मल खादको सहज आपूर्ति र महँगी नियन्त्रणको ज्ञापन पत्र बुझ्न मुख्यमन्त्रीले समय दिएनन् – Nepal Press

मल खादको सहज आपूर्ति र महँगी नियन्त्रणको ज्ञापन पत्र बुझ्न मुख्यमन्त्रीले समय दिएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशमा अहिले सम्म रासायनिक मलको सहज आपूर्ति हुन सकेको छैन । भारतीय सीमा क्षेत्र नजिक रहेका किसानहरूले भारतबाट अवैध रूपमा ल्याएको मलले खेती गरिरहेका छन् भने अन्य क्षेत्रमा पर्याप्त मल बिना नै खेती गर्न बाध्य छन् । त्यसैमाथि आकासे पानीका भरमा रहेका किसानहरू पानी नपरेपछि थप समस्यामा छन् ।

किसानका यी र यस्तै समस्या लिएर शुक्रवार अखिल नेपाल किसान महासंघको टोली सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए । तर, ज्ञापन पत्र बुझाउन गएको टोलीलाई मुख्यमन्त्रीले समय दिएनन् ।

‘अहिले किसानहरू निकै समस्यामा छन् । मुख्यमन्त्रीबाट ती समस्या समाधानको अपेक्षा गरेका थियौँ’ अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य तथा कैलाली जिल्ला इन्चार्ज डेजी पाण्डेयले भने, ‘यो विषयमा मुख्यमन्त्री गैर जिम्मेवार देखिनु भयो ।
किसानको समस्या समाधान गर्ने व्यक्तिले नै किसानको माग पत्र बुझ्न अस्वीकार गर्नु भएको छ । ’

आफूहरूले ज्ञापन पत्र बुझाउन सम्पर्क गर्दा पनि समय नदिएको उनको गुनासो थियो । यसै बिच इन्चार्ज पाण्डेयले सामाजिक सञ्जालमा पनि मुख्यमन्त्री भट्टको आलोचना गरेका छन् ।

‘मुख्यमन्त्री ज्यू पनि प्रदेशको १० प्रतिशत नगद वा २० प्रतिशत किस्ताबन्दीको कार्यक्रम मिलाउने चक्करमा व्यस्त हुनुहुन्छ होला । भो डिस्टर्व नगरौँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धिक्कार छ भुइँमान्छेले बुझेको यस्तो सरकारलाई ।’

मुख्यमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी मार्फत अखिल नेपाल किसान महासंघले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर