काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश – Nepal Press

काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन एमालेमा प्रवेश गरेका छन् । उनले एमाले प्रवेशसँगै आफ्नो समर्थन एमाले उम्मेदवारलाई दिएका छन् । यसअघि १३ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार रामशरण डंगोलले पनि एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

माओवादी जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनलगायत कार्यकर्तालाई सोमबार बिहान एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौं जिल्लाका र्इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वाम आन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए । आफू २०३६ सालदेखि वाम आन्दोलनमा लागेको भन्दै उनले माओवादीमा आबद्ध भएको २५ वर्षपछि कांग्रेससँग गठबन्धन गरेकोमा चित्त नबुझेर उम्मेदवारी नै छाडेर एमालेमा प्रवेश गरेको बताए ।

महर्जनले केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ स्थापितको टीमलाई जिताउन हिँड्ने बताए । एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटी सदस्य रहेको एमालेका काठमाडौं जिल्ला कमिटीका सचिव राजेश शाक्यले जानकारी दिए ।

केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल पनि एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर