यति चाँडै डिजिटल भुक्तानीको विकास हुन्छ जस्तो लागेको थिएनः गभर्नर अधिकारी – Nepal Press

यति चाँडै डिजिटल भुक्तानीको विकास हुन्छ जस्तो लागेको थिएनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेसनको विकास उत्साहजनक देखिएको बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले कोरोना कालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको बताए ।

‘१/२ वर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज हुन्छ भनेर प्रश्न आउँथ्यो । तर, आजको कार्यक्रममा त्यस्तो प्रश्न आउने अवस्था छैन’, उनले भने, ‘पछिल्लो २ वर्षमा नेपालको अर्थतन्त्र व्यापक रुपमा डिजिटलाइज भयाे ।’

विशेषगरी भुक्तानी प्रणालीमा डिजिटलाइजेसनको व्यापाक रुपमा विकास भएको उनको भनाइ छ । ‘पहिला डोकोमा नोट बोकेरमा जिल्लामा पुर्‍याउनुपर्थ्याे । तर, अहिले त्यस्तो अवस्था छैन’, उनले भने, ‘कोरोनापछि भने भुक्तानी प्रणालीमा नयाँ मोड आएको छ । यसको लागि भिसा, मास्टर कार्ड, नेपालका प्रक्डट डेप्लपहरु, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक कम्पनीहरुको महत्वपूर्ण योगदान छ ।’

सरकारी सेवाको भुक्तानी ९० प्रतिशत बैंकमार्फत हुनु पनि आफैमा उपलब्धिमूलक रहेको उनको भनाइ छ । ‘मैले २०७७ पुस १० गते नक्सालको तरकारी बजारमा क्यूआर पेमन्ट सुविधाको उद्घाटन गरेको थिएँ । त्यसबेला छोटो समयमै नेपालीको भुक्तानी प्रणाली यो स्तरमा आउला भन्ने साेचेकाे थिएन’, उनले थपे, ‘आजको दिनसम्म आउँदा अधिकांश क्षेत्रमा अनलाइन भुक्तानीको सुविधा विस्तार भएको छ । म केही समयअघि हलेसी मन्दिरमा जाँदा बाटोमा कतै पनि नगद पैसा झिक्न परेन । मोबाइलबाटै पेमेन्ट गर्ने सुविधा थियो । यो नै डिजिटल भुक्तानीमा भएको ठूलो उपलब्धि हो ।’

नेपाललाई फुल्ली डिजिटलाइज तथा पेपरलेस बनाउन बाँकी नै रहेको उनले बताए । ‘हामी यतिमै सन्तुष्ट भएर बस्न हुँदैन । डिजिटल भुक्तानीदेखि सिंगो अर्थतन्त्रलाई अझ डिजिटलाइज बनाउन बाँकी नै छ । मोबाइल नचलाउने, इन्टरनेट नहुने ठाउँमा कसरी डिजिटल पेमेन्ट विस्तार गर्ने भनेर पनि सोच्नुपर्नेछ’, उनले भने, ‘डिजिटल करेन्सी ल्याउने विषयमै काम गर्न बाँकी छ । यसमा हामी अध्ययन पनि गरिरहेका छौं । अब बैंक क्षेत्रलाई पियाेरल्ली डिजिटलाइज गर्न पर्छ । निश्चित समयपछि बैंकको कार्यालय कहाँ छ भन्ने पनि थाहा नहोस् । सबै काम डिजिटल माध्यमबाटै हो ।’

यस्तै डिजिटलाइजेसनको विकास गर्न इको सिस्टममा आउने समस्यालाई पनि समाधान गर्न सकिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *