महागठबन्धनमा माओवादीले खेलेको एमाले कार्ड, कांग्रेसलाई दबाबमा राख्ने रणनीति – Nepal Press

महागठबन्धनमा माओवादीले खेलेको एमाले कार्ड, कांग्रेसलाई दबाबमा राख्ने रणनीति

एमाले भन्छ- माओवादीसँग तालमेल हुँदैन, माओवादी भन्छ- कांग्रेसले हेपे एमालेसँग मिल्छौं

काठमाडौं । आइतबार साँझ चार घण्टा सिन्धुपाल्चोकमा चुनावी तालमेलबारे छलफल गर्न बसेका कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) ले भने- खासमा तपाईंसँग मिल्न मेरो मन छैन । केन्द्रबाटै गठबन्धनको नीति बनेकाले छलफल गरौं भन्ने हो, हिजो एमालेसँग हामीले बराबरी लिएर तालमेल गरेकै मोडालिटीमा हो भने गठबन्धन गरौं, नत्र हामी एमालेसँग पनि वार्तामै छौं ।

सिन्धु इन्चार्ज सुबोधले जस्तै चेतावनीयुक्त भाषा माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरूले सत्ता गठबन्धनका औपचारिक तथा अनौपचारिक बैठक र सार्वजनिक कार्यक्रममा समेत बोल्ने गरेका छन् । केही दिनअघि प्रचडले आफू ढोका बन्दबादी नभएको भन्दै तालमेलको आवश्यकता परे बालकोट जाने बताएका थिए ।

स्वाभाविकरूपमा एमाले सत्ता गठबन्धन चुनावमा तलदेखि माथिसम्म नमिलुन् भन्ने चाहान्छ । एउटा प्रतिस्पर्धी दलले अरु सबै प्रतिस्पर्धी एक ठाउँमा उभिँदा भन्दा एक्ला एक्लै लड्दा जित सहज देख्नु अन्यथा होइन । कांग्रेसको डर, कतै मओवादी र एमाले मिल्ने हुन् कि भन्ने हो, तर यो चुनावमा चाहिँ एमाले माओवादीसँग मिल्न सम्भव छैन ।

प्रचण्ड बालकोट गइसकेका छैनन् तर यसबीचमा वर्षमान पुनले केपी ओलीलाई भेटेर निषेधको नीति छोड्न आग्रह गरेको चर्चा नेताहरूबीच चलेको छ । ओलीलाई भेटे लगत्तै पुनले तालमेलको विकल्प एमालेसँग पनि रहेको भन्दा भन्दै उनले ओलीले गल्ती स्वीकार गर्नुपर्ने बताएपछि एमाले नेताहरू एकाएक बिच्किए । उनीहरूले कम्युनिष्ट पार्टीको सरकार गिराएर दक्षिणपन्थी गठबन्धन बनाएबापत प्रचण्डले माफी माग्नुपर्ने जवाफ दिए ।

कांग्रेसले हेप्न खोजे एमालेसँग मिल्ने माओवादी नेताहरूको चेतावनी र एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गरिरहेको भन्दै एमाले नेताहरूको टिप्पणी कुन हदसम्म मिल्छ ? अबका केही दिन अझ रोचक हुने भएकाले अहिले नै निष्कर्षमा पुग्नु हतारो हुनेछ । किनकी दलभित्र उम्मेदवार छनौटको महाभारत चल्दै गर्दा गठबन्धनको क्लाइमेक्स कसरी ‘फिनिसिङ’ हुन्छ भन्ने हेर्नुपर्छ ।

कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेपछि माओवयदाी र नेकपा एस बिच्किएकै हुन् । त्यसलगत्तै बसेको सत्ता गठबन्धनको शीर्ष बैठकमा ती पार्टीका नेताले स्थानीय आवश्यकता अनुसार भन्नुले तालमेल आमरूपमा नहुने चिन्ता व्यक्त गरेपछि ‘सत्ता गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने’ निर्णयसहित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सहयात्री दललाई आश्वस्त पार्न खोजेकै हुन् ।

त्यसो त उनले गठबन्धन बैठकले सो निर्णय गर्नुअघि त्यही बिहान रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सहयात्री दलहरूलाई अलपत्र नपार्ने भन्दै चुनावी गठबन्धन गरेरै जाने बताएका थिए । देउवा स्थानीय तहमा आफ्ना कार्यकर्ताको अस्तुष्टिकाबीच पनि प्रचण्ड-माधवलाई आकर्षक प्याकेज दिएर भने पनि यो गठबन्धन आउने संघ र प्रदेशसम्मको चुनावमा लैजान चाहन्छन् ।

स्थानीय चुनावमा गठबन्धन गडबड भयो भने त्यसको असर आउने संसदीय चुनावमा पर्ने डर देउवामा छ । खासमा उनी स्थानीय भन्दा पहिले संसदीय चुनाव गरेर अर्को कार्यकाल प्रधानन्त्री सुनिश्चित गर्न चाहान्थे । तर, स्थानीय चुनाव पहिले नै गर्नुपर्ने बाध्यता आइलागेकाले देउवा उदार मनका साथ स्थानीय तह भागबण्डा गर्न तत्पर छन् ।

कांग्रेस नेताहरू त यतिसम्म भन्छन् कि,- देउवालाई स्थानीय तहको ठूलो महत्व छैन । उनी आउने संसदीय चुनावमा प्रचण्ड-माधव र उपेन्द्रसँग गठबन्धन गरेर सकेसम्म कांग्रेसको एकल वहुमत वा अहिलेको एमालेको साइजमा लगियो भने आफूपछि आरजुलाई पनि प्रधानमन्त्री बनाउन चाहान्छन् । त्यसैले डडेलधुरामा समेत एमालेविरुद्ध वडादेखि नै गठबन्धन गर्ने निर्णय भइसकेको छ ।

प्रचण्ड बालकोट गइसकेका छैनन् तर यसबीचमा वर्षमान पुनले केपी ओलीलाई भेटेर निषेधको नीति छोड्न आग्रह गरेको चर्चा नेताहरूबीच चलेको छ । ओलीलाई भेटे लगत्तै पुनले तालमेलको विकल्प एमालेसँग पनि रहेको भन्दा भन्दै उनले ओलीले गल्ती स्वीकार गर्नुपर्ने बताएपछि एमाले नेताहरू एकाएक बिच्किए । उनीहरूले कम्युनिष्ट पार्टीको सरकार गिराएर दक्षिणपन्थी गठबन्धन बनाएबापत प्रचण्डले माफी माग्नुपर्ने जवाफ दिए ।

पछिल्लो समय विभिन्न जिल्लामा सत्ता गठबन्धनआबद्ध दलका प्रमुखहरू बसेर चुनावी तालमेलको सैद्धान्तिक सहमति गरिरहेका छन् । तर, पनि किन माओवादी नेताहरू एमालेसँग वार्ता भइरहेको भनेर कांग्रेसलाई तर्साइरहेका छन् त ? यसको सपाट जवाफ हो, माओवादीले वडादेखि केन्द्रसम्मै एउटा भाषा बोलेर कांग्रेसलाई दबाबमा राख्ने र बढीभन्दा बढी सिट लिने ।

कांग्रेस सभापति शेरवहादुर देउवाले बारम्बार भन्ने गरेका छन्- कम्युनिस्टको भर हुँदैन, हामीले दिएनौं भने माओवादी एमालेतिर मिल्न जान्छ । प्रचण्ड हार्ने चुनाव लड्दैनन् । उता गएर मिल्दिए भने नि ? कांग्रेस जिताउन पनि गठबन्धन गर्नुपर्छ ।

स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने कांग्रेस निर्णयबाट सशंकित भएको माओवादी र नेकपा एसले देउवामाथि दबाब बढाइरहेका छन् । प्रचण्डदेखि जिल्ला तहका माओवादी नेताहरूले समेत एमालेसँग छलफल चलिरहेको छ भन्नु कांग्रेसलाई केन्द्रबाटै तालमेल गर्न बाध्य पार्ने रणनीति हो । किनकी प्रचण्ड-माधव महानगर र उपमानगरमात्र होइन देशभरी तालमेलको निर्णय केन्द्रबाटै गराउन चाहान्छन् ।

स्थानीय आवश्यकतामा आधारमा गर्ने भनेर छाडियो भने धेरै ठाउँमा कांग्रेसले दाबी नछाड्ने निश्चित छ । माओवादीले एकचरण आफ्नो शक्ति आँकलन गरिसकेको छ । जित्ने निश्चित भएका पालिका नछाड्ने र बाँकी रहेका कमजोर ठाउँमा गठबन्धन गरेर बढीभन्दा बढी लिने उसको नीति स्वाभाविक हो । कतिपय ठाउँमा माओवादीले स्थानीयस्तरमा एमालेसँग पनि छलफल चलाएका छन् भने नेकपा एससँग देशव्यापीरूपमै तालमेल हुने निश्चित छ ।

धेरैजसो स्थानीय तहमा माओवादी कार्यकर्ताहरू कांग्रेससँग भन्दा एमालेसँग तालमेल गर्नुपर्ने पक्षमा देखिन्छन् । धेरै ठाउँबाट कांग्रेससँग तालमेल नगर्ने सुझाव वडा तहबाटै आइरहेको माओवादी नेताहरू बताउँछन् । कांग्रेस र माओवादीबीच २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि करिब एक सय स्थानमा तालमेल भएको थियो । तर, नतिजा राम्रो नआएको माओवादी विश्लेषण छ ।

ताप्लेजुङ, तेह्रथुम, दोलखा, धादिङ, मकवानपुर, चितवन, कास्की, रूपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुँदा एकाधबाहेक सबै ठाउँ गठबन्धन पराजित भएको थियो । गठबन्धनको फाइदा लिएर कांग्रेस उम्मेदवार बिजयी हुँदा माओवादीका उम्मेदवार पराजित भएको तीतो अनुभव पनि माओवादीसँग छ ।

कांग्रेसले हेप्न खोजे एमालेसँग मिल्ने माओवादी नेताहरूको चेतावनी र एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गरिरहेको भन्दै एमाले नेताहरूको टिप्पणी कुन हदसम्म मिल्छ ? अबका केही दिन अझ रोचक हुने भएकाले अहिले नै निष्कर्षमा पुग्नु हतारो हुनेछ । किनकी दलभित्र उम्मेदवार छनौटको महाभारत चल्दै गर्दा गठबन्धनको क्लाइमेक्स कसरी ‘फिनिसिङ’ हुन्छ भन्ने हेर्नुपर्छ ।

पोखरा र भरतपुर महानगर तथा बुटवल तथा हेटौंडा उपमहानगरमा भएको गठबन्धन भरतपुरबाहेक अन्यत्र सफल भएको थिएन । भरतपुर पनि मतपत्र च्यातेरमात्र सम्भव भएको थियो । माओवादी नेताहरू कांग्रेसको मत पूरै नआउने गरेको अनुभव सुनाउँछन् भने कांग्रेस नेताहरू चाहिँ धेरै मत भएको पार्टीले थोरै मत भएकोलाई सबै खन्याउन सम्भव नहुने बताउँछन् ।

यदि कांग्रेसले हेप्यो वा स्थानीय आवश्यकता आधारमा तालमेल गर्ने भनेर अधिकांश ठाउँमा एक्लै चुनाव लड्न गयो भने माओवादीले एमालेसँग तालमेल गर्छ त ? यसबारेमा माओवादी नेताहरू प्रष्ट छन्- कार्यकर्ताको भावना र जनताको चाहनाअनुसार ठाउँ विशेषमा त्यो हुन सक्छ । कांग्रेससँग भन्दा एमालेसँगको तालमेलबाट जित सुरक्षित हुने उनीहरूको भनाइ छ ।

तर, एमाले नेतहरू भने माओवादीले एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गरिरहेकाले गठबन्धनको सम्भावना देखिरहेका छैनन् । एमालेको भित्री चाहना कांग्रेसले माओवादी र नेकपा एसलाई सोलोडोलो नबोकिदियोस् र एक्ला एक्लै प्रतिस्पर्धा गर्न पाइयोस् भन्ने नै हो । माओवादीसँग चुनावी तालमेल वा गठबन्धन कम्तिमा यो चुनावमा सम्भव देखिन्न ।

ठाउँ विशेषमा कहिँ कतै स्थानीय आवश्यकताका आधारमा गरे पनि माओवादीसँग एमालेले गठबन्धन गर्ने सम्भावना छैन । एमाले उपाध्यक्ष विष्णु पौडेलले नेपाल प्रेससँगको सोमबारकै अन्तर्वार्तामा सत्ता गठबन्धनमा आबद्ध कुनै पनि दलसँग र विशेषगरी माओवादीसँग वार्ता, तालमेल र गठबन्धनको सम्भावना नरहेको बताएका छन् ।

यदि कांग्रेसले हेप्यो वा स्थानीय आवश्यकता आधारमा तालमेल गर्ने भनेर अधिकांश ठाउँमा एक्लै चुनाव लड्न गयो भने माओवादीले एमालेसँग तालमेल गर्छ त ? यसबारेमा माओवादी नेताहरू प्रष्ट छन्- कार्यकर्ताको भावना र जनताको चाहनाअनुसार ठाउँ विशेषमा त्यो हुन सक्छ । कांग्रेससँग भन्दा एमालेसँगको तालमेलबाट जित सुरक्षित हुने उनीहरूको भनाइ छ ।

स्वाभाविकरूपमा एमाले सत्ता गठबन्धन चुनावमा तलदेखि माथिसम्म नमिलुन् भन्ने चाहान्छ । एउटा प्रतिस्पर्धी दलले अरु सबै प्रतिस्पर्धी एक ठाउँमा उभिँदा भन्दा एक्ला एक्लै लड्दा जित सहज देख्नु अन्यथा होइन । कांग्रेसको डर, कतै मओवादी र एमाले मिल्ने हुन् कि भन्ने हो, तर यो चुनावमा चाहिँ एमाले माओवादीसँग मिल्न सम्भव छैन ।

उसको जोडबल भनेको माओवादी र नेकपा एसबाहेक रहेर कांग्रेस चुनावमा आइदिए पहिलो पार्टीको हैसियत कायम राख्ने तथा प्रचण्ड-माधवको साइज निकै कमजोर बनाउन सकिन्थ्यो भन्ने हुनसक्छ । त्यही बुझेरै माओवादीले कांग्रेसलाई एमालेसँग वार्ता भइरहेको र कांग्रेसले भाउ नदिए एमालेसँग मिल्ने भनेर त्रास देखाइरहेको छ ।

वास्तवमा अहिले माओवादीले खेलेको एमाले कार्डले कांग्रेस दबाबमा परेको छ ।


प्रतिक्रिया

One thought on “महागठबन्धनमा माओवादीले खेलेको एमाले कार्ड, कांग्रेसलाई दबाबमा राख्ने रणनीति

  1. एमालेले कुनैपनि हालतमा सत्ता गठबन्धन भएका पार्टी सग चुनावी तालमेल गर्नु हुदैन जनताले पहिलेको भन्दा बढी स्थानमा नेकपा एमालेलाई जिताउछन् तर अहिले गठबन्धनका साना दलले कांग्रेसलाई एमालेको डर देखाएर बढी भन्दा बढी लिन खोजेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर