अर्थसचिवमा मधु-कृष्णबीच ‘आलोपालो’, जनार्दनको बेला बाहिरिएकालाई वर्षमानको अँगालो – Nepal Press

अर्थसचिवमा मधु-कृष्णबीच ‘आलोपालो’, जनार्दनको बेला बाहिरिएकालाई वर्षमानको अँगालो

काठमाडौं । नयाँ बजेट ड्राफ्ट भइरहँदा हिजोमात्र अर्थमन्त्रालयमा सचिव हेरफेर भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएर मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारीमा ल्याएको हो ।

पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएलगत्तै मरासिनीले अर्थमन्त्रालयको कमाण्ड सम्हालेका छन् । अर्थ मन्त्रालयको लामो अनुभव सँगालेका मरासिनी यसअघि पनि अर्थसचिव भइसकेका छन् । उनी वैदेशिक सहायता मामिलाका विज्ञ समेत मानिन्छन् । उनी लुम्बिनी प्रदेश सरकारमा पनि लामो समय अर्थ मन्त्रालयको सचिव बनेका थिए ।

अर्थ मन्त्रालमा पछिल्लो तीन वर्षमा ७ पटक सचिव फेरिएका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा २०७८ असार २९ गते अर्थमन्त्री बनेका शर्माको पालादेखि तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, डा. प्रकाशसरण महत हुँदै वर्षमानसम्म ४ मन्त्री फेरिँदा यो हेरफेर भएको हो ।

शर्मा मन्त्री हुँदा शिशिरकुमार ढुंगाना अर्थसचिव थिए । लगत्तै उनले मधुकुमार मरासिनीलाई ल्याए । करको दर हेरफेर प्रकरणमा शर्मा मुछिदा मरासिनी केही दिन बिदामा बसेका थिए । पछि शर्माले राजीनामा दिएपछि उनी हाजिर भए । मरासिनी बाहिरिएपछि राजस्व सचिव कृष्णहरी पुस्करलाई जिम्मेवारी दिइयो । त्यसपछि तोयम राय आए । लगत्तै अर्जुन पोखरेललाई ल्याइयो । पोखरेललगत्तै पुन: पुस्कर आए ।

अनुपातमा हेर्दा सात पटक सचिव फेरिदाँ एक पटक जिम्मेवारी पाएकाले ६ महिनाभन्दा बढी जिम्मेवारी सम्हाल्ने मौका पाएका छैनन् । सबैभन्दा बढी दुई पटक जिम्मेवारी पाएका पुस्करले करिब एक वर्ष अर्थ सचिवको जिम्मेवारी सम्हालेका छन् । यो बीचमा पुस्कर र मरासिनीबीच एकअर्कालाई विस्थापन गरेर अर्थसचिव बनेका छन् ।

यसअघिका अधिकांश मन्त्रिपरिषद् बैठकले सचिवको सरुवाको निर्णय लुकाउने गरेको र सरुवाको हप्तौपछि मात्रै पदभार सम्हाल्ने गरिएको भए पनि यस पटक बैठकलगत्तै निर्णय सुनाइयो । मन्त्रिपरिषद्को निर्णय भएकै दिन मरासिनीले जिम्मेवारी सम्हालिसकेका छन् ।

अर्थमन्त्री पुनले कृष्णहरि र मरासिनीलाई एकसाथ स्वागत र बिदाई गरे । एउटै पार्टीका एक उपमहासचिव (जनार्दन) सीसीटीभी फुटेज प्रकरणपछि मन्त्री पुनर्वहाली हुँदा बाहिरिएका सचिव मरासिनी अर्का उपमहासचिव (वर्षमान) को रोजाइमा परेपछि कर्मचारी वृत्तमा चर्चाको केन्द्र बनेका छन् ।

यस्तो छ कृष्णहरि र मरासिनीको ट्रयाक रेकर्ड

अर्थ सचिवबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव पुस्कर २०७८ असार २४ गते सचिव बढुवा भएका हुन् । केही दिन उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्तमा बसे । लगत्तै अर्थमन्त्रीको जिम्मेवारीमा शर्मा आएपछि पुस्करको साउन ११ गते राजस्व सचिवमा पदस्थापन भयो । अर्थसचिव मरासिनीको प्रधामन्त्री कार्यालयमा सरुवा भएपछि पुस्करले साउन २६ गतेदेखि जिम्मेवारी सम्हाले । राजस्व सचिवबाट २०७९ साउन २६ मा अर्थसचिव बनेका उनलाई २०७९ पुस २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए । पुस्कर प्रधानमन्त्री कार्यालयमा सरुवा हुदाँ अर्थ सचिवको जिम्मेवारीमा तोयम राय आएका थिए । त्यसको लगत्तै चार महिनापछि २०८० वैशाखमा अर्थ सचिवको जिम्मेवारी अर्जुन पोखरेलले पाएका थिए ।

अर्थबाट पुस्करको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भयो । प्रधानमन्त्री कार्यालयमा उनले करिब आठ महिना बिताए । कांग्रेस सहितको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री डा. प्रकाशसरण महतले पुस्करलाई गत भदौ ३० गते दोस्रो पटक अर्थमा ल्याए । पहिलो चरणमा पाँच महिनामात्रै अर्थ सचिव बनेका उनी दोस्रो पटक ७ महिना त्यहाँ रहे । तर, उनले दुवैपटक बजेट निर्माणको मौका पाएनन् ।

धेरै पटक सरुवा हुने सचिवको सूचीमा मधुकुमार मरासिनी पर्छन् । यसअघि उनी पाँच महिनामा तीन पटकसम्म सरुवा भएका छन् । अर्थ मन्त्रालयबाट २०७९ साउन २६ मा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका मरासिनीको ५ महिना नपुग्दै २०७९ पुस २१ गते वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा भए । त्यहाँ गएको ९ महिनामै असोज १५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मरासिनीसहित ९ जनाविरुद्ध नेशनल पेमेन्ट गेटवे प्रकरणमा मुद्दा दायरपछि उनी निलम्बनमा परेका थिए । ५ दिनअघि उनलाई विशेष अदालतले क्लीनचिट दिइसकेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०७८ असार २९ गते अर्थमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा अर्थमन्त्री नियुक्त भएका थिए । शर्मा अर्थमन्त्रीमा नियुक्त भएलगत्तै साउन १२ मा चर्चा भइरहेका सचिवलाई छाडेर शर्माले शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालय सरुवा गराएर मरासिनी रोजे ।

शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनापछि भर्खरै बढुवा भएका कृष्णहरीलाई राजस्वसचिवको जिम्मेवारीसहित मन्त्रालय भित्र्याएका थिए । पुस्करभन्दा अघि सचिव बढुवा भएकालाई प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेर उनलाई पहिलो पदस्थापन नै सिंहदरबार त्यो पनि अर्थ मन्त्रालयको राजस्व सचिवमा गरियो ।

आर्थिक वर्ष २०७९/०८० बजेट निर्माणका अनधिकृत व्यक्तिको उपस्थिति पुष्टि हुने सीसीटीभी फुटेज डिलिट भएपछि अर्थ मन्त्रालयको नेतृत्वमाथि गम्भीर आरोप लागेको थियो । सचिव मधुकुमार मरासिनीले त्यतिबेला कुनै अडान वा प्रतिक्रिया दिएनन् । अर्थमन्त्री शर्माले राजीनामा दिनैपर्ने र नदिए थप प्रक्रिया अघि बढ्ने विपक्षीको स्वर बढ्न थालेपछि उनी घर बिदामा बसिदिए । त्यसै क्रममा २०७९ जेठ १४ गते राति बाहिरी व्यक्तिलाई प्रयोग गरेर करका दर हेरफेर गरेको आरोप लाग्दा संसदीय छानबिन समितिसमेत बनेपछि तत्कालिन अर्थमन्त्री शर्माले असार २२ गते प्रतिनिधिसभामार्फत राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर