भ्यूटावर उद्घाटन गर्दै ओलीले भने- एमालेले गरेका कामको जस अरुले नलिउन् – Nepal Press

भ्यूटावर उद्घाटन गर्दै ओलीले भने- एमालेले गरेका कामको जस अरुले नलिउन्

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीनवर्षे सरकारले अघि सारेका विकास पूर्वाधार पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमामा बनेको १० तले भ्यूटावरको उद्घाटन गर्दै ओलीले भने, ‘एमाले सरकारमा नभएको भए यस्ता काम कति वर्ष झुल्ने थिए हामी सबैलाई थाहा छ, चुनाव आउँदैछ एमाले नेतृत्वमा आएपछि के के भयो त्यो जनमानसमा लैजाऔं, आत्तिएकाहरू अरु छटपटाउछन् सर्वसाधारणलाई यथार्थ विषय पुर्‍याऔं ।’

‘गएका ३ वर्षमा हामीले विकासका धुप्रै आधार तयार गरेका छौं, पूर्वाधार विकासमा एमालेले गरेका काम जनतालाई कसैले भ्रममा पारेर जस लिनसक्छ । चुनावी फण्डा रोक्न सबै सचेत नागरिकले त्यो ख्याल गर्नुहोला ‘, उनले भन ।

‘भूमिहिनलाई लालपूर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके, तर अहिले भन्दैछन् अघिल्लो सरकारले फाइल लुकायो भनेर’, ओलीले भने, ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस् ।’

मन्तव्यको अधिकांश समय स्वास्थ्य शिक्षा, पर्यटन विकासका योजना तथा तिलोत्तमा नगरपालिकाले गरेका नमूना कामको प्रशंसा खर्चिएका एमाले अध्यक्ष ओलीले विकासका योजनामा निरन्तर साथ दिनुपर्ने, मानवीय प्रयासमार्फत अगाडि बढाउनुपर्ने, आधुनिक प्रविधिमा कृषिलाई ध्यान दिए उत्पादन बढ्ने गरी स्थानीय सरकारले योजना बनाउन आग्रह गरेका थिए ।

तिलोत्तमा नगरपालिकाले सुरू गरेको जमिन खेर नफाल्ने नीतिको प्रशंसा गर्दै उनले भने, ‘कृषि उत्पादन र आत्मनिर्भरमा तपाईहरुले गरेको काम उत्कृष्ट लागेको छ, अब आयात रोक्ने गरी योजना बनाउनुस् । खाद्यान्नमा आत्मनिर्भर भए समृद्धिका मुख्य आधार हुन् जुन तिलोत्तमाले सुरू गरेको छ ।’

‘यो तिलोत्तमाको नयाँ पोलिसीलाई सबैले अनुशरण गर्नुपर्छ, प्लाष्टिकमुक्त पालिका यहाँको अर्को सौन्दर्यता रहेछ यो सबैले सिक्नुपर्छ अब यो पालिकाबाट जिल्लामा लैजानुस्, हामीले काम गरेर देखाउने हो, ढाँटेर होइन, स्वास्थ्य र शिक्षामा गरेको काम नमुनायोग्य छ, सबै काममा सुशासन र पारदर्शी भएको सुनियो छु, निकै धेरै भौतिक विकास धेरै गरेको रहेछ, त्यसले सकारात्मक सन्देश दिएको छ । एमाले नेतृत्वमा रहेका जनप्रतिनिधिले गरेका यस्ता गतिला उदाहरण सबैतिर फैलाऔं ।’

पर्यटकीय योजनाबाट समृद्धिका आधारहरु तय हुने बताउँदै एमाले अध्यक्ष ओली भने, ‘पर्यटकीय गन्तव्यलाई विशेष योजना बनाउन सकिन्छ, संसारमा केही नभएका देशहरुले कृतिम वस्तु बनाएर पर्यटकीय क्षेत्र बनाएर आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् अब यसमा हामीले ध्यान दिनुपर्‍यो । उनीहरुसँग बुद्धस्थल छैन, सगरमाथा छैन, हिमाल छैन, तालतलैया छैन, पहाडका श्रृखंला छैनन्, रुख छैनन् तर पर्यटकको ओइरो छ, हामीले अब योजनाबद्ध बनाएर जाऔं ।’

‘अब बुद्धकोप्रचारमा लाग्नुस्, तिलोत्तमाले बाटोभरिका बुद्धमूर्तिले झल्काएको रहेछ । यो बुद्धस्थल अर्थात मावली घर देवदह, अस्तु धातु राखिएको रामग्राम, पैतृक दरबार सबैको संगमस्थललाई विश्वको केन्द्र बनाएर राख्न सकिन्छ, यसमा विशेष ध्यान दिनुस् यसले समग्र विश्वको ध्यान खिच्नेछ,।’ उनले भने ।

आफ्नै जीवनकालमा आफैसँग भएका स्रोतसाधन प्रयोग गरे विकासको लहर बनाउनुपर्ने भन्दै ओलीले भने, ‘हिमाललाई हामीले फोहोर नगरे मात्र हुन्छ, अब हाम्रो भान्सामा विषादियुक्त खाना नपुगोस्, भन्ने अठोट गर्नुहोस् अब यसमा ध्यान दिऔं, चिन्तनमै फरक ल्यायौं भने हामीले सुरु गरेका विकासका कामबाट केही समयमै देश कायापलट हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर