संघीयताबारे स्पष्ट बालेन, अरू राजनीतिक एजेन्डामा नखुल्ने – Nepal Press

संघीयताबारे स्पष्ट बालेन, अरू राजनीतिक एजेन्डामा नखुल्ने

काठमाडौं । आसन्न स्थानीय चुनावका सर्वाधिक चर्चित उम्मेदवारका रूपमा देखिएका छन् बालेन्द्र शाह उर्फ बालेन । काठमाडौं महानगरबाट मेयरमा उम्मेदवारी दिएका यी युवा यति बेला चिया पसलदेखि सामाजिक सञ्जालसम्म हटकेक बनेका छन् ।

बालेनले सुरुमा उम्मेदवारी घोषणा गर्दा धेरैले चासो दिएका थिएनन् । तर, जसै सञ्चारमाध्यममा उनका अन्तरवार्ताहरू आउन थाले, आममानिसहरुको ध्यानाकृष्ट भयो । युवा जनमत छिचोल्दै अहिले काठमाडौंको बौद्धिक तप्कामा पनि उनको चर्चा हुन थालेको छ । सडकमा भोट माग्न हिँड्दा उनीसँग सेल्फी खिच्नेको तँछाडमछाड हुन्छ । यस्तो माहोलले मेयरका अन्य ‘हेभिवेट’ उम्मेदवारहरूलाई पनि अत्त्याउन थालेको छ । ‘सामाजिक सञ्जालको समर्थनले केही लछारपाटो लाउँदैन’ भन्नेहरू सोच्न बाध्य भएका छन् ।

स्ट्रक्चरल इन्जिनियर तथा र्यापर बालेन राजनीतिका नयाँ विद्यार्थी हुन् । उनले मेयर पदलाई राजनीतिक भन्दा पनि व्यवस्थापकीय र प्रशासनिक जिम्मेवारीका रूपमा अर्थ्याउने गरेका छन् । उनको तर्क छ– मेयर भनेको एउटा कम्पनीको सीइओजस्तो हो र यसमा राजनीति छिराउनु आवश्यक छैन । धेरैले उनको भनाइमा सहमति पनि जनाएका छन् ।

तथापि, स्थानीय चुनावमा उम्मेदवार दिनु भनेको राजनीतिमा हाम्फाल्नु नै हो । कुनै राजनीतिक दलमा प्रवेश नगरे पनि बालेन राजनीतिको हिलोमा पसिसकेका छन् । यो हिलो सफा गर्न सफल हुन्छन् वा आफैँ हिलामय भएर निस्किन्छन्, त्यो त भविष्यले बताउने छ, तर अहिले उनीबाट धेरै आशा गर्न थालिएको छ ।

अब, राजनीतिमा प्रवेश गरिसकेपछि राजनीतिक मुद्दाहरूमा पनि स्पष्टता चाहिन्छ नै । बालेनले बोक्ने दर्शन र सिद्धान्त के हो भन्ने प्रश्न उब्जिने नै छ ? अहिलेसम्म दिएका अभिव्यक्तिहरूमा उनी राजनीतिक विषयमा खासै खुलेका छैनन् । कसैले उनलाई खर्याएर सोधेको पनि छैन । मेयर पदलाई नै अराजनीतिक भनेर व्याख्या गरिदिएकाले पनि उनले यस्ता प्रश्नहरूबाट उम्किने छुट पाएका हुन सक्छन् ।

नेपालमा सबैभन्दा बढी चर्चा र बहसमा आउने राजनीतिक मुद्दा हुन्, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता । दोस्रो जनआन्दोलनपश्चात् ‘परिवर्तनका एजेन्डा’ भन्दै यी तीन चिजहरू नेपालमा भित्र्याइए । तर, अझै पनि यी तीन वटै एजेन्डामा जनता विभाजित छन् । ठूलो जनमत कथित परिवर्तनका एजेन्डाको विरुद्धमा छ । मतदाताहरूलाई चासो हुन सक्छ– बालेन चाहिँ कुन कित्तामा छन् ?

यस विषयमा हामीले बालेनको टिमका एक सदस्य कुमार बेनलाई सोध्यौँ । उनले राजनीतिक मुद्दाहरूलाई आफूहरूले प्राथमिकतामा नराखेको बताए ।

‘बालेनले मेयर पद राजनीतिक होइन भनिरहनुभएकै छ,’ बेनले भने, ‘त्यसैले राजनीतिक प्रश्नहरूमा उहाँ प्रवेश नै गर्नुभएको छैन ।’

उनी थप्छन्, ‘मेयरको जिम्मेवारी र भूमिकाको दायरामा जे पर्छन्, हामी त्यसमा मात्रै फोकस छौँ । अरू असम्बन्धित विषयमा बोलिरहनु उचित पनि हुँदैन ।’

बालेनले कस्तो राजनीतिक विचारधाराको प्रतिनिधित्व गर्छन् भन्ने प्रश्न अहिले महत्त्वपूर्ण नरहेको पनि बेनको टिप्पणी छ । जुन बेला आवश्यकता पर्छ त्यही बेला यस्तो विषयमा बोल्ने उनले बताए ।

हिजो मात्रै बालेन एउटा मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिन पुगेका थिए । ‘रजतपट’ नामक कार्यक्रममा उनलाई घुमाउरो तरिकाले राजनीतिक विषयमा मुख खोलाउने प्रयास प्रस्तोता प्रकाश सुबेदीले गरे । अलिकति सफल पनि भए ।

बालेनलाई संघीयता वा एकात्मक प्रणाली, गणतन्त्र वा राजतन्त्र, राजा वा राष्ट्रपति, हिन्दू राष्ट्र वा धर्म निरपेक्षतामध्ये एक रोज्न भनिएको थियो । संघीयताबारे उनले स्पष्ट जवाफ दिए भने अरूमा कूटनीतिक तवरबाट पेस भए ।

संघीयता सहितको नेपाल कि संघीयता बाहेकको नेपाल ? भन्ने प्रश्नमा उनले धेरै नसोची जवाफ दिए, ‘प्रदेशहरू नभएकै राम्रो ।’ नेपालमा पछिल्लो समयमा भएको विकास प्रदेशबाट नभएर स्थानीय तहबाट भएको निष्कर्ष उनले सुनाए । थप व्याख्या गरेनन् ।

गणतन्त्र कि राजतन्त्र राम्रो भन्ने प्रश्नमा कूटनीतिक जवाफ दिँदै भने, ‘तन्त्र सबै राम्रा हुन्छन्, त्यो सफल हुन चाहिँ व्यक्ति राम्रो हुनुपर्छ । सोचाई परिवर्तन हुनुपर्छ । नत्र जुन तन्त्र आए पनि केही हुनेवाला छैन ।’

हिन्दू राष्ट्र कि धर्मनिरपेक्षता भन्ने प्रश्नमा उनले तटस्थता देखाए ।

‘म आफूलाई हिन्दू बुद्धिस्ट भन्ने गर्छु । जन्मजात हिन्दू हुँ भने बुद्धले देखाएको बाटो अनुसरण गर्छु । म बुद्धको ज्ञान र सन्देशबाट परिचालित मान्छे हो । हामी व्यवहारमा हिन्दू हुनुपर्छ । लिखितरुपमा चाहिँदैन ।’ बालेनले भने ।

स्पष्ट के छ भने बालेन कुनै पनि विचारधारा अंगाल्ने मतदातालाई बेखुसी तुल्याउन चाहँदैनन् । उनका मतदाताहरू मूलतः कुनै राजनीतिक पार्टीसँग नजोडिएका युवाहरू हुन् भन्ने विश्वास गरिएको छ । तर पछिल्लो समय ठूला पार्टी निकट व्यक्तिहरू पनि उनीप्रति बढ्दो रुपमा आकर्षित भइरहेका छन् । पार्टीहरूसँग असन्तुष्ट बनेका सबै विचारधारा मान्ने मतहरू तान्ने रणनीति बालेन र उनको समूहले लिएको छ । त्यसैले एउटा विचारधाराको वकालत गर्दा अर्को विचारधारा मान्नेहरू भड्किने चिन्ता छ ।

यदि संसदीय चुनाव हुन्थ्यो भने उनले यस्ता प्रश्नहरूलाई पन्छाएर धर पाउँदैन थिए । स्थानीय चुनावका एजेन्डाहरू राजनीतिकभन्दा पनि उक्त स्थानीय तहका विकास–निर्माणसँग सम्बन्धित हुने गर्छन् । त्यसैले राजनीतिक मुद्दामा बालेनले खुल्नै पर्छ भन्ने पनि छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर