गठबन्धनको बाँडफाँटबारे बालुवाटारमा कांग्रेसको छलफल, १६५ मध्ये ९९ सीट बटमलाइन ! – Nepal Press

गठबन्धनको बाँडफाँटबारे बालुवाटारमा कांग्रेसको छलफल, १६५ मध्ये ९९ सीट बटमलाइन !

काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले मंसिर ४ गतेको निर्वाचनका लागि हुन लागेको तालमेलमा १६५ सीटको बाँडफाँट कसरी गर्ने भन्नेबारेमा आन्तरिक छलफल थालेको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वपदाधिकारी तथा पधिकारीहरूको बैठक बोलाएका छन् । सोमबार प्रधानमन्त्री निवास भएको छलफलमा कार्यदलमा रहेका कांग्रेसका नेताहरू पनि सहभागी थिए ।

पूर्वपदाधिकारी तथा पदाधिकारीले प्रारम्भिक सल्लाह सुझाव दिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले कार्यदलमा रहेका पाँचै दलका सदस्यहरूसँग पनि छलफल हुने जानकारी दिए ।

आजै ३ बजे बस्ने कार्यदलको बैठकपछि पुनः छलफल हुने महतले बताए । पूर्वपदाधिकारी तथा पदाधिकारीहरूले गठबन्धनमा सीट बाँडफाँट गर्दा कांग्रेसले आफ्नो हैसियत भुल्न नहुने सुझाव दिएका छन् ।

स्रोतका अनुसार गठबन्धन गर्दा कांग्रेसले १०६ सीट जित्ने अवस्था रहे पनि सुरुमै ६०/४० को कुरा गरेर आफ्नो पोजिसन कमजोर पारेकोमा केही नेताले असन्तुष्टि जनाएका छन् । कांग्रेसले कम्तीमा ९९ सीट नछाडी ६६ सीटमा लोसपासहित समेटेर वृहत गठबन्धन बनाउन लागेको स्रोतले जनाएको छ ।

यद्यपि छलफल गर्दै जाँदा ९० सीटमा कांग्रेस लडेर ७५ सीट गठबन्धनका घटकहरूलाई दिनुपर्ने अवस्था आउन सक्नेबारे पनि छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर