नेपाल हिमालय क्षेत्रको नेता बन्छ, ओलीको पालामा सुरुवात भइसकेको छ- डा. पौडेल – Nepal Press

नेपाल हिमालय क्षेत्रको नेता बन्छ, ओलीको पालामा सुरुवात भइसकेको छ- डा. पौडेल

काठमाडौं । भूराजनीतिक अध्येता डा. दिनेश पौडेलले नेपालले हिमालय क्षेत्रको नेतृत्व लिनुपर्ने भन्दै केपी ओली प्रधानमन्त्री हुँदा थालिएको हिमालय क्षेत्रलाई समेट्ने अभियानलाई निरन्तरता दिइनुपर्ने बताएका छन् ।

नेपाल चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाको नर्थ क्यारोलिना युनिभर्सिटीमा प्राध्यापन गर्ने डा. पौडेलले अब नेपाल हिमालय क्षेत्रको नेता बन्नुपर्ने बताए ।

उनले भने, ‘तत्कालीन प्रधानमन्त्री (केपी ओली)ले कम्बोडिया, भियतनाम, म्यानमार जस्ता देशको भ्रमण गरेर हिमालयका साना देशसँगको भाइचारा सम्बन्ध बलियो बनाउनुपर्छ भन्ने सन्देश गयो । त्यो भ्रमणको उद्देश्य के थियो थाहा छैन । तर, हिमालय क्षेत्रका देशहरुलाई संगठित गर्ने ढंगले त्यसको नेतृत्व नेपालले गर्‍यो । त्यो हाम्रो प्रतिष्ठानको विषय हो । हामीले हिमालय क्षेत्रको विकासको अवधारणा अघि सार्नुपर्छ र नेपाल हिमालय क्षेत्रको सबैभन्दा ठूलो बसोबास भएको देश भएकाले नेतृत्व गर्नुपर्छ ।’

डा. पौडेलले काबुलदेखि हनोइसम्मको हिमालय क्षेत्रको कुरा नेपालले उठाउनुपर्ने बताए । उनले नाकाबन्दीको सामना, चीनसँगको पारवहन सम्झौतालगायतका कदमले नेपाल आफ्नो निर्णय आफैं गर्न सक्षम छ भन्ने मान्यता स्थापित भएकोमा अहिले फेरि भारत आश्रित गतिविधिहरु हुन थालेको टिप्पणी गरे ।

उनले राजनीतिक दाउपेचका लागि शक्तिकेन्द्र धाउने कुराको अन्त्य हुनुपर्ने बताए । नाकाबन्दी विनाशर्त फिर्ता गराउनु, भारतको असहमतिबीच संविधान जारी गर्नु र नेपालको नक्सामा लिम्पियाधुरासहितको भूभाग समेटिनु सामान्य घटनाक्रम नरहेको बताए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, प्राध्यापक खड्ग केसीलगायतले पौडेलको आवधारणामाथि टिप्पणी गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर