कार्यकाल सकिन लाग्दा चुनाव जित्ने लोभमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि – Nepal Press

कार्यकाल सकिन लाग्दा चुनाव जित्ने लोभमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि

रुपन्देही । अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।
एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एस रोजेकी रोजेकी गौतम केही साताअघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरिन् ।

गएको निर्वाचनमा यस पालिका अध्यक्षसहित धेरै वडामा कांग्रेसले जित निकालेका कारण पुन: अध्यक्ष जित्ने लोभमा उनी त्यता लागेको स्थानीय नेताहरूको आँकलन छ ।

कार्यकाल सकिएर नयाँ निर्वाचन नजिकिँदै गर्दा पनि दल फेरेकाले यो आँकलन तथ्यपरक मान्न सकिन्छ । गौतमलाई कांग्रेसमा स्वागत गर्न महामन्त्री गगन थापा हेलिकप्टर लिएर आएका थिए ।

केही दिनअघि कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेस प्रवेश गरेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा फोरमबाट टिकट नपाएपछि स्वतन्त्र उठेर जित निकालेका उनी यो बीचमा जसपा, नेकपा तथा एमालेमा आफ्नो स्थान पक्का बनाउन धेरै प्रयास गरेका थिए ।

उनलाई राम्रैगरी जानेका स्थानीय नेताहरुको आग्रह तथा उनले स्थान खोजेका पार्टीमा उनको तह नमिलैकै कारण रोकिएको सामाजिक सञ्जालमा धेरै स्थानीयले प्रष्ट देखिने गरी लेखेका छन् ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, महामन्त्री सुरेन्द्रराज आचार्यलगायतका नेताहरू उनकै घरमा भव्य कार्यक्रम गरेर उनलाई पार्टीमा स्वागत गरेका थिए । यद्यपि यो विषय कांग्रेकै संस्थापन पक्षले तीब्र विरोध गरेको छ । सो क्षेत्रका पुराना नेता मंगलप्रसाद गुप्ता एमालेमा लागेपछि शाहले पनि छहारी बलियो बनाउन नयाँ पार्टी खोजेका हुन् ।

रजतप्रतापले आफ्नो आगामी निर्वाचनमा टिकट सुरक्षित गर्न यता लागेका स्थानीय दीपक शाह बताउँछन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष बनेका रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट राहुल एमालेतिर ढल्किएका छन् । नेकपापछि एमालेतिर ढल्किएका उनी माओवादीले कारबाही गरेर अध्यक्ष हटाउने संकेत पाएपछि माओवादीमै रहेको बताएर आफ्नो पद जोगाएका थिए । अहिले उनी एमालेतिर लागेको तर आधिकारिकरूपमा प्रवेश नगरेको एमाले नेताहरू बताउँछन् ।

‘अझै केही समय उहाँको कार्यकाल बाँकी छ, अहिले प्रचार गर्दा कारबाही डर छ, उहाँ हामीसँगै हुनुहुन्छ’, एमाले रुपन्देहीका एक पदाधिकारीले भने । गत निर्वाचनमा रुपन्देहीका १६ पालिकामा माओवादीबाट जित निकाल्ने उनीमात्रै थिए ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु (जितेन्द्रनाथ) शुक्ला माओवादीमा जाने अन्तिम तयारीमा छन् । गत निर्वाचनमा संघी समाजवादी फोरमबाट जितेका उनी अहिले यता आफ्नो टिकट सुरक्षित बनाउन आएका हुन् । निर्वाचनपछि एमालेमा प्रवेश गरेका उनी धेरै लामो समय टिक्न सकेनन् ।

यी प्रतिनिधि पात्र मात्र हुन् । जसरी पनि निर्वाचनमा जित निकाल्ने राजनीतिले पछि उसलाई अनुचित काम गरेर निर्वाचनको खर्च निकाल्न बाध्य बन्ने र राजनीति गलत बाटोमा लाग्ने राजनीतिशास्त्रका विद्यार्थी कृष्ण घिमिरे बताउँछन् ।

राजनीतिक विश्लेषक पदम कार्की केही दलका नेताहरु आफ्नो विचारलाई छोडेर पदको बार्गेनिङमा दल त्याग गर्न थालेको बताउँछन् ।

निर्वाचन नजिक आएपछि यस्ता अवसारवादीले बार्गेनिङ गरेर दल अदलबदल गरेर अगाडि बढ्छन्, उनीहरुले नै टिकट पाउँछन्, यसले राजनीतिलाई थप विकृत बनाउँछ, लामो समय पार्टीमा योगदान गरेकाहरू पछाडि पारिन्छन्, उनीहरूमा नैराश्यता आउँछ, अब सचेत नागरिकले यस्ता नेताहरुलाई पहिचान गर्न सक्नुपर्छ, कार्कीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर