खानेपानीका उपभोक्तालाई पत्र काटेर कांग्रेस उम्मेदवारले मागे मत (पत्रसहित) – Nepal Press

खानेपानीका उपभोक्तालाई पत्र काटेर कांग्रेस उम्मेदवारले मागे मत (पत्रसहित)

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार जीतबहादुर मल्लले आफू अध्यक्ष रहेको खानेपानी संस्थाका उपभोक्तालाई रुख चिन्हमा भोट दिन पत्राचार गरेपछि साे वडामा विवाद भएको छ ।

करिब १५ सय उपभोक्ता रहेको उक्त संस्थाका सबै उपभोक्तालाई उनले पत्र काटेको सूचना पाएपछि वडामा रहेका अन्य दलले आपत्ति जनाएपछि विवाद भएको हो । स्थानीय उपभोक्ता गोविन्द खड्काले आफूसहित खानेपानीका उपभोक्तालाई मल्लले लिखित पत्राचार गरेको बताए ।

स्थानीय उपभोक्ता तथा एमालेका नेता राजेन्द्र ढकालले निर्वाचन आचारसंहिताविपरीत खानेपानीका उपभोक्तालाई लिखित पत्राचार गरेर कानुनको खिल्ली उडाएको बताए । ‘त्यो संस्थाका उपभोक्ता कुनै पार्टीका हुँदैनन् । हामीले यसरी गलत गर्नेलाई कारबाही गर्न निर्वाचन आयोगलाई अनुरोध गरिसकेका छौं’, उनले भने ।

उजुरी परेपछि बुटवलस्थित निर्वाचन कार्यालयले बुटवलमा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डे तथा वडा नं ११ का वडाध्यक्ष उम्मेदवार जीतबहादुर मल्ललाई फोन गरेर तत्काल रोक्न निर्देशन दिएको छ । कार्यालयले अब यस्ता विषय नदोहोर्‍याउन सचेत गराएको कार्यालयले जनाएकाे छ ।

निर्वाचन कार्यालय बुटवलका अधिकृत लेखनाथ पौडेलले आचारसंहिताविपरीत उपभोक्तालाई पत्र पठाउनेलाई टेलिफोन गरेर सचेत बनाएको बताए । चिठीसहित उजुरी परेपछि सचेत गराइएको र अब गल्ती नदोहोराउने प्रतिबद्धता तथा वितरण गरेका सबै पत्र फिर्ता ल्याउने जनाएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर