बुटवलमा स्वतन्त्र पार्टीको प्रदेश भेला : नयाँ दललाई परीक्षण गर्न रवि लामिछानेको आग्रह (भिडिओ) – Nepal Press

बुटवलमा स्वतन्त्र पार्टीको प्रदेश भेला : नयाँ दललाई परीक्षण गर्न रवि लामिछानेको आग्रह (भिडिओ)

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विगतमा नेपाली जनतालाई ढाँटेर राजनीति गरेका दलका नेताहरूलाई अबको निर्वाचनमा मत नदिन आग्रह गरेका छन् । उनले नयाँ पार्टीलाई परीक्षण गरेर हेर्नका लागि माग गरेका छन् ।

सो पार्टीको शनिवार बुटवलमा आयोजित लुम्बिनी भेलालाई सम्बोधन गर्दै लामिछानेले अबको नयाँ पुस्तालाई देशको संवाहक बनाउन आफू राजनीतिमा आएको बताएका थिए ।

‘पुराना दलले के काम गरे मैले तपाईँहरूलाई भन्नुपर्दैन, ६÷६ जना पूर्व प्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गरी अब कसैले मतदान नगर्नुस्, पुराना दलका योजना हेर्नुहोस्, नेतृत्व हेर्नुहोस्, कार्यशैली हेर्नुहोस्’, उनले भने ।

लामिछानेले अब यस्ता काम नगर्ने नेतृत्व र ठूला भनिएका पार्टीलाई चिन्ने बेला आएको बताए । ‘आफै पढेको त्रिचन्द्र कलेजको दुरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन्’ अध्यक्ष लामिछानेले प्रश्न गरे, ‘ठूला पार्टीहरूले तपाइहरूलाई झुक्क्याई मात्रै राखेका छन्, त्यसैले यस पटक त्यस्ता झुटको पछि नलाग्नुस्, अब गल्ती गरेर देशलाई थप कमजोर बनाउनतिर नलाग्नुस् ।’

लामिछानेले ठूला भनिएका पार्टीले अब आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता समेत नभएको बताए । ‘के गर्छौ र के दिन्छौँ भनेर भोट माग्छन् ? उनले भने– ‘थप झुक्क्याउनका लागि ठूला भनिएका दलहरूसँग नारा नै छैन ।’

उनले नेपाली मतदाता मासु भातमा बिक्छन् भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यस पटक तोड्नुपर्ने बताए । यसपालि चुनावका दिन एकादशी र आइतबार रविवार परेको प्रसंग उल्लेख गर्दै उनले मासु भातले समेत काम नगर्ने संकेत गरे ।

विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने माग गर्दै उनले २४ घण्टा नै नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने उनले वाचा गरे । उनले भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।

उनले अहिले पनि जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहेकाले आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । लामिछानेले अवसरका लागि यो समूहमा आउनुभएको भए अहिले नै बिदा हुन आग्रह गर्दै काम गर्नेका लागि मात्रै यो पार्टीमा ढोका खुला रहेको दाबी गरे ।

लामिछाने पार्टी गठन गरेर संगठन विस्तारमा हिँडेका हुन् । उद्घाटन सत्रपछि बस्ने बन्द सत्रले पार्टीका आगामी रणनीति, आगामी निर्वाचनका लागि सम्भावित उम्मेदवारको तय तथा प्रदेशको नेतृत्वका विषयमा योजना बनाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर