ट्वान्टी-२० ग्लोवल क्वालिफायर: घरेलु मैदानमा चम्केको नेपालको ब्याटिङ ओमानमा के होला ? – Nepal Press

ट्वान्टी-२० ग्लोवल क्वालिफायर: घरेलु मैदानमा चम्केको नेपालको ब्याटिङ ओमानमा के होला ?

काठमाडौं । गएकाे बैशाख ११ गते त्रिवि  मैदानमा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेलेको ट्वान्टी-२० खेल धेरै अर्थमा सम्झनलायक छ । मलेसियासमेत सहभागी रहेको त्रिकोणात्मक अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपालले पहिला ब्याटिङ गर्दै २ सय ३८ रन बनाएको थियो ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालले यसअघि यति धेरै रन बनाउन सकेको थिएन । सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत त्रिवि मैदानमै भुटानविरुद्ध बनाएको २ सय ३६ रन नेपालको उच्च स्कोर थियो । यद्यपि, कमजोर प्रतिद्वन्द्वी भुटानलाई २३६ रन हान्नु ठूलो कुरा थिएन । तर, बलियो नेदरल्यान्ड्सविरुद्द खडा गरेकाे २३८ रनले नेपालको ब्याटिङ स्तरमा देखिएको सुधारलाई झल्काउँछ ।

नेपालले दिएको विशाल लक्ष्यसामू नेदरल्यान्ड्स निकै कमजोर देखियो । उसले ९६ रन मात्र जोड्दा सम्पूर्ण विकेट गुमायो र नेपाल एक सय ४२ रनले विजयी भयो । यो जित पनि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले हासिल गरेको सबैभन्दा फराकिलो अन्तरको जित हो ।

अझ उल्लेखनीय के छ भने त्यसअघिका लगातार दुई खेलमा पनि नेपालले पहिला ब्याटिङ गर्दै २ सयभन्दा बढी रनको लक्ष्य दिएको थियो । लिग चरणमा नेदरल्यान्ड्सविरुद्ध २ सय ६ र मलेसियाविरुद्ध २ सय १७ रन बनाउँदा नेपाली ब्याट्सम्यानले विष्फोटक शैली देखाएका थिए । ब्याटिङमा सँधै धरमर देखिने गरेको नेपाली टोलीको पछिल्लो प्रदर्शनले अपेक्षा बढाएको छ ।

सधैं नेपालको टाउको दुखाईको विषय बन्ने गरेको ओपनिङ ब्याटरको प्रदर्शन उक्त प्रतियोगितामा शानदार थियो । कुशल भुर्तेल र आसिफ शेखले थुप्रै व्यक्तिगत कीर्तिमान पनि बनाए । कुशलले आफ्नो डेब्यू देखि लगातार ३ अर्धसतक प्रहार गरेका थिए । यो जोडीले निर्माण गरेको आधारशीलामा टेक्दै दिपेन्द्र सिंह ऐरीले विष्फोटक प्रदर्शन गरेका थिए ।

उक्त प्रतियोगितापछि नेपाली टोली ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक उत्रँदै छ, यसै साता ओमानमा । ओमानमा चार देश सम्मिलित ट्वान्टी-२० श्रृंखलापछि नेपालले विश्वकपको विश्वस्तरीय छनोट खेल्ने छ । यसरी हेर्दा नेपालले ओमानमा कम्तिमा ८ वटा खेल खेल्ने छ । र, घरेलु मैदानमा नेपालले पछिल्लोपटक गरेको ब्याटिङ प्रदर्शन ओमानमा दोहोरिन्छ कि के हुन्छ, प्रतीक्षाको विषय बनेको छ ।

नेपाललाई यो प्रतियोगितामा पनि कुशल र आसिफको ओपनिङ जोडीबाट ठूलो आशा छ । उनीहरुले राम्रो सुरुआत दिन सकेको अवस्थामा मध्यक्रमबाट ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषावकर जस्ता अनुभबी ब्याट्सम्यानले इनिङ अघि बढाउन सक्छन् । साथै, नेपालसँग कुशल मल्ल र लोकश बम जस्ता विष्फोटक ब्याट्सम्यानहरु पनि छन्, जसले केही ओभरभित्रै खेलको दिशा बदल्ने क्षमता राख्छन् ।

‘सबै खेलाडीहरु युवा छन्, तर अहिले सबै तयार छन् । पहिला हामी छनोट हुँदाको अवस्थासँग तुलना गर्ने हो भने हामी यत्तिको तयार थिएनौं । त्यत्ति ‘पावर हिटर’ हरु पनि थिएनन् हाम्रो टिममा । तर अहिले अवस्था फेरिएको छ,’ नेपाली टोलीका अनुभवी सदस्य शरद भेषावकरले भनेका छन् ।

नेपालले यसअघि एकपटक मात्र ट्वान्टी-२० विश्वकप खेलेको छ । सन् २०१४ बंगलादेशमा आयोजित ट्विान्टी-२० विश्वकपमा नेपाललाई छनोट गराउन शरदको प्रदर्शन महत्वपूर्ण थियो । निर्णायक म्याचमा नेपाललाई एक सय ४४ रनको लक्ष्य पूरा गर्न पनि नेपाललाई हम्मेहम्मे परेको थियो ।

नेपालका लागि ओमानमा चार देश सम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखला गतिलो परीक्षा हुने छ, विश्वकप छनोटअघि । नेपाली टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायके उक्त शृंखलाबाट नेपालले आफु कहाँ छु भन्ने थाहा पाउन सजिलो हुने बताउँछन् । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोली यसअघि ओमानविरुद्ध ६४ र आयरल्यान्डविरुद्ध ५३ रनमै अलआउट भएको इतिहास छ । आयरल्यान्डलाई हालसम्म नेपालले हराउन सकेको छैन भने यूएईविरुद्ध ३ खेल खेलेकामा एकपटक मात्र विजयी भएको छ । ओमानलाई पनि हराउन सकेको छैन ।

‘वास्तवमा यो श्रृंखलाका खेलहरु निकै कठिन हुनेछन् । हामीले अन्तर्राष्ट्रिय क्रिकेट नखेलेको पनि लामो समय भइसकेको छ’, पुबुदु भन्छन् । नेपालले चार देश सम्मिलित श्रृंखलामा आयरल्यान्ड, यूएई र ओमानसँग प्रतिस्पर्धा गर्ने‍ छ । यी तीनवटै देश विश्वकप सहभागिताका बलिया दावेदार हुन् ।

नेपालले विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहमा फिलिपिन्स, क्यानडा र ओमानसँग खेल्ने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । अर्को समूहमा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् । प्रतियोगिताको फाइनल पुग्ने दुवै टोलीले सन् २०२२ को अन्त्यतिर अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकप खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *