राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आर्मी टिम च्याम्पियन (भिडिओ) – Nepal Press

राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आर्मी टिम च्याम्पियन (भिडिओ)

काठमाडौं । नेपाल आर्मी क्लब ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोस्रो भयो ।

तेस्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पार्‍यो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो ।

प्रहरीले ३ रजत र ४ कांस्य पनि हासिल गर्‍यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।

प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए । शिवराजले ३ स्वर्ण र १ रजत जिते ।

जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा गरिन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् । प्रतियोगितामा कुल ३ राष्ट्रिय कीर्तिमान बने ।

थप १ कीर्तिमान आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका थिए । जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र उत्ति नै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीन दिने प्रतियोगितामा २ सय ४० खेलाडीको सहभागिता रहेको संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर