फर्डिनान्ड मार्कोस बने फिलिपिन्सका नयाँ राष्ट्रपति, पदच्युत भएको ३६ वर्षमा कसरी भयो पुनरागमन ? – Nepal Press

फर्डिनान्ड मार्कोस बने फिलिपिन्सका नयाँ राष्ट्रपति, पदच्युत भएको ३६ वर्षमा कसरी भयो पुनरागमन ?

काठमाडौं । फिलिपिन्सका नयाँ राष्ट्रपतिको रुपमा आज फर्डिनान्ड मार्कोस जुनियरले सपथग्रहण गरेका छन् । प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई ६० प्रतिशतभन्दा बढी मतान्तरले पराजित गरेका मार्कोस जुनियरको जीतले मार्कोस राजनीतिक वंशको रोचक पुनरागमनको सङ्केत गरेको छ ।

उनका पिताले सन् १९६५ देखि १९८६ सम्म फिलिपिन्सको नेतृत्व गरेका थिए । मानव अधिकार हनन र बढ्दो भ्रष्टाचारका कारण फिलिपिन्सका जनताले विद्रोह गरेपछि उनी पदच्युत भएका थिए । पदच्युतपछि उनको परिवार देश छोड्न बाध्य भएको थियो । सो समयमा मार्कोस जुनियर २८ वर्षका थिए ।

उनी सन् १९९१ मा मात्र फिलिपिन्स फर्केका थिए । सोही समयदेखि मार्कोस जुनियर सक्रिय राजनीतिमा छन् । झण्डै ३६ वर्षपछि माकोर्स जुनियर फिलिपिन्सको राष्ट्रपति बन्न सफल हुनुको पछाडि उनको सामाजिक सञ्जाल अभियानको मुख्य भूमिका रहेको बताइन्छ ।

बीबीसीको रिपोर्टअनुसार विशेष गरी तानाशाहलाई प्रत्यक्ष रूपमा अनुभव गर्न नपाएका युवा जमातमाझ उनी चर्चित छन् । उनले रोजगारी र मूल्यवृद्धिलाई मुख्य एजेण्डाको रुपमा अगाडि बढाउँदै आएका छन् ।

यस्तै निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टे जो फिलिपिन्सको नयाँ उपराष्ट्रपतिको रुपमा निर्वाचित भएकी छिन्, उनको समर्थनका कारण उत्तरी र दक्षिणी मिन्डानाओ टापुका राजनीतिक शक्तिहरुको संयोजन भएको र सोही कारण पनि मार्कोस जुनियरको जीत सम्भव भएको बताइन्छ ।

यता उनका आलोचकहरुले भने मार्कोसले आफ्नो सामाजिक सञ्जाल अभियानमा गलत जानकारीहरू प्रवाह गरेको र आफ्नो बुबाको शासनकालमा भएको अत्याचारबारे तथ्य लुकाएको आरोप लगाउँदै आएका छन् ।

देशमा बढ्दो मुद्रास्फीतिदर र ऋणका कारण प्रभावित अर्थतन्त्रको उत्तराधिकार रुपमा आएका मार्कोसको आगामी कार्यकाल निकै चुनौतीपूर्ण हुन सक्ने जानकारहरुले टिप्पणी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर