उपकप्तान गुमाएर दु:खी छैनन् सीता, क्यानसँग यत्ति छ गुनासो – Nepal Press

उपकप्तान गुमाएर दु:खी छैनन् सीता, क्यानसँग यत्ति छ गुनासो

काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी सफल खेलाडी सीता राना मगरलाई अनायास उपकप्तानबाट हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले केही दिनअघि इन्दु वर्मालाई नयाँ उपकप्तान नियुक्त गर्‍यो । नेपालको पहिलो ब्याचकी खेलाडी सीता आफ्नो जिम्मेवारी खोसिँदा यूएईमा फेयरब्रेक इभिटेस्नल क्रिकेट प्रतियोगिता खेलिरहेकी थिइन् । उनी सम्मेलित टीम टोर्नान्डोज फेयरब्रेकको च्याम्पियन नै बन्यो ।

टीम च्याम्पियन बन्दा सीताको व्यक्तिगत प्रदर्शन पनि सन्तोषजनक थियो । उनले सात खेल खेल्दै चार विकेट लिएकी थिइन् भने एक खेलमा अविजित १८ रन बनाएकी थिइन् । त्यहाँ, उनले पहिलोपटक पाएको मौकाको राम्रोसँग सदुपयोग गरिन् । तर, यता घरेलु मैदानमा पहिलोपटक आयोजना भएको महिला अन्तर्राष्ट्रिय टी-२० प्रतियोगिताअघि उनलाई खबरै नगरी उपकप्तानी खोसियो ।

नेपालले युगान्डासँग खेलेको पहिलो खेलमा उनी यूएईबाट नेपाल आईपुगेकी थिइनन् । तर, दोस्रो खेलमा भने उनी टिममा सामेल भइन् ।

आफूलाई उपकप्तानबाट हटाइएको विषयमा सीताले युगान्डाविरुद्धका खेलपछि प्रतिक्रिया दिइन् । क्यानले गरेको निर्णयलाई आफूले सम्मान गर्ने भन्दै उनले अझ कप्तान पनि परिवर्तन गरे राम्रो हुने बताइन् ।

सीताको भनाइ यस्तो थियोः

‘क्यानले राम्रै सोच्नुभएको होला । भविष्यका लागि युवा खेलाडी ‘ग्रुप’ गर्न यो सबै गर्नु भएको होला । तर, अर्को एकजना युवा खेलाडीलाई कप्तानी दिएर कप्तान, उपकप्तान दुवैलाई सँगै ग्रुम गरेको भए सुनमा सुगन्ध जस्तै हुन्थ्यो । किनभने यो घरेलु मैदानमा खेलेको खेल हो । मलाई चाहीँ पछिका लागि अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ ।’

आफू फेयरब्रेकको फाइनल खेल्न हिँडेका बेला उपकप्तानबाट हटाइएको विषयमा क्यानबाट आधिकारिक जानकारी नपाएकोमा भने उनी दु:खी छिन् । मिडिया र तेस्रो व्यक्तिबाट आफूले यो खबर सुनेको उनले बताइन् ।

उनी भन्छिन्, ‘म फेयरब्रेकमा फाइनल खेल खेल्न गइरहेको थिएँ । त्यतिबेला मैले पनि तेस्रो व्यक्तिबाट थाहा पाएको हो । क्यानले मलाई मिडियामा आएको भोलिपल्ट मात्रै जानकारी दियो । त्यसमा चाहीँ अत्यन्तै दु:ख लागेको थियो । यदि खेलाडीबाट प्रोफेस्नालिजम खोज्ने हो भने संस्थाबाट पनि प्रोफेस्नालिजम आउनुपर्छ ।’

नेपाली घरेलु क्रिकेट प्रतियोगिताको सर्वाधिक सफल टीम हो एपीएफ क्लब । सीता एपीएफकी कप्तान हुन् । यत्तिका वर्ष राष्ट्रिय टिमको उपकप्तान भएपछि टीमको नेतृत्व गर्ने चाहना उनमा पक्कै थियो । तर, उपकप्तानबाट समेत हठात हटाइँदा क्यानले आफ्नो योगदानको कदर नगरेको अनुभूति उनलाई पक्कै भएको छ ।

‘पहिलो ब्याचदेखिको खेलाडी भएकाले मलाई कप्तानको दाबेदार थिएँ जस्तो लाग्छ । तर, मलाई क्यानले कप्तान बनाउँछ, नेतृत्व दिन्छ भनेर कहिले आशा चाहिँ थिएन । म भन्दा शक्तिशाली अरु नै भएपछि, क्यान नै शक्तिशाली भएपछि उहाँहरुको निर्णयलाई मले स्वीकार्नै पर्छ । त्यसैले म खुसी छु ।’

घरेलु प्रतियोगितामा एपीएफ टीमलाई नेतृत्व गरेर राम्रो नतिजा पनि दिइरहेको भन्दै उनले थपिन्, ‘कमसेकम एपीएफमा मेरो कदर भएको छ । कमसेकम त्यहाँ मेरो पद सुरक्षित छ ।’

यसअघिका प्रतियोगितामा पनि क्यानले को उपकप्तान भनेर स्पष्ट नपारेको र आफुले सँधै आफुलाई एक सिनियर खेलाडी ठानेर खेल्ने गरेको सीताको गुनासो छ ।

‘योभन्दा अगाडि विश्वकप छनोट खेल्न जाँदा पनि म उपकप्तान हो कि होइन भन्ने नै स्पष्ट थिएन । म आफैं द्विविधामा थिएँ । प्रेस विज्ञप्तिमा पनि को उपकप्तान भनेर कतै लेखिएको छैन । कप्तान को हो भन्ने मात्र हुन्छ । के हो मलाई नै थाहा थिएन । म सिनियर प्लेयरको रुपमा खेलिरहेको थिएँ । अहिले आएर आधिकारिक निर्णय भएकोमा खुसी छु । अब पनि सिनियर खेलाडीको रूपमा खेलिरहने छु,’ सीताले भनिन् ।

नेपाली महिला टिममा ग्रुपिजम छ भन्ने सीता स्वीकार्छिन् । तर, त्यो ग्रुपिजम मैदान बाहिरको भएकाले खेलमा असर नगर्ने उनले बताइन् ।

‘टिममा ग्रुपिजम हरेक ठाउँमा हुन्छ । तर हाम्रो टिममा बाहिर जे भएपनि मैदान भित्र गु्रपिजम छैन । हामी मिलेर जित्नका लागि खेल्छौं । नयाँ उपकप्तान इन्दु पनि मेरै बैनी हो । उसले अझ स्तरोन्नति गरेर कप्तानमै आओस भन्ने चाहन्छु,’ सीताले भनिन् ।

सीतालाई उपकप्तानबाट हटाउनुमा क्यानको केही भावी योजनाहरु होलान् । तर, वर्षौंदेखि क्रिकेटमा योगदान दिएको खेलाडीलाई खबरै नदिइ पदबाट हटाउनु अपमानजनक भएको टिप्पणी गरिएको छ ।

सीता नेपालबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले २१ खेलमा २७.४३ को औसतमा ४ सय ३९ रन बनाएकी छिन् भने, २१ विकेट लिएकी छिन् । नोभेम्बरमा कतारविरुद्ध उनले बनाएको अविजित ८२ रन नेपाली महिला ब्याटरको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्मको उच्च स्कोर हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर