लोसपा प्रमुख सचेतक अरगरिया एमाले प्रवेश गर्दै, ओली पुनः धनुषा आउने – Nepal Press

लोसपा प्रमुख सचेतक अरगरिया एमाले प्रवेश गर्दै, ओली पुनः धनुषा आउने

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

नेता अरगरिया एमालेमा प्रवेश गर्ने कुराको टुङ्गो लागिसकेको उनी निकट एक नेताले बताए । उनका अनुसार नेता अरगरियालाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली असोज ८ गते धनुषा आउने तय भएको छ ।

जनकपुरधाम आएका बेला पनि एमाले अध्यक्ष केपी शर्मा ओली असोज ८ गते पुनः धनुषाकै क्षेत्र नम्वर २ मा पार्टी प्रवेशका लागि आउने बताएका थिए ।

०७४ को निर्वाचनमा धनुषा क्षेत्र नम्वर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । पछि तत्कालिन महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव पार्टीबीच एकता भएर जसपा बन्यो । तर केहि दिनमै महन्थ ठाकुर पक्ष पुनः अलग भएर लोसपा गठन गर्यो ।

नेता अरगरिया भने लोसपा रोजेका थिए । आसन्न निर्वाचनका लागि लोसपाबाट धनुषा क्षेत्र नम्वर २ मा अरगरियाको एकल नाम सिफारिस पनि भएका छन् । उनी भने लोसपा परित्याग गरी एमालेमा प्रवेश गर्न लागेका छन् ।

धनुषा क्षेत्र नम्वर २ का लोसपाका अधिकतर नेता कार्यकर्ता र अन्य क्षेत्रबाट पनि लोसपाका कार्यकर्ता लिएर नेता अरगरिया एमालेमा प्रवेश गर्ने बताइएको छ । त्यसका लागि नेता अरगरियाका समर्थकहरु कसरतमा लागिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर