स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कांग्रेस नेता पुष्कर ओझाले भने– धनगढीबाट विद्रोह शुरु भयो (भिडिओ) – Nepal Press

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कांग्रेस नेता पुष्कर ओझाले भने– धनगढीबाट विद्रोह शुरु भयो (भिडिओ)

कैलाली । अघिल्लो पटकको प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई असहयोग गरेको भन्दै कारबाहीमा परेका पुष्करनाथ ओझा यस पटक सोही क्षेत्रबाट उम्मेदवार बन्ने भएका छन् ।

२०७० को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालीन क्षेत्र नम्बर ६ र डडेल्धुराबाट निर्वाचित हुँदा देउवाले क्षेत्र नम्बर ६ छोडेका थिए ।

उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा ओझा कांग्रेसबाट विजयी भएका थिए । त्यसपछि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि उनी आकांक्षी थिए । तर, प्रधानमन्त्री पत्नीले टिकट पाएपछि उनीमाथि कारबाही भएको थियो ।

प्रधानमन्त्री पत्नी एमालेका उम्मेदवार नारदमुनि रानासँग करिब ५ हजार मतले पराजित भएकी थिइन् ।

५ वर्ष सम्म पनि कारबाही फुकुवा नभएपछि उनले पत्रकार सम्मेलन गरी क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेको जनाए ।

ओझाले कांग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेको बताएका थिए । कांग्रेसबाट जितेर राज्यमन्त्रीसमेत भइसकेका ओझाले प्रवृत्ति विरुद्धको संघर्षको नेतृत्व आफूले गर्ने पनि बताए ।

उनले भने, ‘कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र चाहिने ?’

धनगढीबाट विद्रोहको सुरुवात भएको बताएका ओझाले ठाउँ सानो भए पनि आयाम ठूलो हुने दाबी गरे ।

उनले भने, ‘म एक पार्टीको मात्र विद्रोही हैन, कम्युनिस्टमा पनि छन्। कम्युनिस्टमा विद्रोही छन्, तर विरोध गर्न सक्दैनन् । सबैको नेतृत्व म गर्छु, कोही तयार छैन, म नलडे कोही लड्दैन । कुनै पनि खालको सम्झौता हुँदैन ।’

उनले नेपाली कांग्रेसले भिलेन बनाएको बताएका छन् ।

‘चार पटक चुनाव लड्ने इच्छा गरेँ, केही पटक लड्दैन भनेँ, दबाब दिँदा पनि लड्दैन भनेँ । अहिलेको जस्तो रहर कहिल्यै भएन । अहिले मसँग केही छैन । जुन दलमा सम्पूर्ण जीवन लगाएँ, उसको नजरमा म भिलेन छु। त्यसैले त मलाई कारबाही गरेको होला ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर