अर्थमन्त्री प्रकरणमा कांग्रेस उपसभापतिको माग- ढिला नगरौं, आजै छानबिन समिति बनाऔं – Nepal Press

अर्थमन्त्री प्रकरणमा कांग्रेस उपसभापतिको माग- ढिला नगरौं, आजै छानबिन समिति बनाऔं

सुर्खेत । नेपाली कांग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री प्रकरणमा मुख खोलेका छन् ।

उनले बजेट निर्माणबारे आम जनताको समेत चासो बनिसकेपछि यो विषयलाई संसदीय छानबिन समिति बनाएर टुंगो लगाउनुपर्ने बताएका छन् ।

आज बिहानै फेसबुकमा लेख्दै खड्काले विगतमा पनि संसदीय छानबिनको परम्परा रहेको स्मरण गरेका छन् ।

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसदको यस्तो परम्परा छ ’, खड्काले लेखेका छन् ।

उनले यो विषय निरुपणका लागि ढिला नगर्न भनेका छन् । ‘बरु ढिलो नगरौं संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ ’, उनको भनाइ छ ।

यसअघि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकै महामन्त्री गगन थापाले पनि अर्थमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए । करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सीसीटीभी फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्नेमा उनको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर