माइली काकीको अवसानपछि उजाडिएका माइला बा – Nepal Press
संस्मरण

माइली काकीको अवसानपछि उजाडिएका माइला बा

माइला बाबै भन्नुहुन्छ, ‘कोहिनुर हिरा खोज्न बेलायत र अमेरिका जानुपर्दैना । पुलिक खोज्न चिहानघारितिर हरेक रात राँको बालेर लुकिलुकी हिँड्नुपर्दैन । जाडोयाममा थरर काम्दै पारी गाउँमा ठूलो आगो बलेको देखेर खाली खुट्टै दौडिनुपर्दैन । केबल घुर्यान बारिमा तोरि छर्नलाई ठुलो कोदालो छानेर दुईचार चपरा हानेमा जाडो त्यसै भाग्छ । बादल पानीमा परिणत भए जस्तो चिसो जाडो एक्कासी पसिना बन्छ ।

वनभरिको पत्कर सोहोर्दै, स्याउला काट्दै, घाँस काट्दै गाइवस्तुको ओछ्यानसम्म पुर्याए अथाह मल निस्कन्छ । अनि घिमिरे गाउँको मात्रै ठुल्ठुलो घोगा मकैको बखान गर्नुपर्दैन । न त महाअनिकाल लागेर औंसी र पुर्णेमा मानेभञ्ज्याङमा लाग्ने बजारमा बेसाहा खोज्नु नै जानुपर्छ ।’

यति भनिसकेर माइला बाबै त्यही मकैको थाक्रोमुनि चोयाले दाँत कोट्याउँदै बसेर आफ्नो भोगाइ सुनाइरहनुभएको छ ।

‘गाउँघरको बिहेमा सारा गाउँले छमछम नाचिरहेको बेला पिँढीमा बसेर हेरिरहेकी काकीले नमान्दा पनि तानेर ‘आ …..कराए गीतै भो ! उफ्रे नाचै भो । नाच्नु अप्ठ्यारो नमानी दुईदिने चोलामा’ भन्दै जबर्जस्ती नचाएजस्तै हलुको छैन जिन्दगी,’ बाबै थप्नुहुन्छ ।

माइला बाबै हातमा खैनी माड्दै त्यो समयमा पुगेर छलाङ मार्न थाल्नुभयो ।

बुबा–आमा बेलैमा बितेपछि एक श्रीमती र दुई छोराहरुलाई लिएर ४० औं वसन्त पुगेसकेका माइला बाबै खोटाङको माटोमा अनवरत रूपमा हिँडिरहनु भएको थियो । वर्षभरी खान पुग्दैन थियो । बेलाबेला श्रीमतीसहित गाउँमा सघाउन जाँदा छोराहरु भने गोठमा बाँधेको साना पाडा र दुई माउ खुकुरालाई घाँसपानी दिएर बस्थे ।

दिनभर सघाएर बेलुकी खाना खाने प्रस्ताव अस्वीकार गर्नुहुन्थ्यो । गाउँको परम्पराअनुसार कसैकोमा खेताला गए खाना अनिवार्य खुवाउनुपर्छ, नत्र खाना नखाए चामल भए पनि दिनुपर्छ । त्यही चामल लिएर स–परिवार खाना बनाएर खाने गर्थे बाबै । माइली काकीले घाँस काट्न जाँदा, दाउरा काट्न जाँदा, मल बोक्न जाँदा, छोराहरूलाई कहिले ऐँसेलु, कहिले किम्भु त कहिले कटुस टिपेर ल्याइदिनुहुन्थ्यो ।

‘गाउँघरको बिहेमा सारा गाउँले छमछम नाचिरहेको बेला पिँढीमा बसेर हेरिरहेकी काकीले नमान्दा पनि तानेर ‘आ …..कराए गीतै भो ! उफ्रे नाचै भो । नाच्नु अप्ठ्यारो नमानी दुईदिने चोलामा’ भन्दै जबर्जस्ती नचाएजस्तै हलुको छैन जिन्दगी,’ बाबै थप्नुहुन्छ ।

माइली काकी घरमा आएर छोराहरूलाई कटुस दिइसकेपछि घाममा चोया कातिरहेको माइला बाबैलाई एक डबको जाँड छानेर लगिदिनुहुन्थ्यो । बाबैले जाँड एकै सासमा टनटनटन पारेर स्वाट्टै पारिरहँदा काकीले ‘फेरि ल्याँऊ’ भनेर सोध्नुहुन्थ्यो । बाबै भन्नुहुन्थ्यो, ‘पर्दैन ।’ अनि फेरि चोया काढ्न सुरु गर्नुहुन्थ्यो ।

एकदिन दशैंको बेला थियो । गाउँभरिको मान्छे बिहानै डोकोमा मकैको सातु र सुठुनीको गुलियो जाँड बोकेर ३तीनचार घण्टाको बाटो कमेरो लिन गएइ । माइली काकी पनि जानुभयो । घरलाई बेहुली जस्तै सिंगारेर सेतो बनाउनु छ । सुन्दर बनाउनु छ । सबै गाउँले लहरै लामबद्ध भएर खेतको डिलैडिल हिँडे ।

त्यो मनमोहक र आनन्दित दृश्यलाई रुपाकोट डाँडा र ट्याम्के डाँडाले पनि हेरिरहेको थियो । पहाडको भित्ताहरुमा सजिएका फूलहरुले पनि देखेको थियो कमेरो लिन हिँडेका गाउँलेहरुलाई । अनि बाटोखेत को सिरानमा धान गोड्ने एक हुल खेतालाहरुले पनि हेरेकै हो ।

घर रंगाउने उमंग र उत्साहले कमेरो बोकेको डोकोहरु पिंधमात्र भरिएर फर्किएको थियो साँझतिर ।

घर आएर काकीले कमेरोलाई आँगनको छेउमा मात्रै के राख्नुभएको थियो, उनलाई एक्कासी पेट दुख्यो । रिंगटा लाग्यो । बमिट गरिन् । बाबै भने काममा जानुभएको थियो । अलि ढिला गरेर बाबै घर आइपुग्नुभयो । घर आइपुग्दा त दुई छोराहरुको आमा, आफ्नी श्रीमती यो संसारबाट बिदा भइसकेकी छे । साससहितको, भावनासहितको यात्रालाई पूर्णविराम लगाइछे । पाँच र छ कक्षामा पढ्ने अवोध सन्तानलाई बाबैको जिम्मा लगाएर दुनियाँबाट बिदा भइसकेकी छे ।

डेढ वर्षअघि मात्रै काकीको पेटको उपचार गरिएको थियो । डाक्टरले त्यसवेला भनेका थिए, ‘गह्रौं कामहरु नगर्नू, तागतिलो खानेकुराहरु खानू ।’

डक्टरको सल्लाह सायद बिर्सिइन् काकीले ।

उपचारमा २० हजार रुपैयाँ खर्च भएको थियो । छिमेकहरुसँग ऋण काढेर उपचार गरिएको थियो ।

काकीको मृत्यु भएको केही समयपछि नै बाबैको घरको जिम्मेवारीहरु हेरफेर भयो । घरको काम जेठा छोराले जानी नजानी, सकिनसकी सम्हाल्नुपर्यो । कान्छा छोराले भने जेठाले गर्दै आएको आगो फुक्ने काम स्वतः जान्यो । माइला बाबै भने सधैं छोराहरूको अघि जबर्जस्ती मुस्कुराउन, रमाउन, भुलाउन खोजिरहनुभयो । बेलाबेला एक्लै बुइकलमा पस्नुहुन्थ्यो । अथवा परको खेतमा जानुहुन्थ्यो । एक्लै आँसु सिद्धिनेगरी रुनुहुन्थ्यो । छोरा मान्छेहरु सकभर रुँदैनन्, रुनैपरे एकान्तमा गएर बोल्नै गाह्रो हुनेगरी रुन्छन् ।

काकीको उपचारका लागि लिएको ऋणको भाका पनि सकियो । साहुहरु दिनदिनै बाबैको घरमा धाउन थाले । छिनछिनमै हकार्न थाले । गाली गर्न मिल्ने, नमिले सबै गाली गरे । भनिन्छ नि, संसारमा दुई चिजले कहिल्यै माफ गर्दैन, ऋण र मृत्यु । जुन समय पुगेपछि कसैको केही लाग्दैन ।

विस्तारै माइला बाबै मैखी माड्ने (मडुवा खैनी)को लतमा परे । पीडालाई बिर्सन हो या मनलाई हलुको बनाउन, वेलावेला खैनी माडेर खान्छन् । गाउँमा कसैको घरमा काम परे बाबैलाई नै बोलाउँछन् । गाउँभरिको परेको काम गरिदिने उनको एकलौटी ठेक्का छ । जोतिदिए वापत् दुई सय पचास, दाइँ गर्न सघाए वापत् एक भारी पराल, र एक सय रुपैयाँ ल्याएर छोराहरुका लागि खर्चिनुहुन्थ्यो ।

दुई छोराहरुको उज्वल भविष्यको कल्पना गरेर, हड्डी खियाएर, पसिना बगाएर र वेलावेला थकाइलाई भुलाउन कट्टुको गोजीबाट खैनी झिकेर माडेर एकोहोरो सोच्दै समय बितेर जाँदै थियो बाबैको ।

तर, काकीको उपचारका लागि लिएको ऋणको भाका पनि सकियो । साहुहरु दिनदिनै बाबैको घरमा धाउन थाले । छिनछिनमै हकार्न थाले । गाली गर्न मिल्ने, नमिले सबै गाली गरे । भनिन्छ नि, संसारमा दुई चिजले कहिल्यै माफ गर्दैन, ऋण र मृत्यु । जुन समय पुगेपछि कसैको केही लाग्दैन ।

दिनेसेम्पाको गोठ बाँध्न सघाउन जाँदा होस् या रुपेसेम्पाको घर भत्काउन जाँदा होस् या धनेम्पाको घरमा काठ बोक्न जाँदा, बाबैको पछि लाग्न साहुले छाडेन । पछिपछि त भन्न थाले, ‘माइला बाबैले सघाएको पैसा कसैले त्यसलाई नदेऊ है, मलाई देऊ ।’

तर, गाउँलेले साहुको कुरा मान्दैनन् । मजदुरी गर्नेकै हातमा दिए मात्रै हामीलाई आनन्द आउँछ भनेर बाबैसँग पैसा माग्नु भनेर भनिदिन्छन् । एक दिन मनेम्पाको घरमा सघाएर एक सय रुपैया बाबैले लिन के लागेका थिए, साहु त्यहीँ आएर थर्कायो, ‘त्यो सौ पैसा यहाँ ले ।’

तथानाम गाली गर्न पनि थाले । अनि बाबै खान लागेको जाँड छेउमा सार्दै थुचुक्क बसे । खैनी माड्दै माफ मागेर भने, ‘दाजै म पैसा दिन्छु जसरी पनि । तर, यसै दिन चाहिँ भन्दिनँ ।’

यसपछि साहु नबुझिने गरी गाली गर्दै उकालो लाग्यो ।

पैसा माग्दा माग्दा हत्तु भएर अब घरमा जे छ, त्यही उठाउने निर्णयमा पुगे । एक दिन बिहानै तीनजना मान्छे लिएर बाबैको आँगनमा आइपुगे । हिसाब गर्न थाले । र अन्तमा केही नबोली बिहानको घाँस खाइरहेको भैंसीको पाडोलाई खोलेर दुईजना हिँडे । दुईजनाले कुनामा लडाएर राखेको सखुवाको थाम बोकेर हिँडे । साहुले भने, ‘ल माइला, हिसाबकिताब राफसाफ भयो । गरिखा ।’

बाबै केही बोल्न सकेनन् । सखुवाको थाम राखेको ठाउँ र पाडो बाँधेको किला हेर्दै फेरि खैनी माड्न थाले ।

१६–१७ वर्षपछि घडीको सूई लाखौंपटक घुम्यो । गाउँमा धेरै पुर्खाहरु बितेर गए । कत्ति बच्चाहरु हुर्किसके । कयौंपटक ट्याम्के डाँडाको हिँउ पग्लिँदै भरिँदै गरिसक्यो । आँगनको शिरिषको फूल कयौंपटक फुल्दै झर्दै गरिसक्यो । त्यो वेलाको मूलबाटो चोरबाटो बनिसक्यो । त्यो वेलाको चोरबाटो मुलबाटो बनिसक्यो । बाबैको दैनिकी र जीवनशैली पनि बदलियो । मेवा खोलाको पानीको आवाज मात्रै उस्तै छ ।

बाबैको छोराहरु ठूला भइसकेका छन् । जेठो छोरो गाउँकै स्कुलमा शिक्षक भइसकेको छ । कान्छोले खरिदार पदमा भर्खरै नाम निकालेर पोस्टिङ भएको छ ।

अस्ति भर्खरै मात्रै गाउँमा बाबैसँग भेट भयो । बाबैको त्यो वेलाको अनुहार र अहिलेको अनुहारमा धेरै बदलाव भइसकेको छ । अनुहारमा चाउरी पर्दैै गएछ । दाँतहरु बिस्तारै झर्दै गएछन् । कपाल सेतो हुँदै गएछ ।

बाबैले लामो सास तानेर भन्नुभयो, ‘केटा हो, मैले जीवनमा धेरैथोक भोगेँ । तर, कहिल्यै हिम्मत हारिनँ । आफ्नो मनलाई कहिल्यै कमजोर बनाइनँ । जीउ छाडिनँ । सधैं आत्मबललाई बलियो बनाएर अगाडि बढेँ । दुई केटाहरुलाई नांगो बनाइनँ । भोकै बनाइनँ । गरिखान सक्ने बनाएँ । जिन्दगीमा कुनै पनि कुरासँग गुनासो छैन । तर, माइलीलाई चाहिँ बेलै नभइ गुमाएँ । उसको सम्झनाले वेलावेला पिरोल्छ । सधैं सपनामा आउँछ, जाँड छानेर दिन्छ । छोराहरुलाई ख्याल गर है भन्छ । अनि त्यो तिमी र मैले एक दिन खन्नु सघाएर ल्याएको पैसा र ४ वटा भाले बेचेर किनेको पाडा कत्रो भयो भने सोध्छ । म यत्तिकैमा ब्युँझन्छु ।’

बाबैको आँखाभरि आँसु जम्मा हुन्छ । आँसुलाई चुहिन नदिन शिरबाट ढाकाटोपी फुकालेर आँसु पुछ्नुहुन्छ । अनि लौरो टिपेर भोटोको गोजीबाट खैनी झिकेर माड्दै भन्नुहुन्छ, ‘म खेततिर लागेँ है केटा हो । भरै भोलि फेरि गफ गरुमला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.