स्वास्थ्य बीमा समस्या समाधान कार्यदल गठन, महिनैपिच्छे रकम भुक्तानी दिने तयारी – Nepal Press

स्वास्थ्य बीमा समस्या समाधान कार्यदल गठन, महिनैपिच्छे रकम भुक्तानी दिने तयारी

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा स्वास्थ्य बीमा समस्या समाधान कार्यदल गठन भएको पाँच दिन भएको छ । तर, अझै कार्यदलको बैठक बस्न सकेको छैन ।

गत बिहीबार स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम मन्त्रालयका एक जना सहसचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल सदस्य रहेका छन् ।

कार्यदलका अध्यक्ष स्वास्थ्य राज्यमन्त्री केसीले पहिलो बैठकपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने निर्णय हुने बताए । उनले भने, ‘कार्यदल गठनमात्रै भएको छ । कार्यदलका सदस्यहरु व्यस्त भएर पहिलो नै बैठक बस्न सकिएको छैन । पहिलो बैठकमै कसरी अगाडि बढ्ने भनेर छलफल गर्नेछौं । बीमाका क्षेत्रमा भएका समस्यालाई समाधान गर्न गराउन नै कार्यदल निर्माण भएको हो ।’

सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानी नदिँदा अस्पतालहरुले थप बीमाबाट स्वास्थ्योपचार गर्न नसकिने बताउँदै आएका छन् । यता स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा सरकारको कार्यक्रम भएकाले बीमा भुक्तानी चाँडै हुने बताए ।

उनले भने, ‘स्वास्थ्य बीमा सरकारको कार्यक्रम हो । यो कार्यक्रमलाई सरकारले अझ राम्रो बनाएर अगाडि लैजान्छ । स्वास्थ्य बीमा कसरी राम्रो बनाउन सकिन्छ भनेर नै स्वास्थ्य राज्यमन्त्रीको अध्यक्षतामा कार्यदल गठन गरेर अध्ययन सुरु भएको छ ।’

उनका अनुसार सर्वसाधारणले स्वास्थ्य बीमाको भुक्तानीको विषयमा कुनै चिन्ता गर्नुपर्दैन । सरकारले त्यसमा काम गरिरहेको छ ।

गठित कार्यदलले स्वास्थ्य बीमाको कार्यक्रमको अवस्था, चुनौती तथा स्वास्थ्य बीमा कार्यक्रममा विद्यमान समस्या समाधानका बारेमा तीन साताभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

सरकारले स्वास्थ्य बीमाको साढे ५ अर्ब रुपैयाँ अस्पतालहरुलाई भुक्तानी दिन बाँकी छ । जसले गर्दा स्वास्थ्य बीमा गरेका व्यक्तिहरु समस्यामा छन् । आफ्नै उपचारको लागि गरिएको स्वास्थ्य बीमाको भुक्तानी रोकिएपछि सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

के भन्छ स्वास्थ्य बीमा बोर्ड ?

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको रकम दाबी भुक्तानीको क्रममा रहेको बताए । उनले भने, ‘अहिलेसम्म स्वास्थ्य बीमामा ५९ लाख मान्छे जोडिएका छन् । २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरु भएको स्वास्थ्य बीमाले २१ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ ।’

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै ९ अर्ब ५२ लाख स्वास्थ्य बीमा रकम भुक्तानी गरिएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षकै करिब साढे ५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

बोर्डले भुक्तानी हुन बाँकी साढे ५ अर्बको फाइल अध्ययन गरिरहेको जनाएको छ । अब दुई पटक रकम भुक्तानी गर्दा सबै स्वास्थ्य बीमामा परेको दाबी भुक्तानी हुने कार्यकारी निर्देशक बसौलाले बताए ।

उनले बजारमा हल्ला भए जस्तो स्वास्थ्य बीमाको भुक्तानी दिन समस्या नभएको दाबी गरे । ‘दाबीमा आएका फाइलहरु अध्ययन गर्दा केही ढिला भएको हो’, उनले भने, ‘अब बोर्डले प्रत्येक महिना नै रकम भुक्तानी दिने व्यवस्था गर्ने तयारी छ ।’

बीमा बोर्ड स्वायत्त नभएको र आफ्नै कर्मचारी नभएकाले भुक्तानीमा केही ढिलाइ भएको बसौलाले बताए । अहिले स्वास्थ्य मन्त्रालयबाट काजमा कर्मचारी ल्याएर बोर्डले बीमा दाबी भुक्तानी गरिरहेको छ ।

नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा स्वास्थ्य बीमा सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर