कांग्रेसका निर्णयमा प्रचण्ड हाबी, माओवादी कार्यकर्ता कांग्रेस भित्र्याउन पनि बन्देज – Nepal Press

कांग्रेसका निर्णयमा प्रचण्ड हाबी, माओवादी कार्यकर्ता कांग्रेस भित्र्याउन पनि बन्देज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत चैत १० गते भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भनेका थिए- चितवनका कांग्रेसले भन्दैमा हुँदैन, गठबन्धनको निर्णय माथिबाटै गरिन्छ ।

प्रचण्डको अभिव्यक्ति तत्कालका लागि त कांग्रेसका नेता कार्यकर्ताहरूका लागि आक्रोशको विषय बन्यो । कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी तालमेलको विपक्षमा उभिएपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले नै गठबन्धनविरुद्ध नबोल्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

एकातिर माओवादी अध्यक्षले ‘कांग्रेसका कार्यकर्ताले भन्दैमा केही नहुने’ बताए पनि अर्कोतिर देउवाले ‘प्रचण्ड र माधव नेपाललाई नचिढ्याउन’ कार्यकर्तालाई निर्देशन दिए । दुवै अभिव्यक्तिले देउवा र प्रचण्डबीच गठबन्धनका गाँठो अझ बलियो कसिने निश्चित नै थियो । त्यसैको परिणाम हुनुपर्छ कांग्रेसको आन्तरिक मामिला र निर्णय प्रक्रियामै अब प्रचण्ड हाबी हुन थालेका छन् ।

विधानअनुसार उम्मेदवार छनोटको तयारी गरेका कांग्रेसको तल्लो समितिहरूलाई आन्तरिक सर्कुलरमार्फत उम्मेदवार छान्न नै रोक लगाइएको छ ।

कांग्रेस सभापति देउवाले सार्वजनिक मञ्चहरूबाटै प्रचण्ड-माधवको सहयोगले मात्रै आफू प्रधानमन्त्री भएकोले गठबन्धन अपरिहार्य रहेको बताउने गरेका छन् । आफूलाई प्रधानमन्त्री बनाएको गुन तिर्न गठबन्धनमा रहेका सबै दलको ‘राजनीतिक अस्तित्व’ जोगाइदिने जिम्मेवारी देउवाले लिएका छन् । यहीकारण स्थानीय निर्वाचनमा तालमेल गर्न नहुने कार्यकर्ताको भावनाविपरीत कांग्रेसले ‘तालमेलको पक्षमा’ निर्णय लियो ।

कांग्रेसलाई यस निर्णयमा पुर्‍याउन माओवादी अध्यक्ष प्रचण्डकै भूमिका निर्णायक थियो । कांग्रेस बैठकलगत्तै प्रचण्डले भनेका थिए- अब त कांग्रेस पनि तालमेलको पक्षमा उभियो, गठबन्धनमा कुनै समस्या हुन दिइने छैन ।

‘स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गर्ने’ कांग्रेसको निर्णय कांग्रेसकै विधानअनुसार हुनुपर्ने थियो । यद्यपि कांग्रेसलाई विधानअनुसार चल्न नदिन पनि प्रचण्ड र गठबन्धनका नेताहरू सफल भइसकेका छन् । कांग्रेस विधानले उपमहानगरसम्मको उम्मेदवार चयनको अधिकार कांग्रेसको प्रदेश तहसम्मको समितिलाई दिएको छ ।

विधानअनुसार उम्मेदवार छनोटको तयारी गरेका कांग्रेसको तल्लो समितिहरूलाई आन्तरिक सर्कुलरमार्फत उम्मेदवार छान्न नै रोक लगाइएको छ ।

‘केन्द्रमा चुनावी तालमेल र भागबण्डा हुनै बाँकी भएकोले अहिले नै तलबाट उम्मेदवार नछान्नुहोला भनेर परिपत्र आएको छ । हामीले विधानअनुसार काम गर्न पाएनौ’, कांग्रेसका एक जिल्ला सभापतिको गुनासो छ ।

कांग्रेसका तल्लो तहका समितिहरूले विधानअनुसार काम गर्न नपाएका मात्रै होइनन्, गठबन्धका दलबाट भित्रिने कार्यकर्तालाई पार्टी प्रवेश गराउनसमेत बन्देज लगाइएको छ ।

हालै नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक प्रभावशाली माओवादी नेता कांग्रेस प्रवेश गर्ने तयारी थिए । स्थानीय कांग्रेस नेताहरूले कार्यक्रमको तयारी पनि गरे तर माओवादीको शीर्ष नेतृत्वले कांग्रेसको शीर्ष नेतृत्वसँग यसबारे संवाद गर्‍यो । कांग्रेसका केन्द्रीय नेताहरूको निर्देशनमा माओवादी नेताको कांग्रेस प्रवेश कार्यक्रम नै रोकियो ।

चुनावी तालमेलको निर्णय र मोडालिटीले कांग्रेसभित्र असन्तुष्टि बढ्दो छ । कतिपय जिल्लामा कांग्रेसका नेताहरूले पार्टी छाडेका छन् भने अधिकांशमा विद्रोह हुने चेतावनी पनि बढ्दो छ । पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न भने कांग्रेसको कुनै तयारी छैन ।

‘माओवादी छाडेर कांग्रेसमा आउँछु भन्नेलाई स्वागत गर्नसमेत पाइएन । यतिसम्म गर्ने भए त गठबन्धन होइन पार्टी नै एकता गरे भैगो नि’, नुवाकोट कांग्रेसका एक नेताले नेपाल प्रेससँग भने ।

नुवाकोट मात्रै होइन देशैभरका कांग्रेस नेताहरू चुनावी तालमेलको निर्णयपछि पार्टीको आन्तरिक विषयमा माओवादीको चासो बढेको बताउँछन् । अझ भरतपुर महानगरमा त कांग्रेसका २९ वटै वडा सभापतिहरूले मेयर नपाए विद्रोह गर्ने चेतावनी दिइसकेका छन् । यद्यपि कांग्रेस नेतृत्वले त्यसलाई बेवास्ता गरेको छ ।

भरतपुर र पोखरा महानगरमा मेयर नलिने विषयमा कांग्रेस सभापति देउवा नै दृढ देखिएका छन् । उनले हालै पोखराका कांग्रेस नेताहरूलाई समेत पोखरामा कांग्रेसले नजित्ने भन्दै मेयर छाड्नुपर्ने हुनसक्ने बताएका थिए ।

‘सभापतिको कुरा सुन्दा उहाँलाई कांग्रेसले एक्लै जित्छ भन्ने लाग्नै छाडिसक्यो । उहाँलाई कांग्रेस कार्यकर्ताभन्दा माओवादी र समाजवादीको भर धेरै लागेजस्तो छ’, पोखरका एक कांग्रेस नेताको भनाइ छ । कांग्रेस नेतृत्वले आफ्ना कार्यकर्ताको भावना भन्दा माओवादीको स्वार्थअनुसारको काम गरेको ती नेताको आरोप छ ।

‘माओवादी छाडेर कांग्रेसमा आउँछु भन्नेलाई स्वागत गर्नसमेत पाइएन । यतिसम्म गर्ने भए त गठबन्धन होइन पार्टी नै एकता गरे भैगो नि’, नुवाकोट कांग्रेसका एक नेताले नेपाल प्रेससँग भने ।

चुनावी तालमेलको निर्णय र मोडालिटीले कांग्रेसभित्र असन्तुष्टि बढ्दो छ । कतिपय जिल्लामा कांग्रेसका नेताहरूले पार्टी छाडेका छन् भने अधिकांशमा विद्रोह हुने चेतावनी पनि बढ्दो छ । पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न भने कांग्रेसको कुनै तयारी छैन ।

पार्टीको निर्णय बाध्यकारी ढंगले मान्न लगाउनेबाहेक विकल्पमा छलफल समेत भएको छैन । गठबन्धन पक्षधर नेताहरूले पार्टीको निर्णय नमान्ने भए कांग्रेस छाड्न सार्वजनिक चेतावनी दिइरहेका छन् ।

‘पार्टीको निर्णय नमान्ने भए पार्टी छाड्ने हो । कांग्रेसको कुरा तलकाले मात्रै बुझ्ने माथिकाले नबुझ्ने भन्ने हुँदैन । नेतृत्वले पनि केही सोचेको होला भनेर बुझ्नुपर्छ नि’, सभापति देउवानिकट एक नेताले भने । ती नेताले कांग्रेस निर्णमा प्रचण्ड हावी नभएको दाबी गरे ।

‘कांग्रेसमा देउवा हावी भएको देख्न नसहनेले प्रचण्ड हाबी भयो भनेका हुन् । यस्ता आरोपको कुनै अर्थ छैन’, ती नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर