देउवाको गृह प्रदेशमा भागबण्डा पेचिलो : सीट संख्या १६, दाबी २१ – Nepal Press
निर्वाचन-२०७९

देउवाको गृह प्रदेशमा भागबण्डा पेचिलो : सीट संख्या १६, दाबी २१

कहाँ कसको सम्भावना ?

कैलाली । मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दाबी, सम्भावित जोडघटाउको चर्चाले यतिखेर नेपाली राजनीति तातेको छ ।

एमालेविरुद्ध तालमेलको लिखित सहमति गरेका दलहरू भागबण्डाका लागि कार्यदल बनाएर गृहकार्यमा छन् । आ-आफ्नो सीट सुरक्षित गर्न प्रदेश कमिटीहरूले केन्द्रमा दाबीका क्षेत्र पनि नेताहरूलाई सुनाइरहेका छन् ।

सुदूरपश्चिममा १६ वटा संघीय निर्वान क्षेत्र छन् । तीमध्ये २०७४ को चुनावमा सबैभन्दा बढी नेकपा एमालेले ११ सीट जितेको थियो । माओवादीले ३ सीट जितेको थियो भने कांग्रेस र जसपा १/१ क्षेत्रमा विजयी भएको थियो ।

कैलालीका पाँच निर्वाचन क्षेत्र मध्ये २ र ५ निर्वाचन क्षेत्रमा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार विजयी भएका थिए । कञ्चनपुरको २ र ३ मा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । पहाडी जिल्लामा डडेल्धुराबाहेकका सबै जिल्लामा एमाले विजयी भएको थियो । डडेल्धुरामा कांग्रेस विजयी हुँदा कैलाली क्षेत्र नम्बर १ मा राजपाको तर्फबाट रेशम चौधरी निर्वाचित भएका थिए ।

कैलालीका ३ र ४ कञ्चनपुरको १ मा माओवादी उम्मेदवार विजयी भएका थिए । अघिल्लो प्रतिनिधिसभामा एमाले सबै भन्दा ठूलो दल भएको थियो । तर, वैशाख ३० गतेको स्थानीय तहमा भने प्रमुख र उपप्रमुखमा एमाले दोस्रो स्थानमा पुगेको छ ।

अघिल्लो संसदीय निर्वाचन परिणामले हैसियतको एमाले वैशाख ३० गतेको निर्वाचनले हच्किएको छ । अहिले पुरानो परिणामलाई विश्लेषण गर्दा गठबन्धनमा रहेको तीन दलहरू सुरक्षित स्थलको खोजी गरिरहेका छन् ।

कुन दलको रोजाइमा कुन क्षेत्र ?

प्रदेशका १६ प्रतिनिधिसभा क्षेत्रमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले आ-आफ्नो दाबीसहित आन्तरिक छलफल थालेका छन् । यहाँ कांग्रेसले १० क्षेत्रमा दाबी गर्ने भएको छ ।

कैलालीको १, २, ४ र ५ नेपाली कांग्रेसको रोजाइमा छ । माओवादी केन्द्रको रोजाइमा कैलालीको २ र ३ नम्बर क्षेत्र परेको छ । नेकपा एकीकृत समाजवादीले भने कैलालीको क्षेत्र नम्बर ४ मा दाबी पेस गरेको छ । कञ्चनपुरको २ नम्बर क्षेत्र र ३ नम्बर क्षेत्र कांग्रेसको रोजाइमा छ । १ नम्बर क्षेत्र भने माओवादी केन्द्रले दाबी गरेको छ ।

एउटा प्रतिनिधिसभा रहेको डोटीमा तीनै दलको दाबी छ ।

डडेल्धुरा कांग्रेसको रोजाइमा छ । अछामको दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादी र २ नम्बर क्षेत्र माओवादी केन्द्रको रोजाइमा छ । बैतडीमा कांग्रेस र माओवादी दुवैले दाबी गरेका छन् । बझाङमा पनि कांग्रेस र माओवादी दुवैको दाबी छ । दार्चुलाको एक क्षेत्रमा कांग्रेसले नै पाउने सम्भावना रहेको नेताहरूको भनाइ छ । बाजुरामा कांग्रेसले दाबी गरेको छ ।

कुन क्षेत्रमा कसको सम्भावना बढी

कैलाली

कैलाली १ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति बलियो अवस्थामा देखिएको छ । २०७४ सालको प्रतिनिधि सभामा रेशम चौधरी विजयी भएका थिए । अहिले स्थानीय तहको निर्वाचनमा पनि रेशम चौधरीको पार्टीले कैलालीका ४ पालिकामा प्रमुख र ३ मा उपप्रमुख जितेको थियो । अहिले गठबन्धनले नागरिक उन्मुक्ति पार्टीलाई अवरोध गर्ने गरी तयारी थालेको जनाएको छ ।

यहाँ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीको सम्भावना बढी देखिएको छ । उनीबाहेक डा. रणबहादुर रावल, जनक चौधरी र बुद्धिसागर चौधरीले पनि दाबी गरेका छन् ।

क्षेत्र नम्बर २ मा कांग्रेस र माओवादी दुवैको दाबी छ । कांग्रेसबाट मोहनसिंह राठौर र कमल शाहको दाबी छ । चुनावको मुखमा एमाले परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरी चुनावी मैदानमा उत्रेका राठौरले २३ हजार ३१३ मत प्राप्त गर्दा एमालेका तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य झपट रावलले २५ हजार १५७ मत प्राप्त गरेका थिए ।

एमाले छाडेर एमालेसँगै १ हजार ८४४ मतले पराजित भएका राठौर यस पटक गठबन्धनबाट उम्मेदवार बन्ने सम्भावना बढी देखिएको छ ।
यहाँ माओवादीको तर्फबाट भगत बडूवालको चर्चा छ । उनी पहिलो संविधानसभा सदस्य हुन् ।

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको सशक्त दाबी देखिएको छ । अघिल्लो प्रतिनिधिसभामा पनि बाम गठबन्धनको तर्फबाट माओवादीका गौरीशङ्कर चौधरी विजयी भएका थिए ।

उनले कांग्रेसका रामजनम चौधरीलाई ४ हजार ४ सय मतान्तरले पराजित गरे । पाँचपटक सम्म लगातार सांसद भएका रामजनमको अपराजित यात्रालाई २०७४ मा गौरीशङ्करले ब्रेक लगाइदिएका थिए ।

रामजनम ०४८, २०५१ र ०५६ प्रत्यक्ष ०६४ समानुपातिक २०७० फेरि प्रत्यक्षबाट सांसद भएका थिए । माओवादीबाट विजयी भएका चौधरी अहिले एमालेमा छन् ।

यहाँ अहिले माओवादीबाट वीरमान चौधरी र कृष्ण चौधरी ‘कुन्दन’ चर्चामा छन् । बिरमान अहिले प्रदेशसभा सदस्य हुन् भने कृष्ण पहिलो संविधानसभा सदस्य हुन् ।

यहाँ कांग्रेसका तर्फबाट खेम चौधरी र भीम बडूवालले दाबी गरेका छन् । उनीहरु दुवै अहिले जिल्ला कार्य समितिका उपसभापति हुन् । तर, यहाँ माओवादीको सम्भावना बढी छ ।

कैलाली क्षेत्र नम्बर ४ मा अघिल्लो पटक माओवादीको तर्फबाट लेखराज भट्ट विजयी भएका थिए । उनी अहिले एमाले प्रदेश इन्चार्ज छन् । अहिले यो क्षेत्रमा नेपाली काँग्रेसले गठबन्धनको तर्फबाट दाबी गरेको छ । २०७४ सालमा भट्टसँगै १० हजार ३ सय ९९ मतान्तरले पराजित भएका कांग्रेसका सुनिल भण्डारीले यस पटक पनि दाबी गरेका छन् । उनीसँगै कांग्रेसका नैनसिंह महरको पनि चर्चा सुनिएको छ ।

क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट दीर्घ सोडारीको पनि नाम चर्चामा छ । उनी अहिले नेकपा एसको सुदूरपश्चिममा संसदीय दलका नेता हुन् । अघिल्लो पटक नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित भएका उनीले यस पटक नेकपा एकीकृत समाजवादीको तर्फबाट दाबी गरेका छन् ।

कैलाली क्षेत्र नम्बर ५ मा गठबन्धनको तर्फबाट कांग्रेसले दाबी गरेको छ । यहाँ कांग्रेसबाट यस पटक पनि प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको चर्चा छ । अघिल्लो पटक उनी एमालेका नारदमुनि रानासँग झन्डै पाँच हजार मतले पराजित भएकी थिइन् ।

कञ्चनपुर

कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका दाबी छ । यहाँबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी विना मगर पुन चुनावी मैदानमा उत्रिने तयारी गरेकी छन् । अघिल्लो पटक यहाँ कांग्रेसका देवानसिंह विष्टसँग बिना मगर दोब्बर मतले विजयी भएकी थिइन् ।

मगरले ३८ हजार ४ सय ६७ मत प्राप्त गर्दा विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए । २०७० सालमा भने विस्टसँग मगर पराजित भएकी थिइन् ।

कञ्चनपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले दाबी गरेका छ । यहाँ कांग्रेसको तर्फबाट एनपी साउद उम्मेदवार बन्ने बन्ने देखिएको छ । अघिल्लो पल्ट यहाँ एमाले उम्मेदवार नर बहादुर धामीसँग चन्द ८ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । धामीले ३३ हजार ३२० मत प्राप्त गर्दा साउदले २४ हजार ८९३ मत प्राप्त गरेका थिए ।

कञ्चनपुर ३ मा यस पटक पनि रमेश लेखकको चर्चा चलिरहेको छ । उनी अघिल्लो पल्ट एमालेका उम्मेदवार डा. दीपकप्रकाश भट्टसँग २५८ मतले पराजित भएका थिए । भट्टले २६ हजार ३ सय ६४ मत प्राप्त गर्दा लेखकले २६ हजार १ सय ६ मत पाएका थिए ।

अहिले कञ्चनपुरमा कांग्रेसको गढ यही क्षेत्रलाई मानिएको छ । यहाँबाट प्रधानमन्त्री देउवा वा उनकी पत्नी आरजु राणा देउवाको पनि चर्चा छ ।

डोटी

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी पेचिलो डोटी जिल्लामा देखिएको छ । यहाँ कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् । कांग्रेसको तर्फबाट प्रदेश सभापति वीर बहादुर बलायरको दाबी छ ।

उनीबाहेक नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रेम आलेको पनि दाबी छ । माओवादीको तर्फबाट हालका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि दाबी गरेका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा आलेले बलायरलाई एक हजार ६ सय ३२ ले पराजित गरेका थिए । अहिले दुबै टिकटका लागि शक्ति केन्द्र धाइरहेका छन् ।
कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई दुई हजार पाँच सय ९२ मतले हराएर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका भट्टको पनि अहिले प्रतिनिधि सभामा चर्चा छ । हाइ प्रोफाइलका तीनै जनाले एकै क्षेत्रमा दाबी गर्दा गठबन्धनका दलहरूलाई सकस हुने देखिएको छ ।

डडेल्धुरा

डडेल्धुरामा अहिले पनि कांग्रेसले दाबी गरेको छ । कांग्रेसको तर्फबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा यहाँबाट लड्ने देखिएको छ । प्रधानमन्त्री २०४८ साल यता अपराजित नेता हुन् । उनी २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी भइसकेका छन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता खगराज भट्टलाई देउवाले ६ हजार ९ सय २९ मतले पराजित गरेका थिए । जितका देउवाले डबल ह्याट्रिक गर्दा भट्टले पराजयमा ह्याट्रिक गरेका थिए । भट्टले देउवासँग पहिलो संविधान सभा दोस्रो संविधान सभा र प्रतिनिधि सभामा हालेका हुन् । अहिले भट्ट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज छन्। उनले पनि एक संघीय क्षेत्र माग गरेका छन् ।

बझाङ

बझाङमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । यहाँ नेकपा एकीकृत समाजवादीको तर्फबाट भानुभक्त जोशी चुनाव लड्ने योजना बनाएका छन् । जोशी एमालेको तर्फबाट २०६४ सालको संविधान सभा सदस्य हुन् । हाल जोशी नेकपा एकीकृत समाजवादीमा छन् ।
यहाँ नेपाली कांग्रेसले पनि दाबी गरेको छ । नेपाली कांग्रेसको तर्फबाट पृथ्वीबहादुर सिंह र अर्जुन जङ्ग बहादुर सिंहको पनि चर्चामा छन् । अघिल्लो पटक प्रतिनिधि सभामा एमालेका भैरव बहादुर सिंहका प्रतिस्पर्धा गरेका कांग्रेसका पृथ्वी बहादुर सिंह ७ हजार ७०२ मतले पराजित भएका थिए ।

अछाम

अछामको दुई क्षेत्र मध्ये १ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट शेरबहादुर कुवरको चर्चा छ । उनी अहिले श्रम तथा रोजगार मन्त्री छन् । २०६४ सालमा एमालेको तर्फबाट संविधान सभामा निर्वाचित भएका कुवर निवर्तमान राष्ट्रिय सभा सदस्य हुन् । यस क्षेत्रबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार भीम रावल निर्वाचित भएका थिए । उनले कांग्रेसका भरतकुमार स्वारलाई ७ हजार १६४ मतले पराजित गरेका थिए ।

अछामको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले दाबी गरेको छ । अघिल्लो प्रतिनिधि सभामा यहाँ एमालेका उम्मेदवार यज्ञ बोगटी निर्वाचित भएका थिए । अहिले यहाँ माओवादीको तर्फबाट पहिलो संविधानसभामा निर्वाचित शरदसिंह भण्डारीको सम्भावना बढि देखिएको छ । उनीसँगै जानकी साउद र रामप्रसाद तिमिल्सेना पनि लबिङमा छन् ।

दार्चुला

कांग्रेसका विक्रमसिंह धामीलाई ६७६५ मत अन्तरले पराजित गर्दै एमालेका गणेश ठगुन्ना निर्वाचित भएको क्षेत्रमा अहिले गठबन्धनको तर्फबाट कांग्रेसका दिलेन्द्र प्रसाद बडू होमिने तयारी गरेका छन् ।

उनी अघिल्लो पटक समानुपातिक मार्फत सांसद भएर हाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री भएका बडू अहिले प्रत्यक्ष निर्वाचन मार्फत सांसद बन्ने तयारी थालेका हुन् ।

बाजुरा

बाजुरामा अहिले गठबन्धनको तर्फबाट कांग्रेसका बद्री पाण्डे र कविराज पण्डितको नाम चर्चामा छ । अघिल्लोपटक एमालेका लाल बहादुर थापा ४ हजार ८ सय ८४ को मतान्तरले विजयी भएका थिए । उनीसँग कांग्रेसका कविराज पण्डित पराजित भए । पण्डित फेरी उम्मेदवार बन्ने दाउमा छन् । पाण्डे पनि प्रतिनिधि सभाको दौडमा रहेको बुझिएको छ ।

बैतडी

बैतडीमा गठबन्धनबाट माओवादी र नेपाली कांग्रेस दुवैको दाबी छ । यहाँ माओवादीबाट नरेन्द्र कुवर र नेपाली कांग्रेसबाट चतुर बहादुर चन्दको नाम चर्चामा छन् । चन्द प्रधानमन्त्री तथा पार्टी सभापति इतर मानिन्छन् । देउवा इतर भएका कारण उनको सम्भावना कम रहेको पनि बताइन्छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्ष रहेका चन्द कांग्रेस बैतडीका सभापति पनि हुन् । यता अघिल्लो पल्ट एमालेका दामोदर भण्डारीसँग पराजित भएका नरबहादुर चन्दको पनि प्रतिनिधिसभामा चर्चा छ ।

सीट बाँडफाँटमा के भन्छन् नेता

सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधि सभाको सिट बाँडफाँडमा गर्न गठबन्धनमा सहज छैन । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा ८८ स्थानीय तह मध्ये ४० स्थानीय तहमा प्रमुख जितेको कांग्रेस अहिले धेरै सिट आफै राखेर थोरै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई तिने मनसायमा देखिन्छ । प्रदेशमा कांग्रेसले ४० पालिका जित्दा एमालेले २६,माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले ४, नेकपा एकीकृतले र स्वतन्त्रले समान २/२ पालिका जितेका छन् ।

उपप्रमुख तर्फ पनि यहाँ कांग्रेस अगाडि छ । कांग्रेसका ४६, एमालेका २४, माओवादीका ११, नागरिक उन्मुक्तिका तीन, एकीकृत समाजवादीका तीन र एक स्वतन्त्र उम्मेदवारले उपप्रमुख जितेका छन् ।

स्थानीय तहको मत परिणामले अहिले नेपाली कांग्रेसले धेरै क्षेत्रका आफ्नो दाबी गरेको छ । १६ मध्ये १० निर्वाचन क्षेत्रमा दाबी गरेको कांग्रेस ६ क्षेत्रमा माओवादी र नेकपा एकीकृत समाजवादीलाई छाड्ने जनाएको छ ।

कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर भने गठबन्धनमा रहेका दलहरू मध्ये जुन दलले जहाँ जित्छन् ती दललाई त्यो क्षेत्र दिइने विषयमा छलफल भइरहेको बताए ।

उनले डोटी भने कांग्रेसले पाउने बताए । डोटी बलायरकै क्षेत्र हो ।

‘हाम्रो मतदाता यहाँ ३४ हजार छन् । ३ हजारले ३४ हजार जिताउन सक्ने कि ३४ हजारले ३ हजार’ उनले प्रश्न गरे ‘गठबन्धन कांग्रेस हराउन हो कि जिताउन ?’

यता माओवादीका नेता वीरमान चौधरीले सिट बाँडफाँडको बिषयमा गम्भीर छलफल हुन बाँकी रहेको बताउँछन् ।

‘अहिले हामी अन्तरिक तयारीमा छौँ कुन क्षेत्रमा कसले दाबी गर्ने विषयमा छलफल पुगेको छैन’ उनले भने ‘हामी हाम्रो आन्तरिक तयारी पछि यस बिषयमा प्रवेश गर्छौँ ।’

नेकपा एकीकृत समाजवादीका नेताहरू पनि अहिले आन्तरिक छलफलमा रहेको र गठबन्धनका दलहरूसँग यस बिषयमा छलफल नभएको बताउँछन् ।

‘हामीले प्रतिनिधि सभा तर्फ बझाङ, डोटी, अछाम १ र कैलाली ४ पाउनु पर्छ भन्ने हो , यस्ता अरू क्षेत्रहरूमा पनि हाम्रो दाबी छ’ नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव दिनेश सुवेदीले भने, ‘यस विषयमा गठबन्धनका दलहरूसँग छलफल हुन पाएको छैन ।’

केन्द्रीय गठबन्धनको कार्यदलले छलफल अघि बढाएपछि प्रदेशमा पनि यस विषयमा छलफल प्रारम्भ हुने उनको भनाइ छ । सत्ता गठबन्धनमा रहेको पाँच दलमध्ये सुदूरपश्चिम प्रदेशमा तीन दलीय तालमेल मात्रै हुने देखिएको छ । यहाँ केन्द्रमा गठबन्धनमा रहेको उपेन्द्र यादवको पार्टीलाई बाहिर राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर