कोरोनाले रोकेन फिल्म सुटिङ : दुई युनिट बनाएर ‘लाखे’ छायांकन धमाधम – Nepal Press

कोरोनाले रोकेन फिल्म सुटिङ : दुई युनिट बनाएर ‘लाखे’ छायांकन धमाधम

काठमाडौँ । कोरोनाभाइरस तीव्ररुपले बढेपछि अहिले फिल्म हलहरु बन्द छन् तर स्वास्थ्य सावधानी अपनाउँदै छायांकन गतिविधि भने जारी छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने र सार्वजनिक ठाउँमा हिँड्दा खोप अनिवार्य लगाउनुपर्ने नियम ल्याएको छ । यस्तोमा कतिपय फिल्मको छायांकन भने स्थगित भएको छ ।

अनमोल केसीको फिल्म ”एक्स-नाइन’ र ‘सत्यम’सहितका केही फिल्मले छायांकन रोकेका छन् । तर, फिल्म लाखेको छायांकन भने अहिले काठमाडौंको गौशाला क्षेत्रमा धमाधम भैरहेको छ ।

‘भब्य मुहूर्त गरेर फिल्मलाई फ्लोरमा लैजाने तयारी थियो । तर, कोरोनाको बढ्दो संक्रमणले गर्दा सरकारले २५ जनाबढी एकै स्थानमा सहभागी हुन रोक लगायो’ निर्देशक बस्नेतले भने ‘कोरोनाको कारण हामीले सीमित कलाकारको उपस्थितीमा मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरेका छौं ।’

फिल्म युनिट ठूलो भएकोले अहिले दुई युनिट बनाएर फिल्म छायांकन भैरहेको जानकारी निर्देशक बस्नेतले दिए । ‘एक निर्देशकले एकै समय दुई युनिटसँग काम गर्नु निकै कठिन रहेछ’ निर्देशक बस्नेतले अनुभव सुनाए ।

एउटा फिल्म छायांकनका लागि दुई युनिटले फरक-फरक काम गरेको नेपालको हकमा सम्भवत यो पहिलो हो । ‘फिल्म सुटिङका लागि दुई युनिट बनाउनु पर्दा आर्थिक भार बढ्नुको साथै झन्झट पनि रहेछ’ कार्यकारी निर्माता हरि मल्ल ठकुरीले भने ‘आर्थिक कुरो त दोस्रो हो । महत्वपुर्ण कुरो त कलाकार र युनिटको सुरक्षा हो ।’

‘हामीले ५ करोड माथि बजेटमा फिल्म निर्माण गर्न लागेका हौ । दुई युनिट गर्दा ५ को ठाउँमा ६ पुग्ला’ निर्माता हरिले थपे ‘यसले कलाकारको सुरक्षा पनि गर्छ नि ।’

‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्म हो । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बा, सुनिल थापालगायत कलाकारको अभिनय रहनेछ ।

निर्माण युनिटले फिल्म छायांकनका फोटो भने अहिले बाहिर ल्याएको छैन । फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बिर नल्याएको हो । फिल्मका लागि सबै कलाकारको लुक्समा निकै ध्यान दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर