बाइसाइकल किकबाट मेस्सीको गोल ! जब विपक्षी टीमका समर्थकले समेत गरे हुटिङ (भिडिओ) – Nepal Press

बाइसाइकल किकबाट मेस्सीको गोल ! जब विपक्षी टीमका समर्थकले समेत गरे हुटिङ (भिडिओ)

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले शनिबार राति आफ्नो फुटबल करिअरको अर्को एउटा स्मरणीय गोल गरेका छन् । उनले बाइसाइकल किकबाट गरेको आकर्षक गोलले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु टोली क्लेरमन्ट फुटविरुद्ध ५-० को सहज जीत निकाल्दा मेस्सीको खुट्टाबाट दुई गोल निस्केका थिए । त्यसमध्येको एउटा गोलमा विपक्षी टीमका समर्थकले समेत मेस्सीको नाममा हुटिङ गरे ।

साथीले हावामा पास दिएको बललाई छातीले रोकेर मेस्सीले बाइसाइकल किक हान्दै आफ्नो पछाडि रहेको गोलपोष्टमा छिराएका थिए । गोलकिपर हेरेको हेर्‍यै भए ।

लिग १ सिजनको पहिलो खेलमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएको थियो । नवौं मिनेटमा नेयमारले पहिलो गोल गरेर खाता खोलेपछि मध्यान्तरपूर्व अस्रफ हाकिमी र मर्किन्होसले पीएसजीका लागि एकएक गोल थपेका थिए ।

मध्यान्तरपछि खेलको उत्तरार्द्धतिर मेस्सीले दुई गोल थपे । उनले बाइसाइकल किकबाट गोल गर्दा स्टेडियमभित्र ‘मेस्सी…. मेस्सी…’ को नारा गुञ्जिएको थियो । क्लेयरमन्टका समर्थकहरुले समेत उठेर मेस्सीको समर्थनमा ताली बजाए । क्लेयरमन्टको अफिसियल ट्विटर एकाउन्टमा ‘ह्वाट अ गोल बाइ मेस्सी’ भन्दै भिडियो पोष्ट गरिएको थियो ।

खेलपछि पीएसजीका प्रमुख प्रशिक्षक क्रिस्टोफे गाल्टियरले भने, ‘मेस्सीसँग एकदमै तेजिलो दिमाग र स्पष्ट रणनीति छ । उनले आफूलाई कहाँ राख्ने भनेर छिट्टै थाहा पाउँछन् । आफू वरिपरि विपक्षी खेलाडीले घेरेको उनलाई मनपर्छ । जब मेस्सी मुस्काउँछन्, सिंगो टीम मुस्काउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर