१० वर्षपछि मूलघर फर्किएर हेमराजले भने- एमाले नै विकासको स्पष्ट दृष्टिकोण बोकेको पार्टी – Nepal Press

१० वर्षपछि मूलघर फर्किएर हेमराजले भने- एमाले नै विकासको स्पष्ट दृष्टिकोण बोकेको पार्टी

काठमाडौं । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै गएका हेमराज राई आज एमाले फर्किएका छन् । उनीसहित जसपाका १२२ जना नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीसहितका नेताले स्वागत गरे । राई जसपामा उपाध्यक्ष थिए ।

राईले एमाले मात्र नेपाली समाज विकासको स्पष्ट दृष्टिकोण र कार्यक्रम बोकेको पार्टी भएकाले आफूहरूले एमालेमै फर्केर योगदान गर्ने राजनीतिक निर्णय गरेको बताए ।

‘एमालेले नेपाली समाजका वर्गीयलगायतका सबै अन्तरविरोधको समाधान गर्छ भन्ने विश्वास र यस पार्टीले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियान नेपाल र नेपालीको हितमा केन्द्रित रहेको अभियान हो’, राईले भने, ‘नेपाली समाज विकासको स्पष्ट दृष्टिकोण र कार्यक्रम बोकेको यो पार्टीलाई सबल बनाउने कर्तव्यबोधका साथ एमालेमा फर्केर योगदान गर्ने राजनीतिक निर्णय गरिएको हो ।’

राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने विषयमा संविधान निर्माणप्रति सबैको चिन्ता हुँदा हरेक सचेत नागरिकको स्वतन्त्र भएर आफ्नो दृष्टिकोण राख्नु स्वाभाविक भएकाले आफूहरू त्यतिखेर एमालेबाट बाहिरिएको उनको प्रष्टोक्ति थियो ।

नेपाली राजनीति सिद्धान्तहीन र लक्ष्यविहीन गठबन्धनले दिशाहीन बनेको भन्दै राईले यसले नेपाली न समाजको समस्या समाधान र लोकतन्त्रलाई बलियो बनाउन नसक्ने र सिद्धान्तनिष्ठ एकताको लागि आव्हान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर