धमकेधार रिजवान : जो हरेक खेलमा बनाउँछन् अर्धशतक – Nepal Press

धमकेधार रिजवान : जो हरेक खेलमा बनाउँछन् अर्धशतक

लाहोर । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेका सबैभन्दा जबर्जस्त ब्याट्सम्यान हुन् पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान । प्रारम्भिक ब्याट्सम्यानका रुपमा उत्रने रिजवान लगातार उच्च लयमा छन् ।

यही कारण उनी टी-२० ब्याट्सम्यानको विश्व वरियतामा शीर्ष स्थानमा छन् । गत महिना भएको एसिया कप दौरान भएको प्रदर्शनका कारण उनी आफ्नै देशका कप्तान बाबर आजमलाई उछिन्दै शीर्ष स्थानमा पुगेका हुन् ।

रिजवानले पछिल्ला ५ टी-२० अन्तर्राष्ट्रियमध्ये चारवटामा अर्धशतक बनाएका छन् । घरेलु मैदानमा इङ्ल्यान्डविरुद्ध जारी ७ खेलको शृंखलामा पाँचवटा खेल सकिँदा ३-२ ले अग्रता लिएको पाकिस्तानका लागि हरेक खेलमा रिजवान चम्किरहेका छन् ।
उनले पहिलो खेलमा ६८, दोस्रो खेलमा ८८, तेस्रो खेलमा ८, चौथो खेलमा ८८ र पाँचौं खेलमा ६३ रन बनाएका छन् ।

बुधबार राति भएको पाँचौं खेलमा कमजोर ब्याटिङ गरेको पाकिस्तानले १४६ रनको लक्ष्य प्रस्तुत गर्नमा रिजवानले टोलीको लगभग आधा योगफल बनाएका थिए । जारी शृंखलाअघि भएको एसिया कपमा पाकिस्तान फाइनल पुग्दा पनि रिजवानको प्रदर्शन निर्णायक रहेको थियो ।

उनले प्रतियोगितामा पाकिस्तानले खेलेका ६ खेलमध्ये तीन खेलमा अर्धशतक बनाएका थिए । सुपर-४ मा उनले भारतविरुद्ध ७१ र फाइनलमा श्रीलंकाविरुद्ध ५५ रन जोडेका थिए । समूह चरणमा भारतविरुद्ध ४३ र हङकङविरुद्ध ७८ रनको पाली खेलेका थिए ।

पेशाबरमा जन्मिएका ३० वर्षीय रिजवानले सन् २०१५ मा टी-२० र एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले हालसम्म पाकिस्तानका लागि ६७ टी-२० अन्तर्राष्ट्रिय खेल्दै २० अर्धशतक र १ शतकसहित २ हजार २५८ रन बनाएका छन् । उनको प्रतिखेल औसत रन ५३.७६ रहेको छ।

उनले टेस्टमा २४ खेलमा २ शतक र ७ अर्धशतक बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ खेलमा २ शतक र ६ अर्धशतक बनाएका छन् । रिजवान एकै क्यालेन्डर वर्षमा २ हजार टी-२० अन्तर्राष्ट्रिय रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान हुन् । उनले सन् २०२१ मा यो सफलता हात पारेका थिए ।

सोही सफलताका कारण रिजवान आईसीसी वर्षको सर्वोत्कृष्ट पुरुष टी-२० खेलाडी अवार्ड हात पार्न सफल भए । उनलाई प्रतिष्ठित विज्डेन क्रिकेटर्स अफ दी इयर अवार्ड पनि दिइएको थियो । रिजवान अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटमा शतक बनाउने विश्वकै केवल दोस्रो विकेटकिपर ब्याट्सम्यान हुन् ।

यसअघि न्युजिल्यान्डका ब्रेन्डन म्याककुलुमले मात्र यस्तो सफलता हात पारेका थिए । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने दोस्रो पाकिस्तानी ब्याट्सम्यान् पनि बनेका थिए, अहमद सेहजादपछि । गत वर्ष उनले बाबर आजमसँग पहिलो विकेटका लागि दक्षिण अफ्रिकाविरुद्ध १९७ रनको साझेदारी गरेर कीर्तिमान बनाएका थिए ।

लक्ष्य पछ्याउने क्रममा यसअघि कुनै पनि विकेटका लागि यति धेरै रनको साझेदारी बन्न सकेको थिएन । यसै वर्ष यी दुईले इङ्ल्यान्डविरुद्ध पहिलो विकेटका लागि २०० रनको साझेदारी गरेर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को कोसेढुंगा पार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर