जसपा विभाजनपछि लुम्बिनीमा सत्तारुढ दललाई सहज, राजीनामा दिएर बसेका मन्त्री अहिरले सम्हाले पद – Nepal Press

जसपा विभाजनपछि लुम्बिनीमा सत्तारुढ दललाई सहज, राजीनामा दिएर बसेका मन्त्री अहिरले सम्हाले पद

रुपन्देही । जसपा विभाजनले लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुलाई सहज बनाएको छ । प्रदेशमा जसपाका तीन सांसद छन् । पार्टीको प्रदेश कमिटीमा उपेन्द्र यादव पक्षको बहुमत रहे पनि संसदीय दलमा इस्तियाक राई समूहको बहुमत छ ।

प्रदेश कमिटीले अहिलेको गठबन्धनसँग सहकार्य गर्न सहज नबनाएको भन्दै राई समूह पहिलेदेखि नै असन्तुष्ट थियो । तर, आइतबार पार्टी नै विभाजन भएर नयाँ समूह बनेपछि राई समूहमा रहेका सांसदहरुलाई एमाले0माओवादीसँग सहकार्य गर्न सहज भएको छ ।

सोमबार नै प्रदेश सरकारबाट बाहिरिएको जसपा पुनः सरकारमा सहभागी भएको छ । संसदीय दलका नेता भण्डारीलाल अहिर लुम्बिनी प्रदेश सरकारको मन्त्रीको रुपमा कार्यभार सम्हालेका छन । उनले पार्टीका प्रदेश अध्यक्षसँग कुनै सल्लाह नै नगरी मन्त्रालय सम्हालेका कारण पनि उनी नयाँ समूहमा गएको प्रस्ट हुन्छ । पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुनेगरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका हुन् । स्रोतका अनुसार अशोक राईको निर्देशनमा अहिरले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

राई नेतृत्वको समूहमा बाँकेका मोहम्मद इस्तियाक राई महासचिव छन् । जसपाका तीनै सांसद बाँकेका हुन् । बाँके २ को १ बाट निर्वाचित भण्डारीलाल अहिर, बाँकेको २ को २ बाट निर्वाचित आदेशकुमार अग्रवाल र समानुपातिकमा बाँकेकै अम्बिका काफ्ले सांसद छन् ।

पार्टीका प्रदेश अध्यक्ष अशोक यादवको दबाबमा सहमति कार्यान्वयन नभएको भन्दै बैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । अशोक उपेन्द्र यादव निकट हुन् । अहिरको राजीनामा स्वीकृत भएको थिएन । केन्द्रीय राजनीतिमा सो पार्टीभित्र विभाजन देखिएपछि लुम्बिनी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको हो । राजीनामा दिएर सरकार बाहिर बसेका अहिर सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पदभार ग्रहण गर्दै जिम्मेवारी लिएका छन् ।

अहिरले राजनीतिक लाइन क्लियर गर्दै संस्थापन इतर समूहमा रहेको जनाउ दिएका छन् । उनले बहुमत जता हुन्छ, उतै आफू सहभागी हुने पनि बताए ।

‘कति दिन मन्त्रालयलाई बन्धक बनाएर राख्ने ? असन्तुष्टिहरु पनि विस्तारै मेटिँदै जान्छन्’, उनले भने, ‘हाम्रो पार्टीभित्र पनि समस्या देखिएको छ । कता जाने, के गर्ने भन्ने अझै निर्णय भइसकेको छैन । जता बहुमत हुन्छ, उतै जाने हो ।’

लुम्बिनी प्रदेशमा नयाँ समीकरणको आधारमा सरकार बनाउँदा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति थियो । तर, सो सहमति कार्यान्वयन नभएको भन्दै पार्टीको निर्देशनमा अहिरले बैशाख ८ गते राजीनामा गरेका थिए । तीन जना प्रदेश सांसद रहेको जसपाले २ वटा मन्त्रालयको दाबी गर्दै आएको थियो ।

तीनै सांसदलाई दुवै समूहबाट आफूतिर भएको दाबी

जसपाका दुवै समूहले तीनै सांसदलाई आफूतिर भएको दाबी गरेका छन् । यद्यपि यसबारे सांसदहरुले प्रस्ट केही कुरा बताएका छैनन् । तर, अहिलेसम्म राजीनामा दिएर बसेका संसदीय दलका नेताले आफ्नो मन्त्रालय संहालेपछि उनले नयाँ धार समातेको प्रस्ट हुन्छ ।

राई समूहका केन्द्रीय सदस्य मनिकर कार्कीले लुम्बिनी प्रदेशमा जसपा पार्टी बनेदेखि नै इस्तियाक राईको प्रभाव रहेको र अहिले नयाँ समूहको महासचिव नै बनेकाले सोही क्षेत्रका सांसदहरु अन्य समूहमा लाग्ने भन्ने कुरा नहुने बताए ।

‘औपचारिक रुपमा प्रदेशमा त हामी पुगेका छैनौं, केन्द्रमै छौं, तर लुम्बिनीका तीनै सांसद बाँकेको भएको र महासचिव पनि त्यहीको भएकाले बाहिर बस्ने भन्ने हुँदैन होला’, उनले भने ।

तर, जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले तीनै सांसद आफ्नो सम्पर्कमा रहेको दाबी गर्दै प्रदेशको बहुमत कमिटी कतै नजाने बताए । ‘प्रदेश कमिटीका १-२ जना जाने कुरा फरक भयो, अरु सबै एकै ठाउँमा छौं, सांसदहरु पनि कतै जाने कुरा हुँदैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर