नवौँ राष्ट्रिय खेलकुदबारे के भन्छन् गण्डकी प्रदेश खेलकुद सदस्यसचिव ? – Nepal Press

नवौँ राष्ट्रिय खेलकुदबारे के भन्छन् गण्डकी प्रदेश खेलकुद सदस्यसचिव ?

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखी २७गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ । गण्डकीको सदरमुकाम पोखरा अहिले त्यसको तयारीमा जुटिरहेको छ ।

नवौँ खेलकुद अहिले अन्य खेलकुदजस्तै सहज भने छैन । चुनावी माहौल, कक्षा ११/१२ र अन्य तहको परीक्षा पनि त्यसै समय हुँदै छ । यसरी हतारोमा आयोजना हुन लागेको प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास परिषद् बाध्यकारी अवस्थामा छन् ।

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७७ फाल्गुनमा आयोजना हुनुपर्ने थियो । तर, कोरोना भाइरस महामारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव देखिका विभिन्न विवाद र चुनौतीले स्थगित भएको थियो ।

चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको प्रस्तावमा जेठ अन्तिममा गर्ने निर्णय गरेको थियो । तर जेठ अन्तिममा राष्ट्रिय खेलकुद हुनु धेरै नै चुनौतीपूर्ण रहेको गण्डकी प्रदेश खेलकुदका सदस्य सचिव तेज गुरुङ बताउँछन् ।

गण्डकी प्रदेशको ११ वटै जिल्लामा कम्तीमा एक खेल गराउने भनिएको छ । धेरै दर्शक आउने खेल पोखरा भन्दा बाहिर गर्न सम्भव नहुने तर व्यक्तिगत खेलहरू बुद्धिचाल, बडि बिल्डिङ र टेनिस जस्ता खेल गराउनलाई पूर्वाधारको कमी नहुने उनले बताए ।

‘पोखरा रङ्गशालामा १५/१६ वटा खेलहरू गर्न सकिन्छ । तर पूर्वाधारको कमीले गर्दा स्विमिङ र सुटिङ चाहिँ गण्डकीमा आयोजना गर्न गाह्रो छ । यी दुई खेल राजधानी मै हुने कुरा छ । पौडी पोखरी बनाउन पहल गरेका थियौँ तर, पूर्ण बजेट नभएका ले बनाउन सकिएन’, उनले भने ।

एकातर्फ बर्खाको समय र अर्कातर्फ स्थानीय निर्वाचनले गर्दा राष्ट्रिय खेलकुद आयोजनामा केहि हदसम्म असर पार्ने गुरुङको बुझाई छ । तर, प्रतियोगिता आयोजना हुनु आफैमा सकारात्मक पक्ष रहेको उनी बताउँछन् ।

‘लामो समयदेखि विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसले थलिएको खेलकुदमा यस किसिमको प्रतियोगिता हुनु असाध्यै राम्रो हो । तर, नतिजाको हिसाबले हेर्ने हो भने त्यति सन्तोष जनक हुन्छ जस्तो मलाई लाग्दैन’, गुरुङले थपे।

कुनै पनि खेल हुनका लागि खेलाडी छनोट र बन्द प्रशिक्षणले मुख्य भूमिका खेल्छ । तर, नवौँ राष्ट्रिय खेलकुद सुरु हुन एक महिना बाँकी रहँदा कुनै पनि खेलको छनोट प्रक्रिया र बन्द प्रशिक्षण सुरु हुन सकेको छैन ।

बाग्मती प्रदेशले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गरिसकेको हुँदा केहि सहज भए पनि अन्य प्रदेशलाई खेलाडी छनोट गर्न हतारो छ । बढीमा जेठ १० सम्म खेलाडी दर्ता गराइसक्न राखेपले सबै प्रदेश खेलकुद विकास परिषद्लाई निर्देशन दिएको छ । कम समय र असाधारण परिस्थितमा प्रतियोगिता हुन लागेकाले बन्द प्रशिक्षण व्यवस्थित रूपमा गर्न चुनौतीपूर्ण हुने गुरुङ बताउँछन् ।

‘खेलाडी छनोट भनेर अहिले औपचारिक रूपमा केहि सुरु गरेका छैनौ । बजेटको पर्याप्तता भयो भने केहि खेलहरूको जिल्ला छनोट हुँदै टिम बनाउने सोच छ । यदि बजेट पर्याप्त आएन भने हामी जिल्ला तहमा छनोट गर्न सक्दैनौँ । खेलाडी छनोटको कुरामा हामी जिल्ला बाट गर्ने की सिधै प्रदेशबाट गर्ने भन्ने कुरा केन्द्रबाट आएको बजेटका आधारमा निर्णय लिन्छौँ । अथवा, जिल्लामा यस अघि आयोजना भएका प्रतियोगिताहरूबाट सिधै टिम छनोट गर्ने भन्ने पनि हामीसँग विकल्प छ’ उनले भने ।

अन्योलमा परेको राष्ट्रिय खेलकुद चुनौतीपूर्ण अवस्थामा आयोजना हुन लाग्नु पनि एक महत्त्वपूर्ण रहेको गुरुङको बुझाइ छ ।

‘यो खेल गत वर्ष फाल्गुनमै सम्पन्न भई सक्नुपर्ने थियो । यस वर्ष पनि गर्ने नगर्ने द्विधा हुँदा हुँदै जेठमा गर्ने निर्णय भयो । नवौँ राष्ट्रिय खेलकुद हुनका लागि अगाडी आएको मौसम, चुनावी माहौल, छोटो समय सहजै अनुमान गर्न सकिने चुनौती हुन् । तर यो सबै कुरालाई एकातिर राखेर खेल हुनु नै महत्त्वपूर्ण कुरा हो’, उनी भन्छन् ।

बजेट निकासा पनि चुनौतीका रूपमा रहेको उनले बताए। भन्छन्, ‘अर्को महत्त्वपूर्ण कुरा भनेको आर्थिक पाटो हो । अहिलेसम्म बजेटको कुरा गर्दा केन्द्रबाट ५० लाख दिने भनेको छ । प्रदेशले पनि केहि निर्णय गरेको छैन, यो आर्थिक पाटो चाहिँ केहि दिनमा सल्टिएन भने अन्तिम अवस्थामा आएर झन् जटिल समस्या हुँदै जान्छ । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live