मेस्सी र रोनाल्डोलाई ओझेलमा पारिरहेका लेवान्डोस्कीले किन बार्सिलोना रोजे ? – Nepal Press

मेस्सी र रोनाल्डोलाई ओझेलमा पारिरहेका लेवान्डोस्कीले किन बार्सिलोना रोजे ?

लन्डन । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की विश्व क्लब फुटबलमा पछिल्ला वर्षका सर्वाधिक सफल खेलाडी हुन् । उनले फिफा वर्ष खेलाडी अवार्डका पछिल्ला दुई संस्करण जितेका छन् ।

युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिने युरोपियन गोल्डेन बुटका पछिल्ला दुई संस्करण पनि लेवान्डोस्कीले जितेका छन् ।

गत वर्ष उनले पहिलोपटक दिइएको बेलोन डीअर स्ट्राइकर अफ दी इयर अवार्ड पनि जितेका थिए । यी सबै सफलता लेवान्डोस्कीले बुन्डेस लिगा क्लब बायर्न म्युनिखमा रहँदा हात पारेका हुन् । वायर्नमा ८ सिजन खेलेर यसै वर्ष उनी स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन् ।

बार्सिलोनाले कुनै समय विश्व क्लब फुटबलमा दबदबा बनाए पनि पछिल्ला वर्षहरुमा उसले तेज गुमाइरहेको छ । सन् २०२१ मा लियोनल मेस्सीले छाडेपछि बार्सिलोनाको भविस्यलाई लिएर चिन्ता बढिरहेको थियो ।

तर पूर्व खेलाडी जाभीलाई प्रशिक्षणको जिम्मा दिएपछि बार्सिलोना यतिबेला पु्रानै लयमा फर्कने प्रयासमा देखिन्छ । जाबी, इनियस्टा, मेस्सीसहितको बार्सिलोनाले सन् २००८ देखि २०१२ सम्म तहल्कै मच्चाएको थियो ।

ती सफलतामा छुटाउनै नहुने नाम थिए प्रशिक्षक पेप गार्डिओला पनि । बार्सिलोनाकै पूर्व खेलाडी गार्डिओलाले सन् २००८ मा ला लिगामा प्रशिक्षण सम्हालेका थिए । जाभी र इनियस्टाको सन्याशपछि मेस्सी, लु्इस स्वारेज र नेमारको दबदबा बार्सिलोनामा देखिएको थियो ।

तर अहिले यी कोहीमा बार्सिलोनामा छैनन्, खेलाडीका रुपमा। ३३ वर्षीय लेवान्डोस्कीले आफू बार्सिलोनामा आउनुमा प्रमुख कारण गार्डिओलालाई मानेका छन् । बार्सिलोना छाडेर बायर्नमा पुगेका गार्डिओलाको प्रशिक्षणमा लेवान्डोस्कीले पनि खेलेका थिए । गार्डिओलाको टिम व्यवस्थापन, खेलाउने र केयर गर्ने शैलीकै कारण आफु बार्सिलोना आईपुगेको बताएका छन् ।

जाभी, गार्डिओलासँग धेरै हदसम्म मिल्दाजुल्दा छन् । उनीहरुले सँगै काम पनि गरेका छन् । उनीहरु फुटबललाई एकै तरिकाले सोच्छन् । त्यसैले बार्सिलोना मेरा लागि एकमात्र विकल्प थियो । हुन त बार्सिलोनामा आबद्ध हुनुअघि मैले गार्डिओलासँग कुराकानी गरेको थिइन् । तर गार्डिओलाको प्रशिक्षणमा बायर्नमा खेल्नु नै मेरा लागि बार्सिलोना आउने तयारी थियो, डियारियो स्पोर्टसँग कुरा गर्दै लेवान्डोस्कीले भनेका छन् ।

लेवान्डोस्कीले आफु बार्सिलोनामा आउनुमा श्रीमतीको भूमिका समेत महत्वपूर्ण भएको बताएका छन् । ‘हामीले सँगसँगै निर्णय गर्नुपर्छ। हामीले यो सम्भावनाबारे धेरै पहिलादेखि कुराकानी गरिरहेका थियौँ । हामीले नयाँ अध्यायका लागि आफूलाई कहिल्यै बन्द गरेनौँ । हामी नयाँ चुनौती चाहन्थ्यौँ’, लेवान्डोस्की भन्छन् । लेवान्डोस्की बायर्न म्युनिखमा रहँदा उनले कहिल्यै घरेलु उपाधि गुमाउनु परेन ।

लगातार ८ सिजन बुन्डेस लिगा जितेका लेवान्डोस्कीले एकएक पटक युरोपियन च्याम्पियन्स लिग, युरोपियन सुपर कप र फिफा क्लब विश्वकप पनि उपाधि जितेका थिए ।

उनी बुन्डेस लिगाको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए । बार्सिलोनाले भने सन् २०१८/१९ यता घरेलु लिगको उपाधि जित्न सकेको छैन । यस्तै सन् २०१४/१५ देखि युरोपियन च्याम्पियन्स लिग पनि हात पारेको छैन ।

स्पेनिस फुटबलमा रियल म्याड्रिड–बार्सिलोना भिडन्त ’एल क्लासिको’को विशेष चर्चा हुने गर्छ। मेस्सी–रोनाल्डो कालमा एल क्लासिकोको उचाई बेग्लै थियो । तर अहिले त्यसको क्रेज घटेको छ । बार्सिलोनाको चिरप्रतिद्वन्द्वी मानिने रियल म्याड्रिड पछिल्ला वर्षहरुमा स्पेनिस फुटबलमा दबाब बढाइरहेको छ ।

ला लिगाका पछिल्ला तीन संस्करणमध्ये दुई संस्करण रियल म्याड्रिडले जितेको छ भने गत सिजन युरोपियन च्याम्पियन्स लिग पनि जितेको थियो । बार्सिलोनाले सन् २००८ देखि २०१९ सम्म ८ पटक ला लिगा उपाधि जितेको थियो ।

रोनाल्डोले छाडेयता करिम बेन्जेमा रियल म्याड्रिडका नयाँ स्टार स्ट्राइकर बनेका देखिएका छन् । बार्सिलोनामा भने मेस्सीको विरासत थाम्ने कुनै खेलाडी देखिएका छैनन् । पछिल्लो समय उच्च लयमा रहेकाले लेवान्डोस्कीले त्यो भुमिका निर्वाह गरुन् भन्ने बार्सिलोना चाहन्छ ।

‘हामी सबैलाई थाहा छ, व्यवसायिक खेलाडीको समय कति चाँडो बित्छ । हामी केही नयाँ र केही भव्य गर्न चाहन्छौँ । यो हैन की यो रातारातमै प्राप्त हुन्छ । त्यसका लागि परिपक्व हुनुपर्छ’, लेवान्डोस्की भन्छन् ।

चार वर्षका लागि बार्सामा आबद्ध भएका लेवान्डोस्कीका लागि अबका दिनमा युवा खेलाडीहरु अंशु फाती, पेड्री, फेरान टोरेस, रफिन्हा, एरिक गार्सिया, फ्रान्क डी योङ सहयात्री हुनेछन् । बार्सिलोनाले ला लिगाको यो सिजन यात्रा शनिबारदेखि सुरु गर्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर