मोबाइलबाटै लिन सकिन्छ सामाजिक सुरक्षा कोषको ‘सापटी सुविधा’ – Nepal Press

मोबाइलबाटै लिन सकिन्छ सामाजिक सुरक्षा कोषको ‘सापटी सुविधा’

काठमाडौं । सामाजिक सुरक्षा कोषले मोबाइलबाटै ‘सापटी सुविधा’ लिन सकिने व्यवस्था सुरु गरेको छ । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उक्त ‘सापटी सुविधा’ सुरु गरेका छन् ।

कोषले सञ्चालनमा ल्याएको ‘एसएसएफ नेपाल’ नामक ‘मोबाइल एप्स’ मन्त्री कुवँरले कम्प्युटरमा क्लिक गर्दै सापटी सुविधा सुरु गरेका हुन् ।

पाँचतारे होटल सोल्टीका अवकास प्राप्त कर्मचारी केशव खड्काले रकम भुक्तानीका लागि मोबाइल एपबाटै गरेको आवेदन मन्त्री कुँवरले अनलाइन प्रणालीबाटै स्वीकृत गरेपछि सेवा शुभारम्भ भएको कोषले जनाएको छ । कोषका अनुसार मन्त्रीले स्वीकृत गरेलगत्तै खड्काको बैंक खातामा रकम गएको थियो ।

त्यस्तै ग्यालेक्सी टेलिभिजनमा कार्यरत विनयकुमार महतोले कोषमा जम्मा भएको रकमको ८० प्रतिशत विशेष सापटीका लागि आवेदन दिएका थिए । उक्त आवेदन पनि मन्त्री कुँवरले नै सदर गरेका थिए । त्यसलगत्तै करिब २ लाख सापटी रकम महतोको खातामा गएको कोषले जनाएको छ ।

चितवनको ई-नेपाल प्रालिमा कार्यरत पवनबाबु प्रधानले पनि विशेष सापटी योजना प्राप्त गर्न अनलाइनबाटै आवेदन दिएका थिए । मन्त्री कुँवरले अनलाइनबाटै स्वीकृत गरेपछि उनले ३ लाख ५० हजार सापटी रुपैयाँ पाए ।

कोषका सहप्रवक्ता एवं उपनिर्देशक रोहित रेग्मीका अनुसार २०७६ साल साउन महिनादेखि योगदान सुरु भएका योगदानकर्ताको संख्या ७०० रहेका छन् । ती सबै विशेष सापटी, आवास तथा घर सापटी र शैक्षिक सापटी लिन योग्य रहेको उनले बताए । आगामी मंसिरसम्म ३० देखि ४० हजार र यस वर्षको अन्तिमतिर एक लाख योगदानकर्ता सापटी सुविधा लिन योग्य हुने कोषले जनाएको छ ।

मोबाइल एप्समा के छन् सुविधा ?

कोषका सूचना व्यवस्थापन महाशाखा प्रमुख डा.रोशन कोजुका अनुसार ‘एसएसएफ नेपाल’ मोबाइल एप्सबाट योगदानकर्ताले कोषमा जम्मा भएको आफ्नो रकमबारे जानकारी पाउन सक्छन् । मोबाइल एप्सबाटै आफ्नो ग्राहक पहिचान फारम ‘केवाईसी’ भर्न, अवकाश हुँदा अवकाश योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटी लिन आवेदन दिने र अस्पतालमा उपचारका लागि योग्य रहे नरहेको बारेमा जानकारी लिन सकिने उनले बताए ।

यसअघि यी सेवा अनलाइनमार्फत वेबसाइटमा मात्र लिन पाइने गरेको थियो । अबदेखि सबै सेवा मोबाइल एपबाट लिन सकिने कोजुले जानकारी दिए ।

मोबाइल एप्स इन्ड्रोइड फोनको प्ले स्टोर र सामाजिक सुरक्षा कोषको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । एप्स इनस्टल गरिसकेपछि साइन इन गर्न कोषले उपलब्ध गराएको योगदानकर्ताको एसएएसआईडी नम्बर, कोषमा आवद्ध हुँदा दर्ता भएको मोबाइल नम्बर र दर्ताकै क्रममा राखिएको जन्म मिति भर्नुपर्नेछ ।

कुन सापटी कसरी लिने ?

कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाका अनुसार सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ अन्तर्गत योगदानकर्ता सापटी निर्देशिका ल्याइएको छ । जसको विशेष सापटीअन्तर्गत योगदानकर्ताको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाइन्छ ।

कोषले कम्तिमा पनि ३६ महिना अर्थात ३ वर्ष योगदान गरेका योगदानकर्तालाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्रदान गर्छ । कोषबाट प्रदान गरिने विशेष सापटी पाउन अनलाइन निवेदन दिन सकिन्छ भने अन्य सापटीको हकमा स्वयं योगदानकर्ता कोषको केन्द्रीय तथा शाखा कार्यालयमा गएर निवेदन दिनुपर्छ ।

कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तिमा २ वर्ष बाँकी रहेका योगदानकर्ताले घर तथा शैक्षिक सापटी प्राप्त गर्न सक्छन् ।

५० हजारभन्दा कम सापटी नदिने

अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतमा ८० प्रतिशत रकमसम्म विशेष सापटी प्राप्त गर्न सकिन्छ । तोकिएको सीमाभित्र रही जुनसुकै बेला विशेष सापटी लिन सकिन्छ ।

तर, कोषले प्रशासनिक कारणले ५० हजारभन्दा कम रकम सापटी सुविधामा उपलब्ध नगराइने बताएको छ ।

कसरी लिने घर सापटी ?

कोषले प्रदान गर्ने घर सापटी नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न र संयुक्त आवासमा युनिट तथा घर खरिद गर्न दिइन्छ । घर सापटीको सीमा निर्धारण धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब जुन कम हुन्छ, त्यसैबमोजिम गरिन्छ ।

घर निर्माण गर्ने प्रयोजनले वा घरमा तल थप्न वा मर्मत गर्न घर सापटी प्रदान गर्दा कोषले कम्तिमा २ किस्ता र अधिकतम ४ किस्तामा रकम उपलब्ध गराउँछ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्यांकनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिन्छ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट लिन सकिने कोषले जनाएको छ ।

तर, अन्य सापटी लिई सापटीको ब्याज नियमित चुक्ता नगरेका योगदानकर्तालाई घर सापटी प्रदान नगरिने व्यवस्था निर्देशिकामा गरिएको छ । योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी घर सापटीको पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गरिसक्नुपर्नेछ ।

योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको ६ वर्षभित्र त्यस्तो सापटी चुक्ता गरिसक्नुपर्नेछ । सापटी तोकिएको समयसम्म पनि नतिरेमा कोषले योगदानकर्ताको धितोबाट असुलउपर गरिनेछ ।

शैक्षिक सापटी कसरी लिने ?

धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च जुन कम हुन्छ त्यसै बराबर रकम शैक्षिक सापटीको अधिकतम सीमा हो । कोषले शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ताको मागबमोजिम एकमुष्ट वा बढीमा ४ किस्तामा प्रदान गरिनेछ ।

योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी शैक्षिक सापटीको पहिलो किस्ता लिएको १५ वर्षभित्र सापटी चुक्ता गर्नुपर्छ ।

के कति छ ब्याजदर ?

सापटीको ब्याजदर कोषको सञ्जालक समितिले निर्धारण गरेअनुसार हुनेछ । आर्थिक वर्ष २०७९/०८० का लागि विशेष सापटीको ब्याजदर ९.१० प्रतिशत र अन्य सापटीको ९.७५ प्रतिशत रहेको छ ।

घर सापटी लिँदा एक वर्ष सहुलियत अवधि हुनेछ । शैक्षिक सापटीमा अध्ययनका लागि लाग्ने समयका आधारमा २ वर्षसम्म सहुलियत अवधि दिन सकिने कोषले जनाएको छ ।

१७ हजार २९२ रोजगारदातामार्फत साढे ३ लाख भन्दा बढी योगदानकर्ता आवद्ध

सामाजिक सुरक्षा कोषको पछिल्लो तथ्यांक अनुसार १७ हजार २ सय ९२ रोजगारदाता कोषमा अहिलेसम्म आवद्ध भइसकेका छन् । ति रोजगारदातामार्फत ३ लाख ५३ हजार ८ सय ६४ योगदानकर्ता आवद्ध भइसकेका छन् । जसमध्येबाट अहिले ३ हजार ८ सय १७ राेजगारदातामा आवद्ध २ लाख ४९ हजार ७८ जनाले नियमित रुपमा याेगदान गरिरहेका छन् ।

कोषमा अहिलेसम्म २२ अर्ब २० करोड रकम जम्मा भइसकेको छ भने करिव २ अर्ब रकम योगदानकर्ताले विभिन्न योजनामार्फत दाबी भुक्तानी लिइसकेका छन् । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम २४ करोड ९८ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २ करोड ६२ लाख, आश्रित परिवार सुरक्षा दावी रकम ३ करोड ८५ लाख, अवकाश दावी रकम १ अर्ब ६६ करोड ९२ लाख पुगिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *