भावी प्रधानमन्त्रीमा कांग्रेसबाट आधा दर्जनको दाबी, पाँच जना होलान् देउवामाथि हाबी ? – Nepal Press

भावी प्रधानमन्त्रीमा कांग्रेसबाट आधा दर्जनको दाबी, पाँच जना होलान् देउवामाथि हाबी ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक गठबन्धनका नेताहरूलाई प्रश्न सोधिरहेका छन्–हाम्रो प्रधानमन्त्री उम्मेदवार केपी ओली हुन् । गठबन्धनको उम्मेदवार को हो ?

सत्ता गठबन्धन भावी प्रधानमन्त्री कसैलाई पनि घोषणा नगरी चुनावमा उत्रिँदा गठबन्धनको मुख्य घटक कांग्रेसबाटै आधा दर्जनले प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । माओवादी केन्द्रले पनि प्रचण्डलाई भावी प्रधानमन्त्री भनेको छ ।

४ मंसिरमा हुने आम निर्वाचनले आगामी पाँच वर्ष देशको नेतृत्व र भविष्य कोर्नेछ । मंसिर ४ को परिणामले देशको नेतृत्व कसले गर्छ भन्ने टुंगो लगाउला ? उम्मेदवारी दर्तासँगै दलहरूमा भने भावी प्रधानमन्त्रीको चर्चा सुरु भएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट भावी प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड होलान् भनेर सामान्य अनुमान आम जनताको हुन्छ ।

तर अहिले अवस्था फरक छ । नेकपा एमालेबाट केपी शर्मा ओली, माओवादीबाट दाहाल निर्विकल्प जस्तै भए पनि नेपाली कांग्रेसमा भने प्रधानमन्त्रीको दाबी गर्ने नेताहरूको लाइन देखिन्छ ।

आगामी निर्वाचनमा नेकपा एमालेले केपी शर्मा ओलीलाई अगाडि सारेको छ । पार्टीको निर्णय नै गरेर एमालेबाट ओली प्रधानमन्त्रीको एक मात्र र निर्विकल्प उम्मेदवार बनेका हुन् । यस्तै माओवादी केन्द्रबाट पनि पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्रीको भावी उम्मेदवार भएको नेताहरूले बताइरहेका छन् ।

माओवादीले औपचारिक रूपमा घोषणा नगरे पनि प्रचण्डविरुद्ध माओवादीमा प्रधानमन्त्रीका लागि दाबी गर्ने हिम्मत कसैले गर्दैनन् । अहिले माओवादीसँग सहयात्रामा रहेका पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाउँदै लगेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट जित निश्चित नभएपछि गोरखा २ पुगेका प्रचण्ड यो पटक जसरी पनि निर्वाचन जित्ने र फेरि एक पटक देशको नेतृत्व गर्ने सपना देखिरहेका छन् । माओवादी नेताहरू भन्छन्, ‘मंसिर ४ को निर्वाचनपछि पहिलो प्रधानमन्त्री प्रचण्ड हुन् ।’

अहिले सरकार र गठबन्धनको नेतृत्व गरिरहेको दलमा भने प्रधानमन्त्रीको आधा दर्जन आकांक्षीहरु देखिएका छन् । ज्योतिषले नै सात पटक प्रधानमन्त्री हुने योग रहेको बताएका देउवा कांग्रेसमा प्रधानमन्त्रीको बलियो आकांक्षी हुन् । डडेल्धुराबाट सातौँ पटक प्रतिनिधिसभा निर्वाचन लड्न आइतबार उम्मेदवारी दर्ता गराएका देउवा अहिले प्रधानमन्त्रीको पाँचौँ कार्यकालमा छन् ।

निर्वाचन पछि उनले छैटौँ प्रधानमन्त्रीको कार्यकालका लागि पार्टीभित्र संघर्ष गर्नेछन् । सके एकल बहुमत नभए पहिलो पार्टी बनेर गठबन्धन सरकारको नेतृत्व गर्ने लक्ष्य राखेको कांग्रेसमा देउवाजस्तै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाउने नेताहरूको संख्या बाक्लो छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल एक पटक आफूले सरकारको नेतृत्व गर्ने चाहना रहेको लामो समयदेखि बताउँदै बताएका छन् । तनहुँबाट निर्वाचन लड्न लागेका रहेका पौडेलले एक पटक देशको सेवा गर्न चाहेको आफ्नो सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

उनले हरेक कार्यक्रममा ‘देशको सेवा गर्न चाहन्छु । अरूले बिगार्दै गएका छन् । देश बनाउन मलाई एक पटक मौका चाहियो ।’ भन्दै आएका छन् । मनोनयन दर्ता गर्दैगर्दा आइतबार पनि उनले केही गर्न बाँकी रहेकाले यो उमेरमा पनि सक्रिय छु भन्दै आफ्नो दाबेदारी प्रस्तुत गरे ।

उनले भने, ‘केही काम बाँकी छ भनेर नै यो उमेरमा सक्रिय राजनीतिमा छु । केही गर्ने मिसन पूरा गर्न बाँकी छ । त्यसैले म तपाईँहरूको अघि छु ।’

कांग्रेसबाट तेस्रो पटक प्रतिनिधिसभा निर्वाचन लड्न आइतबार उम्मेदवारी दर्ता गरेका महामन्त्री गगन थापाले यो पटक आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाएर मतदाता रिझाइरहेका छन् ।

काठमाडौं ४ बाट उम्मेदवारी दर्ता गरेपछि उनले सांसदको रूपमा आफ्नो विकास निर्माणका जिम्मेवारी सम्हालेको उल्लेख गर्दै अबको प्रयास सरकारको नेतृत्व गर्ने रहेको बताए ।

सांसदका रूपमा बहन गर्ने जिम्मेवारीका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै भने, ‘यो पटक चाहिँ अनुभवको आधारमा मौका पर्दा मूल जिम्मेवारी लिनुपर्छ ।’ उनको चाहना आगामी पाँच वर्ष नेपाली कांग्रेसबाट कार्यकारी भएर देश हाँक्ने हो ।

अब मूल राजनीतिमा बस्ने प्रयास गर्ने उल्लेख गर्दै थापाले काठमाडौं ४ का मतदाताहरूसँग भने, ‘म यहाँबाट सांसदको रूपमा निर्वाचित भएर गएपछि सांसदको रूपमा पुरा गर्ने जिम्मेवारी छँदैछ। मैले नेपाल सरकारको नेतृत्व गर्ने प्रयत्न गर्छु। मलाई त्यसको लागि अनुभव र जोस मसँग छ ।’

थापासँगै १३ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा सहयोग गरेका नेता शशांक कोइराला पनि प्रधानमन्त्रीको दाबी गर्दै चुनाव लडिरहेका छन् । उनले आफ्ना मतदाताहरूलाई यो आफ्नो अन्तिम चुनाव रहेको बताउँदै यो पटकको उम्मेदवारी प्रधानमन्त्रीको लागि हो भनेका छन् ।

नवलपुर १ मा चौथो पटक उम्मेदवारी दर्ता कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताए । पार्टीले निर्णय गर्ने विषय भए पनि आफू यो पटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताए ।
कोइराला २०६४, २०७० र २०७४ तीन वटै चुनावमा यही क्षेत्रबाट जितेका थिए ।

पौडेल, गगन, शशांकले देउवालाई भावी प्रधानमन्त्रीको प्रतिस्पर्धामा चुनौती दिइरहेका बेला १३ औँ महाधिवेशनमा सभापतिमा चुनौती दिएका शेखर कोइराला पनि पछि हट्ने पक्षमा छैनन् । उनले भावी प्रधानमन्त्रीको दाबेदार भन्दै आफूलाई मैदानमा उतारेका छन् ।

मोरङ ६ बाट उम्मेदवार बनेका कोइराला यो पटक चुनाव जित्दै पार्टीको संसदीय दलको निर्वाचनमा देउवालाई टक्कर दिने मुडमा देखिन्छन् । यसको छनक समानुपातिक निर्वाचनको मनोनयन दर्ता र प्रत्यक्षतर्फको टिकट बाँडफाँटको समयमा देखिइसकेको छ ।

पार्टी महाधिवेशनमा देउवालाई सहयोग गरेका नेता प्रकाशमान सिंह पनि आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिरहेका छन् । उनी काठमाडौं १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

कांग्रेसभित्र प्रधानमन्त्रीका दाबी गर्ने आधा दर्जन नै भए पनि देउवाले जसरी सीट बाँडफाँट र टिकट बाँडफाँट गरेका छन्, त्यो हिसाबले बाँकी पाँच जनाको प्रयास भने दाबीमै सीमित रहन सक्छ । कांग्रेसबाट प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ । देउवाले टिकट बाँड्दा नै आफूलाई भोलि दलको नेतामा कसैले चुनौती दिन नसक्ने गरी मिलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *