संविधानका अनुसूची र स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ गर्न जनप्रतिनिधिहरुलाई गगन थापाको सुझाव – Nepal Press

संविधानका अनुसूची र स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ गर्न जनप्रतिनिधिहरुलाई गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संविधानका धारा र स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्न बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ पारी सोही आधारमा काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका हुन् ।

संविधान र ऐनले दिएका अधिकारभन्दा बाहिर गएर काम नगर्न जनप्रतिनिधिहरुलाई सचेत गर्दै उनले भने, ‘यसअघि निर्वाचित कतिले संविधान र ऐनले दिएका अधिकार जान्न नपाउँदै कार्यकाल सकाए । कतिले संविधानले जे नगर भन्यो त्यहीं गरे, कतिले जे गर भन्यो त्यो गरेनन् ।’

महामन्त्री थापाले जनताले निर्वाचनमार्फत दिएको जिम्मेवारी इमानदारीपूर्वक पालना गर्न आग्रहसमेत गरे ।

तथ्य र प्रमाणको आधारमा नगर र वडाको विकास निर्माण गर्न जोड दिँदै उनले भने, ‘तथ्य, प्रमाण र तथ्यांकको आधारमा मात्रै स्रोतको विनियोजन गर्नुहोस् । अरुलाई डाहा र इर्ष्या लाग्ने नगरपालिका र वडा बनाउनुहोस् ।’

काठमाडौं महानगरपालिकालगायतका केही ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेकोतर्फ संकेत गर्दै संघीय सांसदसमेत रहेको थापाले मतदातामा रिस, आक्रोश र आलोचना रहेको बताए ।

‘मतदाताहरु रिसाएका छन् । उनीहरुभित्र आक्रोश रहेको छ । उनीहरुले परिवर्तन र परिणाम खोजिरहेका छन्’, उनले भने, ‘त्यसैले मतदाताहरुको आक्रोश बुझ्नुपर्छ । आलोचना बुझ्नुपर्छ । दोहोरिन चाहेका जनप्रतिनिधिहरुलाई लज्जाजकन पराजित गरेका घटनाबाट सिकौं ।’

उनले पार्टी पराजित भएको नगर र वडामा अबको पाँच वर्ष प्रतिपक्षमा रहेर निरन्तर जनताबीच नै काम गर्न आह्वान गरे ।
महामन्त्री थापाले स्थानीय तह निर्वाचनमा कांग्रेस सफल भएको भन्दै अब संघ र प्रदेश निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र केही प्रदेशमा पार्टी सरकारमा गएपछि अब कांग्रेस प्रश्न गर्ने नभई जिम्मेवारी लिने ठाउँमा रहेको उनको भनाइ थियो ।

‘दमननाथ ढुंगानालाई उम्मेदवार बनाउनु गल्ती भयो’

फरक प्रसंगमा महामन्त्री थापाले अघिल्लो संघीय निर्वाचनमा पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएर पार्टीबाट गल्ती कमजोरी भएको बताएका छन् ।

तर, अबको संघीय निर्वाचनमा उक्त गल्ती नदोहोरिने उनले वचन दिए । यसपालि भक्तपुरले जे चाहन्छ, त्यही हुने महामन्त्री थापाको भनाइ थियो ।

‘अघिल्लो निर्वाचनमा उम्मेदवार छनोटमा पार्टीबाट गल्ती कमजोरी भयो । अबको निर्वाचनमा त्यो गल्ती दोहोरिँदैन’, उनले भने, ‘अब भक्तपुरले जे चाहन्छ, तपाईंहरुले जे चाहनुहुन्छ त्यहीअनुसार उम्मेदवार चयन गर्छौं ।’

अघिल्लो संघीय निर्वाचनमा कांग्रेसले भक्तपुर क्षेत्र नं २ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो । कांग्रेस भक्तपुरको असहमतिबीच नै पार्टीले टिकट दिएका ढुंगाना नेकपा एमालेका महेश बस्नेतसँग भारी मतान्तरले पराजित भएका थिए । त्यसको असरले कांग्रेसले भक्तपुरको संघमा मात्रै होइन, प्रदेशमा समेत प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर