पूँजीवादको दाँत फुक्लिसक्यो, समाजवाद अनिवार्य आउँछ : झलनाथ खनाल – Nepal Press

पूँजीवादको दाँत फुक्लिसक्यो, समाजवाद अनिवार्य आउँछ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विश्वभर पूँजीवादको दाँत फुक्लिसकेको बताएका छन् ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै खनालले पूँजीवाद कमजोर भइसकेको बताएका हुन् । ‘ पूँजीवादको दाँत फुक्लिसकेको छ ।

पूँजीवाद बचाउन अमेरिकाजस्तो देशले विश्वका ८० वटा देशमा सैन्य क्याम्पहरू खोलेको छ । ती मेलिटरी कम्प्लेक्सकै कारण दुनियाँमा पूँजीवाद र पुँजीवादी लोकतन्त्र बचेको छ । त्यस कारण बुढो भइसकेको पुँजीवादको आयु लामो छैन’, खनालले भने ।

हरेक बिहान घाम लागेजस्तै समाजवाद आउने निश्चित भएको खनालको दाबी छ ।

‘जसरी भोलि घाम झुल्कनु अनिवार्य छ त्यसरी नै समाजवाद आउनु जरुरी छ । समाजवादलाई धरतीको कुनै तागतले रोक्न सक्दैन । न एटम बमले रोक्छ , न मिसाइलले रोक्छ’, उनले भने ।

नेपालमा समाजवाद आउन नसक्नुमा समाजवादी शक्तिबीच सहकार्य नहुनु रहेको खनालले बताए ।

‘हाम्रो देशमा समाजवाद आउँछ तर त्यसका लागि समाजवादीहरूको एकता चाहिन्छ । तर आफ्नै दुई तिहाइको सरकारलाई संविधानविरुद्ध प्रयोग गरेर, २ पटकसम्म संसद् भंग गर्ने कामले गर्दा घोर पुँजीवादी काम भयो’, खनालले भने ।

उनले अब मुलुकमा कुनै पनि प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने बताए ।

‘हामीले वाम लोकतान्त्रिक गठबन्धन गरेर संविधान बचायौँ । अब खड्गप्रसाद शर्मा ओलीजीले जस्तो कसैले पनि संसद् भंग गर्न सक्दैन । संसद् पुनर्स्थापित भए पनि उहाँले चल्न दिनुभएन तर स्थानीय चुनावपछि उहाँ शीतांग हुनुभयो । अब संसद् चलेको छ’,खनालले भने ।


प्रतिक्रिया

One thought on “पूँजीवादको दाँत फुक्लिसक्यो, समाजवाद अनिवार्य आउँछ : झलनाथ खनाल

  1. क. जेएन ले अझै समाजवादकाे सपना देखिराख्नु भएकाे छ । उहाँको पार्टी पूर्णरूपले कांग्रेसमा विलय भएपछि समाजवादमा पुग्नुहुन्छ हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर