सन्न्यासकाे लाइनमा रहेकी सेरेना सिनसिनाटीमा पहिलो चरणमै स्तब्ध – Nepal Press

सन्न्यासकाे लाइनमा रहेकी सेरेना सिनसिनाटीमा पहिलो चरणमै स्तब्ध

न्युयोर्क। वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस यूएस ओपनको तयारीका रुपमा लिइने सिनसिनाटीमा केही टेनिस स्टारहरुले निराशाजनक प्रदर्शन गरेका छन् ।

सेरेना विलियम्सदेखि नाओमी ओसाकासम्म पहिलो चरणबाटै बाहिरिएका छन् । चीनकी झाङ सुआईले जापानी मूलकी ओसाकालाई ६-४ र ७-५ को सोझो सेटमा पराजित गरिन् । अमेरिकामा बस्दै आएकी ओसाकालाई सेरेना विलियम्सको उत्तराधिकारीका रुपमा हेरिने गरे पनि उनको पछिल्लो प्रदर्शन खराब रहेको छ ।

उनले पछिल्ला ८ खेलमा छैटौ‌ं पराजय व्यहोरेकी हुन् । २४ वर्षीया ओसाकाले हालसम्म ४ पटक ग्रान्डस्लाम जितेकी छन् । ओसाकाले सन् २०१८ र २०२० मा यूएस ओपन तथा सन् २०१९ र २०२१ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् । ओसाका पछिल्ला चार ग्रान्डस्लाममा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् । विम्बल्डनका पछिल्ला दुई संस्करण भने खेलिनन् ।

भेट्रान अमेरिकी खेलाडी सेरेना विलियम्स पनि सिनसिनाटीको पहिलो चरणबाटै बाहिरिएकी छन् । बेलायती खेलाडी एम्मा रादुकानुले सेरेनालाई ६-४ र ६-० को सोझो सेटमा हराएकी हुन् ।

४० वर्षीया सेरेनाले हालसम्म २३ पटक ग्रान्डस्लाम जितेकी छन् । उनले आसन्न यूएस ओपनबाट सन्न्यास लिने घोषणा गरिसकेकी छन् । यूएस ओपन अगष्ट २९ तारिखदेखि सुरु हुँदैछ ।

रादुकानु यूएस ओपनकी साविक विजेता हुन् । तर, यो वर्ष उनी तीनवटै ग्रान्डस्लाममा दोस्रो चरणबाट बाहिरिएकी थिइन् । सेरेना ६ पटककी यूएस ओपन विजेता हुन् । उनले सन् २०१७ को अस्ट्रेलियन ओपनयता ग्रान्डस्लाम उपाधि हात पार्न सकेका छैनन् । यसबीचमा उनी यूएस ओपन र विम्बल्डनमा लगातार दुई सिजन फाइनल पुगे पनि उपाधि जित्न असफल बनेकी थिइन् ।

विश्व टेनिसमा सबैभन्दा धेरैपटक एकल ग्रान्डस्लाम जित्ने खेलाडीको कीर्तिमान २४ उपाधिको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर