पर्यटक बोलाउन देश दौडाहामा पोखराका पर्यटन व्यवसायी – Nepal Press

पर्यटक बोलाउन देश दौडाहामा पोखराका पर्यटन व्यवसायी

‘जाउँ है पोखरा’ अभियान सञ्चालन, आन्तरिक पर्यटक बढे

रुपन्देही । नेपालको प्रमुख पर्यटकीयस्थलको रुपमा परिचित कास्कीको पोखरामा आन्तरिक पर्यटकको प्रवद्र्धन गर्न व्यवसायीले देशव्यापी प्रचार अभियान चलाएका छन् ।

कोरोना संक्रमण मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँड्न थालेका हुन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख सहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् ।

सोमबार बुटवलका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे ।

पश्चिमाञ्चल होटल संघ पोखराले दुई दशक देखि शुरु गरेको ‘जाउँ है पोखरा’ यो वर्ष पनि निरन्तरता दिएको छ ।

‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । बुटवल पोखरा सडकमा अलि बढी सास्ती छ,’ होटल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले भने, ‘हवाई सुविधा पनि खासै छैन । त्यसैले कनेक्सनमा बढी फोकस गरिएको छ ।’

कोभिडका कारण सबै क्षेत्रको पर्यटन थलिएकोले तत्काल आशातित सुधार कठिन हुने उनले बताए । ‘पोखरा मात्र होइन, विश्वकै पर्यटन सुस्ताएको छ । केही विशेष इभेन्टहरू तय गरेर आन्तरिक पर्यटकमार्फत चहलपहल बढाउनुपर्छ,’ उनले थपे, ‘एउटा सहरका नागरिकलाई अर्को सहरमा लैजाने र उनीहरूको अपेक्षाअनुसारका इभेण्ट सन्चालन गर्ने कुरामा हामी सहमत छौं ।’

टोलीले बुटवलबाट भैरहवाहुँदै हेटौंडा जाने र वीरगञ्ज, चितवनमा अन्तरक्रिया गरेपछि पोखरा फर्किने संघले जनाएको छ । संघले दुई दशकदेखि ‘जाउँ है पोखरा’ अभियान संचालन गर्दै आएको छ ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले छिटै पर्यटन क्षेत्र सुधार हुने अपेक्षाले कोभिडकै बीचमा पनि कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

कोभिड १९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्नका लागि अभियान महत्वपूर्ण हुने सहभागीहरुले बताए । पोखरामा भएका नयाँ नयाँ गन्तव्यहरुको खोजी भएको र त्यसबारे समेत जानकारी दिने काम अभियान सहयोगसिद्घ हुने दाबी उनले बताए । पछिल्लोसमय नेपालका अधिकांश मुख्य शहरसंग पोखरा हवाईमार्गबाट जोडिएको भन्दै उनले यसबाट पर्यटकहरुलाई फाइदा मिल्ने बताए ।

बन्जी, प्याराग्लाईडिङ, हाईकिङ, साईक्लिङ, केबलकार लगायत साहसिक खेलहरुको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए । फेवा नववर्ष महोत्सवमा आमन्त्रण गर्ने रुपमा आफुहरु अभियान चलाएको उनले बताए ।

लुम्बिनी प्रदेशका पर्यटन सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताए । समुदायका मानिसहरुलाई अग्रसर गराएर यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरि कल्चरल भिलेज अवधारणा ल्याउदा सफलता मिल्ने भन्दै यो धेरै महत्वपूर्ण हुने बताए ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेचर, कल्चर र एडभन्चरका बारेमा जानकारी दिने काम २ दशकदेखि गर्दै आएको भन्दै प्रविधिमैत्री पर्यटन विकासमा अघि बढेको बताए । आन्तरिक पर्यटक नै दीगो पर्यटक भएको भन्दै अहिले ३ प्रतिशतबाट ५० प्रतिशत पुगेको उनले बताए । संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको ब्यवस्था गरिरहेको उनले बताए । पर्यटक आदानप्रदान गर्ने रुपमा अभियान संचालन भएको उनले बताए ।

नेपाल होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पोखरा ब्यवसायीहरुबाट चलाइएको अभियान निक्कै उदाहरणीय भएको भन्दै देशका अन्य संघहरु अघि बढ्नुपर्ने सुझाव दिए । कोभिडबाट धरासायी भएको पर्यटन क्षेत्र उकास्न सरकारले पुर्नकर्जा १ वर्षको घोषणा भएपनि त्यो सान्दर्भिक नभएको दुखेसो गरे । कम्तिमा ५ वर्षको अवधि बढाउनुपर्ने उनले बताए । व्यवसायीहरुको पर्यटकप्रति गरिने व्यवहार, सत्कारका विषयमा समेत ध्यान दिनुपर्ने बताए ।

सरकारले आन्तरिक पर्यटनको बढाउन नीतिगत रुपमा नै अघि बढाउनुपर्ने सुझाव दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पोखरा पर्यटन विकासमा अन्य क्षेत्रलाई सिक्ने र सिकाउने रुपमा रहेको बताए । लुम्बिनी क्षेत्रलाई समेटेर अघि बढ्न सकेमात्र समग्र पर्यटन क्षेत्र पूरा हुने उनले बताए ।

नाटा लुम्बिनीका अध्यक्ष सागर अधिकारी, होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडल, भरतराज पराजुली, हरि शर्मा गैरे, बच्चुराम तिवारी, संघका महासचिव राजेन्द्र ढकालले पोखरा, बुटवल र चितवनलाई एउटा गोल्डेन त्रिकोणका रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *