मन्त्रीहरु चुनावका लागि गाउँमा व्यस्त, मन्त्रालय रित्तै (तस्बिरहरु) – Nepal Press
सुनसान सिंहदरबार

मन्त्रीहरु चुनावका लागि गाउँमा व्यस्त, मन्त्रालय रित्तै (तस्बिरहरु)

नाै जनाले बाहेक अरुले अनुमति लिएका छैनन‍्: आयाेग

काठमाडौं ।
समय : मंगलबार दिउँसो ३ बजे ।
स्थान : सिंहदरबारको दक्षिणी गेट ,
सर्वसाधारण सिंहदरबार छिर्ने मुख्य प्रवेशद्वार दक्षिणी गेट अघिपछिको तुलनामा सुनसान थियो । छिटफुट गाडी र मान्छेको ओहोरदोहोर । सिंहदरबारभित्रका सडक खाली जस्तै ।

दक्षिणी गेटबाट प्रवेश गर्नेबित्तिकै आडैमा छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । मन्त्रालयमा मन्त्रीको गाडी थिएन । मन्त्रालयका अधिकांश महाशाखा तथा शाखा केही कर्मचारी नहुँदो हो त सुनसान नै देखिन्थे ।


मन्त्रालयको पहिलो तलामा छ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको कार्यकक्ष । अघिपछि सरुवा, काज तथा विभिन्न कार्य लिएर आउने कर्मचारी र सर्वसाधारणले ठेलमठेल हुने मन्त्रीको सचिवालयसमेत रित्तै थियो ।


कार्यकक्षका कुर्सी तथा सोफाले लामो समयपछि खाली बस्ने मौका पाएजस्तो देखिन्थ्यो । सचिवालयमा एक जना कम्प्युटर अपरेटरबाहेक मन्त्री श्रेष्ठको कक्षले पनि आरामै पाएको थियो ।

जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका मन्त्री श्रेष्ठको घर काठमाडौंमै भएकाले उनी हप्ताको एक दुई दिन मन्त्रालय आउने गरेका छन् । बाँकी समय स्थानीय तह निर्वाचनको प्रचारप्रसार गर्न र भोट माग्न व्यस्त छन् ।

वन तथा वातावरण मन्त्रालयको अवस्था पनि उस्तै थियो । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव गत शनिबारपछि मंगलबारमात्रै मन्त्रालय पुगेका थिए । एकछिनमात्रै मन्त्रालय बसे । पछि कता अलप भए कर्मचारीले समेत पत्तो पाएनन् ।

जनता समाजवादी पार्टीकै नेता रहेका मन्त्री यादव आफ्नो निर्वाचन क्षेत्र बारा २ पुगेर फर्किएकामात्रै रहेछन् ।

वन तथा वातावरण मन्त्रालयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको छ । भूमि मन्त्री शशि श्रेष्ठको गाडी भने मन्त्रालयमै भेटियो । गाडी भएपछि मन्त्री पनि मन्त्रालयमै होला भन्ने अनुमान गर्‍यौं । नभन्दै दिउँसो ४ बजे मन्त्रालय छिर्दा मन्त्री श्रेष्ठ कार्यकक्षमै भेटिइन् । उनी मन्त्रालयका सचिवसहित विभिन्न विज्ञसँग सहकारीसम्बन्धी छलफल गरिरहेकी थिइन् ।

सबै मन्त्री स्थानीय तह निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । तपाई जानुभएन भन्ने नेपाल प्रेसको प्रश्नमा मन्त्री श्रेष्ठले भनिन्, ‘म एउटा राजनीतिक दलको नेता पनि भएको हुनाले प्रचारप्रसारमा नजाने भन्ने हुँदैन । मेरो कार्यालय समयभन्दा अघिपछिको समयमा जान्छु र गएकी छु । तर, मन्त्रालयको कामलाई असर पर्ने गरी गएकी छैन । तपाईहरुले देखि नै हाल्नुभयो नि !’

अधिकांश मन्त्रीलाई आचारसंहिता उल्लंघन गरेको भनेर स्पष्टीकरण सोधिएको छ, तपाईलाई निर्वाचन आयोगले सोधेको छ कि छैन ? जवाफमा उनले थपिन्, ‘म मन्त्री हो । राज्यको एउटा जिम्मेवार निकायमा भएकाले म अहिले कार्यालय समयमा मन्त्रालयमा जिम्मेवार भएर काम गरिरहेको छु । मैले आफ्नो भूमिका र जिम्मेवारी बिर्सिएकी छैन । यदि स्पष्टीकरण नै सोधेको भए त मलाई किन सोध्नुपर्‍यो र तपाईंहरुले नै समाचार लेखिहाल्नुहुन्थ्यो होला नि हैन ?’

नेकपा माओवादी केन्द्रकी नेतासमेत रहेकी मन्त्री श्रेष्ठ काठमाडौंकै स्थानीयवासी हुन् । त्यसैले उनलाई प्रचारप्रसार गर्न पूरै दिन खर्चिनुपर्दैन होला । बिहान र साँझमात्रै भोट माग्न पुगे पनि काफी नै हुन्छ ।

नेकपा (माओवादी केन्द्र) बाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार तथा भोट माग्न व्यस्त छन् । त्यसैले उनको कार्यकक्षदेखि सचिवालयसम्म सुनसान भेटिए ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पनि मन्त्रालयमा भेटिएनन् । उनी केही दिनदेखि जिल्लामै छन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सचिवालयमा पनि एकजना कम्प्युटर अपरेटरमात्रै भेटिए । केही दिनदेखि उनी एक्लै मन्त्रालयका सर्वेसर्वा छन् । उनका अनुसार मन्त्री झाँक्री अमेरिका भ्रमणबाट फर्किएलगत्तै आफ्नो निर्वाचन क्षेत्र गुल्मी गएकी छन् । बीचमा एक दुई दिन मन्त्रालय आएकी उनी वैशाख २५ गतेदेखि गुल्मीमै निर्वाचन प्रचारप्रसारमा व्यस्त छिन् ।

गृहमन्त्री बालकृष्ण खाण पनि एक हप्तादेखि मन्त्रालय बंक गरेर प्रचारप्रसारमा छन् ।

दार्चुलाबाट निर्वाचित कांग्रेस नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू पनि वैशाख २१ गतेदेखि मन्त्रालय पुगेका छैनन् । उनी आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।

सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित जनता समाजवादी पार्टीका नेता एवं कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव भने वैशाख ११–१२ गतेदेखि नै कहिलेकाहीमात्रै मन्त्रालयमा झुल्किने गरेका छनन् । यसबीचमा उनी एक पटकमात्रै मन्त्रालय पुगेको उनको सचिवालयले जनाएको छ । उनको सचिवालयमा रहेका एक कार्यालय सहयोगी मोबाइल हेरेर समय बिताइरहेको भेटिए ।

सप्तरीबाट निर्वाचित जनता समाजवादी पार्टीकै नेत्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको कार्यकक्षमा दिउँसै ताला लगाइएको थियो ।

बारा क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेस नेता एवं खानेपानीमन्त्री उमाकान्त चौधरी पनि कार्यकक्षमा भेटिएनन् । उनी शुक्रबारदेखि मन्त्रालयमा नआएको मन्त्रालयका कर्मचारीले जानकारी दिए ।

निर्वाचनमा खट्न नाै मन्त्रीले लिएका थिए अनुमति

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रचारप्रसार गर्न जान प्रधानमन्त्रीसहित नाै जनाले अनुमति लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायणबहादुर खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा प्रचारप्रसार गर्न जान अनुमति लिएका थिए ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले पनि अनुमति लिएको आयोगका प्रवक्तासमेत रहेका सहचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

तीन मन्त्रीसँग स्पष्टीकरण माग

आयोगले अहिलेसम्म तीन जना संघीय मन्त्रीलाई स्पष्टीकरण सोधिसकेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठ, सहरी विकासमन्त्री झाँक्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधेकामध्ये कति मन्त्रीले पेश गरे भन्ने जानकारी दिन भने आयोगले इन्कार गर्‍यो ।

तपाईंले सूचना दिनुभयो, स्पष्टीकरण सोधौला : प्रमुख आयुक्त थपलिया

सिंहदरबार पुग्दा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठबाहेक अरु भेटिएनन् । निर्वाचनको मुखमा मन्त्री मन्त्रालयमा नभेटिनुको स्पष्ट कारण निर्वाचन प्रचारप्रसारमै गएको हुनुपर्छ । तर, सिंहदरबारबाट धेरै टाढा नरहेको निर्वाचन आयोग यसबारे जानकार छ कि छैन भन्ने नेपालप्रेसको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘तपाईंले सूचना दिनुभयो । एक दुई जनाबाहेक कसैले पनि अनुमति लिएको छैन । आज सूचना आउला । दुई चार पाना थप स्पष्टीकरणका लागि खर्चिनुपर्ला ।’

स्पष्टीकरण सोध्नु, सचेत गराउनु पनि ठूलो व्यक्तिका लागि कारबाहीसरह भएको उनले बताए । सचेत गराउनु त झन् धेरै ठूलो कारबाही भएको उनको भनाइ थियो ।

आफूहरुले गरेको निर्णयमा अदालतमा प्रश्न उठ्दा पनि आयोगले जित्ने गरी कारबाही गर्नुपर्ने प्रमुख आयुक्त थपलियाले बताए ।
उनले भने, ‘सरकारमा रहेका मन्त्री पनि दलका नेता छन् । यदि कसैले दलको पहिचानमात्र बोकेर जान्छ भने राजनीतिक व्यक्तिलाई रोक्न मिल्दैन भनेर स्वीकृति दिनुपर्छ । तर, ती सबै क्रियाकलाप अचारसंहिताविपरीत हुनुहुँदैन भनेका छौं । त्यसका आधारमा जोकोहीले त्यसो गर्‍यो भने प्रक्रियागत कारबाही गर्छौं । पहिले हामीले ४८ घण्टामा स्पष्टीकरण पेश गर्न भनेका थियौं । अब १२ घण्टामा दिनुपर्छ भनेर भन्छौं ।’

तस्बिरहरु : नवीन स्थापित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर