यी हुन् सुदूरपश्चिममा सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवार – Nepal Press

यी हुन् सुदूरपश्चिममा सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवार

कैलाली । सत्ता गठबन्धनबीच सीट बाँडफाँट करिब टुंगिएको छ । अहिलेसम्मको सहमति अनुसार सुदूरपश्चिम प्रदेशका १६ संघीय क्षेत्रमा नेपाली कांग्रेसले ९ सीट पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले २ क्षेत्र पाउने सहमति नै भइसकेको छ । अछाम-१ मा नेकपा एस र माओवादी केन्द्रको दाबी छ ।

नेपाली कांग्रेसले कैलालीको क्षेत्र नम्बर १, ४ र ५ पाउने भएको छ । कञ्चनपुर २ र ३ पनि कांग्रेसले नै पाउने भएको छ । पहाडी जिल्लामा प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरा, दार्चुला, बाजुरा र अछाम-२ पाउने निश्चित भएको छ ।

माओवादी केन्द्रले भने कैलालीको २ र ३ पाउने करिब पक्का भएको छ । त्यस्तै कञ्चनपुर-१ र बैतडी पाउने देखिएको छ । यस्तै अछाम-१ मा पनि दाबी गरिरहेको छ ।

नेकपा एकीकृत समाजवादीले बझाङ र डोटी पाउने लगभग निश्चित भइसकेको छ भने, अछाम-१ मा जबरदस्त दाबी गरेको छ । श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरका लागि यो क्षेत्र मागिरहेको छ ।

उम्मेदवार को ?

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले पाउने ९ क्षेत्रमा करिब-करिब उम्मेदवार पक्का भइसकेको स्रोतले जनाएको छ । जसअनुसार कैलाली-१ मा पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य रामजनम चौधरी उम्मेदवार बन्नेछन् ।

यस्तै कैलाली-४ मा प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बन्ने निश्चित भएको छ । डोटी नेकपा एसका प्रेम आलेलाई दिने भएपछि बलायरलाई कैलाली-४ मा झारिएको छ । यद्यपी अघिल्लो पटक लेखराज भट्टसँग पराजित भएका पूर्वकेन्द्रीय सदस्य सुनिल भण्डारीले दाबी यथावत राखेका छन् ।

कैलाली-५ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा एकल सिफारिसमा परेकी थिइन् । अघिल्लो पटक एमाले उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । अहिले आरजुले समानुपातिक तर्फ उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य डिल्लीराज पन्तको नाम चर्चामा छ । उनले आफूलाई बालुवाटार (देउवा परिवार) ले ‘तयारी गर्न’ भनेको अभिव्यक्ति दिदै आएका छन् । यही क्षेत्रमा कैलाली-४ बाट विस्थापित हुनलागेका भण्डारी र प्रदेश महामन्त्री नरनारायण शाह (मनु)को नाम पनि चर्चामा छ ।

उता कांग्रेसको भागमा परेका कञ्चनपुर-२ मा पूर्वमन्त्री एनपी साउँद र कञ्चनपुर-३ मा पूर्वमन्त्री रमेश लेखक निर्विकल्प उम्मेदवारजस्तै देखिन्छन् ।

यस्तै दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र बाजुरामा पार्टीका सहमहामन्त्री बद्री पाण्डेको उम्मेदवारी पनि लगभग निश्चित छ । अछाम-२ मा कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहलाई उम्मेदवार बनाउन लागिएको कांग्रेसस्रोत बताउँछ ।

यता माओवादीका भागमा परेको ४ क्षेत्रहरूमध्ये कञ्चनपुर-१ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर उम्मेदवार बन्ने लगभग निश्चित छ ।

यस्तै कैलाली-२ मा संविधानसभा सदस्य भगत बडुवाल उम्मेदवार हुनलागेको पार्टीनिकटस्रोत बताउँछ । यस्तै कैलाली-३ मा भने प्रदेशसभा सदस्य वीरभान चौधरी र कृष्ण चौधरीको दाबी छ । दुबैमध्ये वीरभानकै सम्भावना बढी देखिन्छ ।

यस्तै बैतडीमा नरेन्द्र कुँवर उम्मेदवार हुनलागेको माओवादीनिकट स्रोत बताउँछ । उता माओवादी केन्द्रले दावी नछाडेको अछाम-१ मा दीपक साउँदलाई उम्मेदवार बनाउने माओवादी केन्द्रको तयारी छ ।

यता नेकपा एसले अछाम-१ मा श्रम तथा रोजगारमन्त्री कुँवरलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । उनी २०६४ सालको संविधानसभामा एमालेका तर्फबाट सोही क्षेत्र जितेका थिए भने पछिल्लो समय राष्ट्रियसभामा सांसद थिए ।

यस्तै डोटीमा पूर्वमन्त्री आले र बझाङमा भानुभक्त जोशी उम्मेदवार हुने पक्कापक्की भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर