता धेरै टिक्न सकेन र महन्थ ठाकुर पक्ष अलग भयो ।

ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि जसपाले मधेस सरकारबाट उसका मन्त्रीहरुलाई हटायो । त्यसपछि जसपाले प्रदेश सरकारमा संघीय सरकार गठन गर्न बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुलाई सहभागी गरायो । जसले गर्दा जसपाकै लालबाबु राउत मुख्यमन्त्रीमा निरन्तर रहे । उनको सरकारमा कांग्रेस, माओवादी र नेकपा एस सहभागी छन् ।

सरकार सत्ता गठबन्धनको रहे पनि अहिले जसपा प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरी चुनावी मैदानमा छ । विगतमा उपेन्द्र यादवको पार्टीसँग गठबन्धन गरेका महन्थ ठाकुर नेतृत्वको लोसपा भने सत्ता गठबन्धनमा पुगेको छ । अर्थात् दुई मधेस केन्द्रित दल दुई ध्रुवमा विभाजित छन् ।

मधेस प्रदेशमा प्रदेशसभातर्फ ६४ सीट छ । जसमध्ये अधिकांश सीटमा जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

जसपा र एमाले ३२/३२ सीट लिने सम्झौता गरेको थियो । तर, केही क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुने भएकाले सीट संख्या घटबढ हुनेछ । सत्ता गठबन्धनतर्फ सबैभन्दा बढी सीट कांग्रेसले राखेको छ । लोसपाले १७ सीट पाएको छ । यसरी हेर्दा जसपा, एमाले, कांग्रेस र लोसपाले मात्र मुख्यमन्त्री दाबी गर्ने देखिन्छ ।

यो पटक जसपा अध्यक्ष उपेन्द्र यादवले विजय यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको स्रोतको दाबी छ । विजयलाई २०७४ कै चुनावमा मुख्यमन्त्री बनाउने आश्वासन दिइएको थियो । तर, पर्साका लालबाबु राउतलाई जसपाले मुख्यमन्त्री बनायो । विजय सुरुमा अर्थमन्त्री बने । अहिले उनी कृषिमन्त्री छन् । यो पटक विजयलाई मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

हुन त सिनियरको हिसाबमा राउतले पुनः मुख्यमन्त्रीको दाबी गर्न सक्छन् । तर, पुनः अवसर नपाउने जसपा स्रोतले जनाएको छ । एक नेताले भने, ‘विजयले संघमा चुनाव लड्ने आकांक्षा राखेका थिए । अध्यक्षजीले नै मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी प्रदेशमा चुनाव लडेका छन् ।’

पहिले निर्वाचित सिरहा २ (क)बाटै उनी उम्मेदवार बनेका छन् ।

मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत छात्राहरुलाई वितरण गर्न खरिद गरेको साइकलमा भ्रष्टाचार गरेको आरोप पनि मुख्यमन्त्री राउतमाथि लागेको छ । उनलाई हटाउन जसपा अध्यक्ष यादवलाई पटक-पटक दबाबसमेत दिइएको थियो । केहि दिन अगाडि मात्र अध्यक्ष यादवले उनलाई हटाउने निर्देशन दिएका थिए । तर, आसन्न निर्वाचनमा मुस्लिम भोट तान्न समस्या हुने देखिएपछि ब्याक भए र मुख्यमन्त्री राउत पूरा कार्यकाल बिताउन सफल बने ।

भ्रष्टाचारमा मुछिएको र सोही कारण पार्टी नै बदनाम बनेकाले राउतलाई पुनः मुख्यमन्त्री बनाइने सम्भावना छैन । विजय यादवमाथि भने भ्रष्टाचारको आरोप लागेको छैन । संगठन विस्तारमा पनि अन्य नेताको तुलनामा उनको भूमिका अब्बल छ । त्यसैले जसपा सरकारको नेतृत्व गर्ने गरी सीट जित्यो भने विजय नै मुख्यमन्त्री बन्ने सो पार्टीका नेताहरु बताउँछन् ।

एमालेमा अहिलेसम्म मुख्यमन्त्रीको रुपमा कोही अगाडि देखिएका छैनन् । २०७४ को निर्वाचन जितेर सप्तरीबाट प्रदेशसभामा पुगेका एमाले संसदीय दलका नेता सत्यनारायण मण्डल मुख्यमन्त्रीका दावेदार थिए । उनले पटक-पटक मुख्यमन्त्री बन्न तालमेल उलटफेर गर्ने प्रयास गरेका थिए । तर, सफल हुन सकेनन् । यो पटक उनी चुनाव लडेका छैनन् ।

जसपालाई मुख्यमन्त्री दिने र संयुक्त सरकार बनाउने आन्तरिक सहमति भएको एमालेकै एक नेताले सुनाए । यता सत्ता गठबन्धनमा भने अब बन्ने मधेस सरकारको नेतृत्व कांग्रेसले गर्ने र रामसरोज यादव वा कृष्ण यादव मुख्यमन्त्री बन्ने चर्चा छ । रामसरोज कांग्रेस संसदीय दलका नेताको रुपमा मधेस सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन् । धनुषा क्षेत्र नम्बर ३ (क) बाट पुनः चुनावी मैदानमा उत्रेका उनलाई धेरैले मुख्यमन्त्रीको रुपमा हेरेका छन् ।

कृष्ण यादव भने कांग्रेस मधेस प्रदेशका सभापति हुन् । उनी पनि रौतहटबाट प्रदेशसभा सदस्यमा चुनाव लड्दैछन् । मुख्यमन्त्री बन्ने उद्देश्यले नै उनी प्रदेशसभा सदस्यमा चुनाव लडेको कांग्रेसका एक नेताले सुनाए । उनका अनुसार कांग्रेसबाट मुख्यमन्त्री बन्न रामसरोज र कृष्णबीच कडा टक्कर हुनेछ ।

यता, लोसपाबाट जीतेन्द्र सोनल मुख्यमन्त्रीका आकांक्षी छन् । तत्कालीन राजपाको संसदीय दलका नेताका रुपमा उनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । पछि जसपाले हटाएपछि अन्य दलसँग मिलेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कसरत पनि गरेका थिए उनले । तर, सफल भएनन् । यो पटक मुख्यमन्त्री बन्ने उनको दाउ छ ।

प्रदेशमा मुख्य प्रतिस्पर्धी दलमा नेकपा माओवादी केन्द्र, नेकपा एस र जनमत पार्टी पनि छन् । तर, जनाधार कमजोर छ । त्यसैले सरकारमा सहभागी भए पनि मुख्यमन्त्री नै पाउने सम्भावना कम छ । तीनै दलका कुनै पनि नेता मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर